
default
काठमाडौं । आज असार १५ गते २२ औं राष्ट्रिय धान दिवस ‘धान बालीमा खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ मनाइँदै छ।
किसानहरूका लागि असार १५ वर्षभरिकै मुख्य दिन हो । हालसम्म १५.६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार यो तथ्यांक असार १३ गते शुक्रबारसम्मको हो ।
धान नेपालको मुख्य खाद्यबाली हो । नेपालमा उपभोग हुने कुल खाद्य कृषि बालीमध्ये धानले करिब ८० प्रतिशत हिस्सा ओगटेको छ ।

सरकारले धानको उत्पादन र उत्पादकत्व बढाउन विभिन्न पहल गर्दै आएको छ । यसका बाबजुद धानचामल आयातको तथ्यांक पनि डरलाग्दो छ । चालु आर्थिक वर्षकको ११ महिनामा झन्डै ३९ अर्ब रुपैयाँको धानचामल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। यो अवधिमा २६ करोड १९ लाख १९ हजार किलो धान आयात भएको हो ।
नेपालमा वार्षिक करिब ७० लाख मेट्रिक टन धानको माग छ । यसमध्ये १० लाख मेट्रिक टन धान अपुग हुने गरेको छ । वार्षिक १२ देखि १५ लाख मेट्रिक टन बराबरको धानचामल नेपालमा आयात हुने गरेको तथ्यांक छ ।

चालु आर्थिक वर्ष २०८१-८२ देशभर १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद्बाट धानबालीका विभिन्न १४० भन्दा बढी जातहरू दर्ता भएका छन् ।
काठमाडौँ उपत्यकाको माटो खेतीका लागि निकै उर्भर भएतापनि अव्यवस्थित सहरीकरण, जमिनको खण्डीकरणले गर्दा यहाँको कृषि जमिनमा अहिले घर तथा आवासीय क्षेत्र निर्माण हुँदै गएका छन् ।

उपत्यका केही पुरानो बस्ती तथा गाउँहरूमा खेती गरिने भए पनि अन्य क्षेत्रमा भने खेती गर्न जमिनको अभाव देखिएको छ ।
खेतीयोग्य जमिनमा घर बनाउँदा धान चामलको आयात झनै बढेको देखिन्छ ।
काठमाडौँ उपत्यकामा मात्र नभएर गाउँघरमा बसाइसराईको प्रभावले खेती योग्य जमिन बाजो भएका छन् ।

तस्बिरमा काठमाडौं उपत्यकासंगै खेतीयोग्य जमिनमा निर्माण भएका आवास ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी