Nepal Purbadhar

नेटा अटो संकटमा: गाडी नपाएको र घाटा बेहोर्नु परेको भन्दै डिलरहरू कारखानाको गेटमै प्रदर्शनमा


एजेन्सी । चिनियाँ इलेक्ट्रिक सवारी निर्माता नेटा अटो (होजोन न्यू इनर्जी अटोमोबाइल) गहिरो संकटमा परेको छ ।  देशभरका आधिकारिक डिलरहरूको प्रतिनिधिमण्डलले कम्पनीको टोंग्स्याङ कारखानामा भेला भएर आफूहरूले अग्रिम भुक्तानी गरिसकेका तर नपाएका गाडीहरूको मूल्य फिर्ता गर्न र घाटाको क्षतिपूर्ति दिन माग गरेका छन् ।

डिलरहरूको आक्रोश

सोशल मिडियामा भाइरल भएका भिडियोमा देखिए अनुसार ३०० भन्दा बढी डिलर भएको नेटा नेटवर्कबाट करिब २० प्रतिनिधिहरू टोंग्स्याङस्थित कारखानाको गेट अगाडि जम्मा भई आफ्नो अधिकारका लागि आवाज उठाएका छन् । यो प्रदर्शन कम्पनीको आर्थिक अवस्थाको निराशाजनक अवस्थामा पुगेको संकेत मानिएको छ ।

सेवा अवरुद्ध

डिलरहरूले भिडियोमा भने अनुसार कम्पनीले गाडी डेलिभरी नगरेको, कर्मचारी कटौती गरेको, व्यापारिक गतिविधि स्थगित गरेको र आपूर्तिकर्तासँगको ऋणसम्बन्धी दावीको समाधान नगरेको अवस्था करिब ६ महिनादेखि चलिरहेको छ । यसबीचमा डिलरहरूले आफ्ना कर्मचारीहरूको तलब, कर भुक्तानी र सेवा निरन्तरता जोगाएर कारोबार चलाइरहेका थिए ।

“हामीले कम्पनीले वाचा पुरा गर्छ भन्ने विश्वास राख्यौं, तर गत सेप्टेम्बरदेखि अहिलेसम्म कम्पनीले एकपटक पनि हाम्रो समस्या प्रत्यक्षरूपमा सम्बोधन गरेको छैन,” एक डिलर प्रतिनिधिले भिडियोमा भने “हामीले लगानी गरिरह्यौं, आशा गरिरह्यौं, तर ऋणमा अझ गहिरिँदै गयौं।”

अग्रिम भुक्तानी, कानुनी कारवाही

केही डिलरहरूले सयौं मिलियन युआन अग्रिममा तिरेको गाडी अहिलेसम्म नपाएको गुनासो गरेका छन् । कसैले त स्टक खरिदका लागि ऋण लिएका कारण बैंक र ग्राहकबाट कानुनी कारवाहीको सामना गरिरहेका छन् ।

डिलरहरूको तीन माग

डिलरहरूले कम्पनीसँग तीन प्रमुख माग अघि सारेका छन्:

१.सेप्टेम्बर २०२४ देखि हालसम्मको व्यापार घाटाको क्षतिपूर्ति र मे देखि जुलाई २०२५ सम्मको सञ्चालन खर्चको अग्रिम भुक्तानी

२. मे ११ भित्र सबै डेलिभरी नभएका तर अग्रिम तिरेका गाडीहरूका सब्सिडी र रिबेट फिर्ता;

३.कम्पनीको करिब ४ लाख ग्राहकलाई सेवा दिन एप्टर सेल्स प्रणाली तुरुन्त पुनर्स्थापना।

“हामी नेटा अटो ढाल्न चाहन्नौं, हामी जवाफदेहिता चाहन्छौं,” डिलर प्रतिनिधिहरूले , अध्यक्ष फाङ युनझोउबाट प्रत्यक्ष जवाफको माग गर्दै भनेका छन् ।

कम्पनीको अवस्था र रणनीति

नेटा अटो २०२४ को अन्त्यदेखि नै गम्भीर आर्थिक समस्यामा परेको छ। व्यापक घटाउने  र तलब कटौतीका रिपोर्टहरू सार्वजनिक भइसकेका छन् । पूर्व सीईओ झाङ योङलाई सल्लाहकार भूमिकामा सारिएपछि संस्थापक फाङ युनझोउले सीईओको भूमिका पनि सम्हालेका छन् ।

२०२५ को जनवरी र फेब्रुअरीमा कम्पनीले जम्मा ४८७ गाडी मात्र बेचेको छ। मार्चको बिक्री तथ्यांक नै सार्वजनिक गरिएको छैन । यो बिक्री दर केही पहिले नै धराशायी भएका कम्पनीहरूभन्दा पनि कमजोर छ । हाल नेटा एक्स मोडेलको मात्र २७२ र नेटा एल को १४९ युनिट मात्र बिक्री भएका छन्।

अन्तर्राष्ट्रिय बजारमा आशा

घरेलु बजारमा संकट गहिरिएपछि कम्पनीले थाइल्यान्डजस्ता अन्तर्राष्ट्रिय बजारमा ध्यान केन्द्रित गरिरहेको छ । थाइल्यान्ड मोटर शोमा नेटाले १,२१९ अर्डर प्राप्त गरेको बताइएको छ र २०२५ मा १०,००० युनिट गाडी बेच्ने लक्ष्य राखिएको छ ।

थाइल्यान्डमा नेटा एवाईए (प्रवेशस्तरीय एसयूभी), नेटा एक्स (पारिवारिक मोडल), र नेटा एस (व्यान शैली) प्रदर्शित गरिएको थियो। कम्पनी सन् २०२२ मै थाइल्यान्डमा प्रवेश गर्ने पहिलो चिनियाँ स्टार्टअप हो र त्यहाँ उत्पादन सुविधा स्थापना गरिसकेको छ ।

वित्तीय राहत र भविष्यको योजना

नेटाले हालै थाइल्यान्डमा १० अर्ब थाई बाथ (२१५ मिलियन अमेरिकी डलर) को ऋण सुविधा सुरक्षित गरेको छ र जुलाई २०२५ देखि त्यहाँ नेटा एक्स मोडलको स्थानीय उत्पादन सुरु गर्ने योजना बनाएको छ।

अध्यक्ष फाङले कम्पनीले सन् २०२५ मा सकारात्मक ग्रस मर्जिन र २०२६ मा नाफा कमाउने लक्ष्य राखेको बताएका छन्, जहाँ आईपीओ मुख्य उद्देश्य हो। सह-अध्यक्ष झाङ सियाओदोङका अनुसार आपूर्तिकर्ताको ऋणलाई इक्विटीमा रूपान्तरणजस्ता उपायले कम्पनीलाई सञ्चालन सुधार्न र लगानीकर्तालाई आकर्षित गर्न सहयोग पुर्‍याइरहेको छ।

नेपालमा चौधरी ग्रपले नेटाका कारहरु बिक्री गरिरहेको छ ।


Read Previous

जलविद्युतको बीमालाई डिट्यारिफ गर्ने सहमति कार्यान्वयन गर्न बीमा प्राधिकरणसँग इप्पानको माग

Read Next

द फोरम अफ ग्लोवल योङ् लिडर्स- उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन