
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल–लमही ४०० केभी विद्युत् प्रसारण लाइन आयोजना निर्माणका लागि वातावरणीय अध्ययन (प्रारम्भिक वातावरणीय परीक्षण– आइइ) प्रतिवेदन तयारीसम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ।
प्राधिकरणले वातावरण संरक्षण नियमावली, २०७७ को नियम ७ को उपनियम (२) अनुसार सूचना प्रकाशित गर्दै लुम्बिनी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लामा आयोजना कार्यान्वयनको प्रस्ताव रहेको जनाएको छ।
सूचनाअनुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिका–१३ क्षेत्रबाट सुरु हुने यो ४०० केभी प्रसारण लाइन रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची हुँदै दाङ जिल्लासम्म विस्तार गरिनेछ। आयोजनाअन्तर्गत करिब १६९ किलोमिटर लामो ४०० केभी प्रसारण लाइन निर्माण गरिनेछ, जसमा ४०५ वटा टावर रहनेछन्। प्रसारण लाइनको राइट अफ वे ४६ मिटर रहने उल्लेख गरिएको छ।
यसै आयोजनाअन्तर्गत दाङ जिल्लाको लमही नगरपालिका–१, रिहार क्षेत्रमा ४००/२२०/१३२/३३/११ केभी क्षमताको सबस्टेसन निर्माण गर्ने प्रस्ताव पनि रहेको छ।
सूचनामा प्रभावित हुन सक्ने स्थानीय तह र वडाहरूको विस्तृत विवरण उल्लेख गरिएको छ। सम्भावित वातावरणीय, सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रभावबारे सरोकारवालाको लिखित राय–सुझाव माग गरिएको छ। सम्बन्धित स्थानीय तह, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, संघसंस्था तथा सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र लिखित सुझाव दिन सक्ने प्राधिकरणले जनाएको छ।
राय–सुझाव नेपाल विद्युत् प्राधिकरण, दरबारमार्ग, काठमाडौंमा वा इ–मेल neamd@nea.org.np मार्फत पठाउन सकिने सूचनामा उल्लेख छ। आयोजना सम्बन्धी वातावरणीय अध्ययन परामर्शदाता रूपमा एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड, ललितपुर रहेको छ।
।रहेको छ।









