Nepal Purbadhar

चालु आवको १० महिना: १४ खर्ब ७४ अर्बको आयात, निर्यातमा उल्लेखनीय वृद्धि


काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा (श्रावणदेखि बैशाखसम्म) नेपालको वैदेशिक व्यापारमा केही सकारात्मक सुधारका संकेतहरू देखिएको छ। विशेषगरी निर्याततर्फ उल्लेखनीय वृद्धि भएको देखिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले कुल १४ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको सामान आयात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.११% ले वृद्धि हो। अघिल्लो आवमा सोही अवधिमा नेपालमा १३ खर्ब ३ अर्ब रुपैयाँको सामान आयात भएको थियो । 

त्यस्तै, निर्याततर्फ पनि केही प्रगति देखिएको छ। अघिल्लो वर्षको पहिलो १० महिनामा मात्र १ खर्ब २६ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा यस वर्ष सोही अवधिमा निर्यात २ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ, जुन ७२.७१% ले वृद्धि भएको हो।

निर्यातमा केही प्रगति भईरहँदा चालु आवको १० महिनामा १२ खर्ब ५६ अर्ब रुपैयाँको व्यापार घाटा देखिएको छ । अघिल्लो वर्षको तुलनामा घाटा वृद्धि दर ६.७२% मा सीमित भएको छ । 

कुल वैदेशिक व्यापार (आयात र निर्यातको जम्मा) पनि १८.३७% ले वृद्धि भई १६ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ।

यो अवधिमा आयात र निर्यातको अनुपात पनि अघिल्लो वर्षको १०.३३ बाट घटेर ६.७७ मा झरेको छ । 

त्यस्तै, कुल व्यापारमा निर्यातको हिस्सा ८.८३% बाट बढेर १२.८८% पुगेको छ भने आयातको हिस्सा ९१.१७% बाट घटेर ८७.१२% मा झरेको छ।


Read Previous

रौतह कन्स्ट्रक्सन प्रालिको व्यापार ५३ प्रतिशतको गिरावट, ४६ करोडको कारोबार

Read Next

निजी जलविद्युत आयोजनामा बाढीको पूर्वसूचना प्रणाली विकासका लागि मौसम विज्ञान विभाग र इप्पानले गरे समझदारीपत्रमा हस्ताक्षर