Nepal Purbadhar

माटोमार्फत मानसिक स्वास्थ्य बुझाइरहेकी एलिस्टा


ममुन के.सी

काठमाडौं । पछिल्लो समय मानसिक स्वास्थ्य जल्दोबल्दो विषय बनेको छ । मानसिक स्वास्थ्यको विषयमा खुलेर कुरा गर्न अझै गाह्रो छ। धेरैले यसलाई कमजोरी ठान्छन्, कतिले बेवास्ता गर्छन्।

यही अवस्थालाई मध्यनजर गरेर एलिस्टा सुवेदीले सुरु गरेकी हुन् ह्याप्पी स्पेस, द पोट्री स्पेस र वि स्प्रेड स्माइल । मानसिक स्वास्थ्यलाई जीवनको प्राथमिकतामा राख्दै उनले यी ठाउँ सिर्जना गर्न थालेकी हुन् । यी तीनै प्रयास उनको जीवनका व्यक्तिगत अनुभवहरूबाट जन्मिएका हुन्।

एलिस्टा आफैंले मानसिक स्वास्थ्यको गहिरो अर्थ बुझेकी छन्। उनले क्लिनिकल साइकोलोजीमा मास्टर्स गरेकी छन्। यद्यपि यो यात्राको प्रेरणा किताबबाट होइन, जीवनको दुःखद् घटनाबाट आएको उनी सुनाउँछिन्। “मेरो समुदायमा आत्महत्या धेरै हुने गरेको थियो। मेरो आफ्नै दाजुले पनि आत्महत्या गर्नुभयो,” उनी सम्झिन्छिन्, “त्यो दिन बिहान सबैजना उहाँको पढाइ, सम्बन्ध र अन्य कुरालाई दोष दिँदै थिए। तर कसैले मानसिक स्वास्थ्यको कुरा गरेन।”

त्यसपछि उनले मनमनै निर्णय गरिन् – यस्तो पीडामा परेका मानिसहरूले आफ्ना कुरा खुला रूपमा भन्न सक्ने ठाउँ बनाउनेछु। त्यसपछि सुरु भयो वि स्प्रेड स्माइल सुरु भयो। कोभिडको समयमा उनले विभिन्न संस्थासँग मिलेर वेबिनार र कार्यशाला आयोजना गरिन्, जसले मानसिक स्वास्थ्यबारे जनचेतना बढायो।

त्यो बाटो हुँदै उनले ह्याप्पी स्पेस खोलिन्। “म सानैदेखि जिज्ञासु स्वाभावकी थिएँ। क्याफे बाहिर पनि नयाँ कुरा सिक्न, नयाँ मानिसहरूसँग भेट्न चाहन्थें। ह्याप्पी स्पेस मा मैले त्यही वातावरण बनाउन खोलें, जहाँ मानिसहरूले सिर्जनात्मक गतिविधिबाट तनाव घटाउन सकून्,” एलिस्टा भन्छिन्।

ह्याप्पी स्पेस: एउटा न्यानो कुना


ह्याप्पी स्पे कुनै औपचारिक क्लिनिक होइन। यहाँ मानिसहरू खेल्दै, सिर्जनात्मक हुँदै, गफिँदै भावनाहरू व्यक्त गर्छन्। एलिस्टाले भनिन्, “हामीले कार्यक्रमहरू यस्तो तरिकाले डिजाइन गर्छौं कि मानिसहरू आफूलाई जस्तो छ त्यस्तै रूपमा प्रस्तुत गर्न सकून्।”

अहिले ह्याप्पी स्पे ले प्रायः पोट्री को माध्यमबाट मानिसहरूलाई भावनात्मक थकानबाट मुक्त गर्न मद्दत गरिरहेको छ। पहिलेजस्तै इमोशनल गाइड, पियर सपोर्ट ग्रुपजस्ता गतिविधिहरू अहिले कम भइसके पनि ह्याप्पी स्पेस अझै पनि एउटा सुरक्षित स्थानका रूपमा जीवित छ।

द पोट्री स्टुडियो वसन्तपुरमा पहिलो पटक खुलेको यस्तो स्टुडियो हो, जसले पोटरीलाई सिर्जनात्मक गतिविधिसँगै मानसिक स्वास्थ्यको थेरापीको रूपमा जोड्छ। उनी भन्छिन्, “पोट्री एउटा पारम्परिक उपचार विधि हो। यहाँ आउने मानिसहरूले राम्रो बनाउनुपर्छ भन्ने होइन, राम्रो अनुभव लिनुपर्छ भन्ने हो। हामीले सत्रहरू सुरु गर्नुअघि उनीहरूको मनस्थिति बुझ्छौं र सत्र सकिँदा उनीहरू हलुका महसुस गर्छन्।”

पोट्री स्टुडियो वसन्तपुरमा खोल्नुको कारण संस्कृतिसँग जोडिएको उपचार विधिलाई शहरको केन्द्रसम्म ल्याउनु रहेको उनी बताउँछिन्। वसन्तपुरेको सांस्कृतिक माहोलले यसलाई अझ अर्थपूर्ण बनाउने उनको बुझाइ छ।

एलिस्टाले सिकाएको कुरा हो- मानिसहरू जतिसुकै व्यस्त भए पनि भित्र कतै पीडा, निराशा वा तनाव बोकेका हुन्छन्। द पोट्री स्टुडियो मा विद्यार्थीदेखि कर्मचारीसम्म, बच्चादेखि वृद्धसम्म आउने गर्छन्। उनीहरू यहाँ समय बिताएर फर्किँदा केही हल्का महसुस गर्छन्।

समाजमा अझै मानसिक स्वास्थ्यको विषयमा खुलेर कुरा गर्न गाह्रो छ। “अहिले पनि मानिसहरू आफ्नो भावना स्वीकार गर्न डराउँछन्। स्टिग्मा अझै छ, त्यो नै सबैभन्दा ठूलो चुनौती हो। हरेक पटक कसैले मेरो जीवनमा यसले केही परिवर्तन ल्यायो भनेर धन्यवाद दिन्छन्। यो नै मेरो सबैभन्दा ठूलो सन्तोष हो,’ उनी भन्छिन्।

एलिस्टाको सपना अझै पूरा भएको छैन। उनी अझै धेरै मानिसहरूसम्म ह्याप्पी स्पेस र द पोट्री स्टुडियो का माध्यमबाट पुग्न चाहन्छिन्। उनी चाहन्छिन् मानिसहरू जटिल समस्यामा परेपछि मात्रै होइन, पहिले नै मानसिक स्वास्थ्यबारे सोचुन्। “उपचार गर्नुभन्दा सावधानी अपनाउनु राम्रो भन्ने भनाइलाई मानसिक स्वास्थ्यमा पनि लागू गर्नुपर्छ,” उनी भन्छिन्।

एलिस्टा बुझाउन खोज्दैछिन् कि दैनिक जीवनको भीडभाडमा हामीले कहिलेकाहीँ आफूलाई नै बिर्सन्छौं। यो ठाउँमा मानिसहरूले फेरि आफूलाई सम्झिन्छन्। यहाँ उपचार हाँसोमा छ, खेलमा छ, माटोमा छ। द पोट्री स्टुडियो कुनै उपचार केन्द्र मात्र होइन, जीवनलाई महसुस गर्ने ठाउँ हो। यहाँ आउन तपाईंलाई बलियो बन्नुपर्ने छैन, केवल इमान्दार हुनु पर्याप्त छ।


Read Previous

सूर्य नेपालले एक वर्षमा कमायो २८ अर्ब ८१ करोड

Read Next

अनेरास्ववियू (क्रान्तिकारी)को शैक्षिक हड्ताल: कतै बन्द कतै खुला

Nepal Purbadhar