
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थल परिसरमा हवाइ इन्धन डिपो निर्माण सम्पन्न गरेको छ ।
निगमले इतिहासमै पहिलो पटक सतप्रतिशत स्वदेशी सीप र पूँजीमा हवाइ इन्धन डिपो निर्माण सम्पन्न गरेको हो । विमानस्थल परिसरमा निगमनले लिजमा लिएको ढ हजार २१५ वर्गमिटर क्षेत्रफलको जग्गामा अत्याधुनिक प्रविधि जडित हवाइ इन्धन डिपो निर्माण सम्पन्न भएको निगमनले जनाएको छ । संशोधित लागत अनुमान ७५ करोड (भ्याट बाहेक)मा यो आयोजना निर्माण सम्पन्न भएको हो ।
निगमकाअनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको चापलाई मध्यनजर गर्दै यहाँ १२ सय किलोलिटर क्षमताको ३ वटा ठूला भण्डारण गृह निर्माण गरिउको छ । यी भण्डारण गृहमा कूल तीन हजार ६ सय किलोलिटर हवाई इन्धन भण्डारण गर्न मिल्ने स्टोरेज ट्यांक रहेको छ । निगमकाअनुसार भर्टिकल स्टोरेज ट्यांकको उचाई १२ मिटर र ब्यास पनि १२ मिटर रहेको छ ।
त्यस्तै, डिपो सुरक्षामा उच्च सतर्कता अपनाउनका लागि १२ सय किलोलिटर क्षमताको अलग्गै पानी ट्यांकी निर्माण सम्पन्न भएको छ । उक्त पानी ट्यांकीसँग डिपोको वरीपरी जडान गरिएको फायर फाइटिङ संरचनलाई आवद्ध गरिएको छ ।
निगमकाअनुसार विमानस्थलभित्र नै हवाइ इन्धन जस्तो प्रज्वलनशील पदार्थको नियमित रुपमा कारोबार हुँदा आगलागीको जोखिम हुन सक्ने कुरालाई मध्यनजर गर्दै ४ हजार लिटर क्षमताको ‘फोम स्टोरेज’ ट्यांकसमेत निर्माण गरिएको छ । यसलाई फायर फाइटिङको संरचनासँग आवद्ध गरिएकाले पानीको फोहोरासँगै फोम पनि मिसिएर प्रवाह हुने र तत्कालै आगलागीजन्य घटनालाई निस्तेज पार्न सहयोग मिल्ने गरेको विश्वव्यापी अभ्यास रहेको निगमनले जनाएको छ ।
यस डिपोमा फायर फाइटिङ प्रयोजनका लागि २३० हर्सपावर क्षमताको दुई वटा फायर फाइटिङ डिजल पम्प, १५ हर्स पावर क्षमताको एउटा जक्की पम्प, ८ इन्चको पाइप जडान गरिएको निगमले जनाएको छ ।
भण्डारण गृहमा रहेको हवाइ इन्धन पाइपका सहायताले रिफ्युलमा भर्न तथा ट्यांकरबाट ल्याइएको हवाइ इन्धन भण्डारण गृहमा राख्नका लागि आवश्यक मात्रामा प्रोडक्ट पम्पहरु तथा लोडिंग/अनलोडिंगमा क्रमशः १ माइक्रोन र ५ माइक्रोनका फिल्टर जडान गरिएको छ भने यहाँ जडान गरिएको स्टोरेज ट्यांक तथा फलामको पाइपहरु अमेरिकिन पेट्रोलियम इन्स्टिच्यूड (एपिआई) मापदण्डमा आधारित रहेको निगमले जनाएको छ ।
२०७७ चैतमा नै उक्त स्थानमा हवाइ इन्धन डिपो निर्माणका लागि सार्वजनिक खरिद ऐनअनुसार बोलपत्र आह्वान भएतापनि विभिन्न कारणले डेढ बर्षपछि २०७९ साल कात्तिक २९ गते निर्माण कार्य अघि बढाउन सम्झौता भएको थियो । २०८० साउन १ मा शिलान्यास भएको डिपो हाल निर्माण सम्पन्न भएको हो ।