
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो १० महिना (साउनदेखि वैशाखसम्म)मा ९ हजार ८ सय ५९ वटा विद्युतीय सवारी साधनको आयात भएको छ ।
सरकारले ९ हजार ८ सय ५९ वटा सवारी साधन आयात गर्दा त्यसको आयात मूल्य २३ अर्ब १० करोड ५७ लाख रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ । भन्सार विभागकाअनुसार यसबाट सरकारले १४ अर्ब २५ करोड ११ लाख ९६ हजार रुपैयाँको राजस्व आम्दानी गरेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार यो अवधीमा ५० किलोवाटसम्मका एसेम्बल नगरिएका ९ वटा सवारी साधन भित्रिएका छन् । यी सवारी साधनको आयात मूल्य ६४ लाख रहेको छ भने सरकारले यसबाट ३२ लाख १७ हजार रुपैयाँको राजस्व सरकारले उठाएको छ ।
त्यस्तै, ५० किलोवाट समूहसम्मका विद्युती सवारी साधन ३ हजार ३ सय ६९ वटा आयात भएका छन् । यी सवारी साधनको आयात मूल्य ५ अर्ब ९८ करोड ३ लाख २६ हजार रुपैयाँ रहेको छ । यसबाट सरकारले २ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ २३ हजार रुपैयाँको राजस्व आम्दानी गरेको छ ।
त्यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ५ हजार ५३४ वटा विद्युतीय सवारी साधन आयात भएका छन् । यी सवारी साधनको आयात मूल्य १३ अर्ब ८७ करोड १४ लाख ३ हजार रुपैयाँ रहेको छ भने सरकारले यसबाट ८ अर्ब ८० करोड ३१ लाख ८१ हजारको राजस्व आम्दानी गरेको छ ।
१०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ९२७ वटा विद्युतीय सवारी साधन आयात भएका छन्, जसको आयात मूल्य ३ अर्ब १० करोड ५३ लाख ३९ हजार रहेको छ । सरकारले सबाट २ अर्ब ६४ करोड १ लाख ३५ हजार रुपैयाँको राजस्व उठाएको छ ।
त्यस्तै, २०१ किलोवाट देखि ३०० किलोवाटसम्मको १८ वटा विद्युतीइ सवारी साधन आयात भएका छन् । यसको आयात मूल्य १३ करोड ३९ लाख ३१ हजार रुपैयाँ रहेको छ, जसबाट सरकारले २० करोड ९३ लाख १४ हजार रुपैयाँ सरकारले राजस्व उठाएको छ ।
त्यस्तै, ३ सय किलोवाटभन्दा माथिका २ वटा विद्युतीय सवारी साधन आयात भएका छन् । यसको आयात मूल्य ८३ लाख २३ हजार रुपैयाँ रहेको छ भने यसबाट सरकारले ८८ लाख २६ हजार राजस्व उठाएको छ ।
चैत्रको तुलनामा २३ प्रतिशत बढि आयात
वैशाख महिनामा चैत्रमहिनासम्म आयात भएका सवारी साधनको तुलनामा २३.७४ प्रतिशतले बढि विद्युतीय सवारी साधन आयात भएका छन् । चैत्र महिनासम्म ७ हजार ९ सय ६७ वटा विद्युतीय सवारी साधन आयात भएको थियो ।
चैत्रसम्म आयात भएका सवारी साधनको आयात मूल्य १८ अर्ब ६२ करोड २२ लाख ३९ हजार रहेकोका त्यसबाट सरकारले ११ अर्ब ४७ करोड ७१ लाख ३१ हजार रुपैयाँ राजस्व आम्दानी गरेको थियो ।
विद्युतीय सवारीसाधनमा कर बढ्ने हल्लाले धेरै सवारीसाधन भित्रिएका हुन् ।