
काठमाडौं । तिहारको बिदामा पनि नेपाल विद्युत प्राधिकरण खुला हुने भएको छ ।
उद्योगीहरुको सहजताका लागि प्राधिकरणले काउन्टरहरु खुला राख्न लागेको हो । प्राधिकरणले उद्योगहरुमा बक्यौता असुलीका लागि लाइन काट्न थालेको छ । तिहारमा काउन्टर बन्द गर्दा उद्योगीहरु बक्यौता तिर्न आए समस्या हुने भन्दै सहजीकरण लागि खुला राखिएको हो ।
प्राधिकरणले मंगलबार बिहानै ६ वटा उद्योगमा लाइन काटेको हो ।
प्राधिकरणले सबैभन्दा धेरै बक्यौता रहेका ६ उद्योगको लाइन काटेको हो । जगदम्बा स्टिल, रिलायन्स स्पेनिङ मिल्स, शिवम सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाची सिमेन्ट र त्रिवेणी स्पेनिङ मिल्सको लाइन काटेको हो ।
लक्ष्मी पुजा सकिए लगत्तै प्राधिकरणले लाइन काटेको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले आफ्नो उदेश्य उद्योगमा लाइन काट्ने नभएपनि बक्यौता उठाउन बाध्य भएर काट्नु परेको बताउँछन् । ‘प्राधिकरण बिजुली बिक्री गर्छ । उद्योगीहरु ठूला ग्राहक हुन् । बक्यौता रकम असुल्नका लागि बाध्य भएर काटिएको हो,’ सिलवाले भने,’ प्राधिकरणको काउन्टर तिहारको बिदाका सबै दिन खुल्छ । पहिलो किस्ता तिर्न आउनु भयो भने तत्काल लाइन जोडिन्छ ।’
प्राधिकरणले सूचना निकालेर बक्यौता तिर्न कार्तिक २ गतेसम्मको समय दिएको थियो । जसमा १३ वटा उद्योगले लाइन काटिने भएपछि बक्यौता तिर्न थालेका छन् । अब २६ उद्योगले बक्यौता तिर्न बाँकी छ । बक्यौता तिर्दै जाने उद्योगमा क्रमश लाइन जोड्दै जाने तयारीमा प्राधिकरण छ ।