
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी छवि रिजालले ‘आवश्यक परेमा रबरको गोली हान्नु’ भन्दै सुरक्षाकर्मीलाई आदेश दिएका छन् ।
काठमाडौंमा हाल भइरहेको जेनजी पुस्ताको आन्दोलनमा सुरक्षाकर्मीलाई आदेश दिँदै उनले सार्वजनिक सम्पत्ति संरक्षणका लागि ‘आवश्यक परेमा रबरको गोली हान्नु’ भनेका हुन् ।
हाल काठमाडौं सहित देशैभरका विभिन्न ठाउँमा जेनजी पुस्ताले भ्रष्टाचार विरुद्धमा आन्दोलन गरिरहेका छन् । जनताले तिरेको करमा सरकारमा बसेकाहरूले मनपरि गरेकोलगायतका आरोपसहित जेनजी पुस्ताले आन्दोलन गरिरहेका हुन् ।
उक्त आन्दोलन चर्किँदै जाँदा बानेश्वरस्थित संसद भवन क्षेत्रमा अवस्था तनावग्रस्त बनेको थियो । प्रदर्शनकारीहरूले संसद भवनको पर्खाल भत्काउनेदेखि गेटमा आगजनी समेत गरेका थिए ।
हालसम्म उक्त प्रदर्शनमा कैयौं घाइते भएको र एक जनाको मृत्यु पनि भएको खबर आएको छ ।