
काठमाडौँ । सहरबासीलाई पिउने पानीको आवश्यकता पूरा गराउन प्रशोधित पानीको सेवा दिने व्यवसायीका २८ वटा सवारी साधनको अनुगमन गर्दा ४४ वटा जार मापदण्ड विपरीत भेटिएका छन् ।

काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले आज गोङ्गबु बसपार्क क्षेत्रमा गरेको अनुगमनका क्रममा कुच्चिएका, फुटेका र अपारदर्शी जार भेट्टाइएको हो । यी जारहरु जफत गरिएको छ । जफत जारहरु नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा लगाइएको छ ।
पानी बोक्ने सवारी साधनको अनुगमनका विभिन्न कम्पनीका जार भेटिएको थियो ।

अनुगमनका क्रममा त्रुटि पाइएका पानी उत्पादक कम्पनीहरुलाई मापदण्ड विपरीत प्रशोधित पिउने पानीको जार बिक्री वितरण नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, कम्पनीले जारी गरेको बिल बिजक गाडीमै लिएर हिँड्न निर्देशन दिइएको छ ।
यो निर्देशनसँगै पानीजन्य संक्रमणबाट जनस्वास्थ्यमा आउन सक्ने खराव अवस्था हुन नदिन संवेदशील रहन आग्रह समेत गरिएको छ ।