
काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि सातै प्रदेशले आइतबार बजेट सार्वजनिक गरेका छन् ।
अन्य प्रदेशले सामान्य रुपमा बजेट ल्याएका थिए भने कर्णाली प्रदेशले आइतबार मध्यरातमा बजेट सार्वजनिक गरेको थियो ।
मध्य रातमा बजेट प्रस्तुत गरेको कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट सावर्जनिक गरेको छ । चालु आर्थिक वर्षकोभन्दा पाँच प्रतिशत धेरै बजेट सार्वजनिक गरेको कर्णाली प्रदेशले चालु खर्चतर्फ सात अर्ब ७९ करोड ९१ लाख एक हजार अर्थात २३.६४ प्रतिशत बिनियोजन गरेको छ । त्यस्तै, पुँजीगत खर्थतर्फ कर्णाली प्रदेशले १९ अर्ब ९८ करोड २७ लाख १३ हजार रुपैयाँ बिनियोजन गरेको छ, जुन कुल बजेटको ६०.५५ प्रतिशत हो ।
वित्तिय व्यवस्थापनका लागि कर्णाली प्रदेशले ६१ करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको छ भने स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि चार अर्ब ५९ करोड ९८ लाख ४१ हजार बिनियोजन गरेको छ ।
त्यस्तै, कोशी प्रदेश आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको तुलनामा कोशी प्रदेशको बजेट १.७ प्रतिशतले धेरै हो । यसमध्ये चालु खर्चका लागि १८ अर्ब ६७ करोड ३३ लाख (५२%), पुँजीगत खर्च तर्फ: १७ अर्ब १० करोड ६५ लाख (४७.७%), वित्तीय व्यवस्थाका लागि १० करोड (०.३%) र स्थानीय तह वित्तिय हस्तान्तरणका लागि ४ अर्ब ७० करोड ७२ लाख बिनियोजन गरेको छ ।
मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अघिल्लो वर्षको तुलनामा बजेट ६.१३% ले बढेको छ। सार्वजनिक भएको बजेटमध्ये चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार (३५.८९%) र पुँजीगततर्फ: ३० अर्ब २६ करोड २८ लाख ३४ हजार (६४.११%) बिनियोजन भएको छ ।
बागमती प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। यसमध्ये चालु खर्चका लागि २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार (३८.६०%) र पुँजीगत खर्चका लागि ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार (६१.४०%) बिनियोजन भएको छ ।
त्यस्तै, गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट घोषणा गरेको छ। यसमध्ये चालु खर्चतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार (३९.५%), पुँजीगत खर्चतर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार (५९.७%), वित्तीय व्यवस्थाका लागि २५ करोड (०.८%) बिनियोजन भएको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । यसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार (३०.८८%) बिनियोजन भएको छ । त्यस्तै, २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार (६०.३२%) पुँजीगत खर्चका लागि छुट्याएको छ भने वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार (८.८०%) बिनियोजन भएको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। कुल बजेटमध्ये चालु खर्चमा १० अर्ब २० करोड ८१ लाख ४२ हजार (३०.४९%), पुँजीगत खर्चमा १९ अर्ब ८३ करोड २ लाख ६ हजार (५९.२५%), अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत ३ अर्ब ४२ करोड ७७ लाख (१०.२४%), वित्तीय व्यवस्थापनतर्फ १ करोड छुट्याइएको छ।