Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

यो वर्ष पनि नबन्ने भयो कमला नदीमा पुल   


धनुषा । धनुषा र सिरहा जिल्ला जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल ३ वर्ष बितिसक्दा पनि निर्माण हुन नसकेको हाे ।

गत चैत १८ गते पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ठेकेदारलाई असार १५ गतेसम्म पुल निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए । उपप्रधानमन्त्रीसमेत रहनुभएका महासेठले दिनुभएको म्याद सकिन एक हप्ता बाँकी रहँदासम्म पुल निर्माणको प्रगति भने शून्य छ ।

“करिब १३ वर्षदेखि निर्माणाधीन यो पुलको पुनःनिर्माण समयमै हुनुपर्यो । नभए निर्माण कम्पनीलाई कारबाही गरी नयाँ प्रक्रिया अगाडि बढाउनुस्”, पुलको निरीक्षण गर्दै उपप्रधानमन्त्री महासेठले भनेका थिए ।

वर्षा सुरु भएसँगै बाढीको जोखिम बढेकाले पुल निर्माण यस वर्ष सम्पन्न हुन नसक्ने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका निर्देशक कृष्णकुमार महतोले बताए ।

मधेस प्रदेशको ‘लाइफ लाइन’ मानिने कमला पुल चार सय ७० मिटर लामो छ । २०६८ जेठ ३१ मा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी पप्पु–लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौता भएको सात वर्षसम्म पनि पुल निर्माण नभएपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले उक्त निर्माण कम्पनीसँग ठेक्का तोडेर निर्माणको जिम्मा लुम्बिनी बिल्डर्सलाई दिएको थियो ।

बिल्डर्सको कमाण्डमा निर्माण अन्तिम चरणमा पुगिसकेकाले २०७८ साउनमा उद्घाटनको तयारी गरिसकेको अवस्थामा पुल भासिएको निर्देशक महतोले बताए । उनका अनुसार १३ पाया (पिलर) र १२ स्पान (स्ल्याब) रहेको पुलको सिरहातर्फको दोस्रो र धनुषातर्फको चौथो पाया भासिएको थियो ।

पुल भासिएपछि निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवादले हालसम्म काम रोकिएको निर्देशक महतोको भनाइ छ । “सरकारी निकायको कुनै पनि ठेक्का गर्दा रु १० लाखभन्दा बढीको आयोजनामा बीमा गराउनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार पुल निर्माण कम्पनीले बीमा गराएको थियो । पुल भासिएपछि बीमा कम्पनीले क्षतिपूर्ति नदिएपछि सोही विवादका कारण काम रोकिएको छ”, उनले भने ।

निर्माण कम्पनीका प्रबन्ध निर्देशक विष्णु शर्माले यो वर्ष पुल निर्माण सम्पन्न गर्न सम्भव नरहेको बताए । पुल पुनःनिर्माण गर्न हालसम्म डिजाइन पास नभएकाले निर्माण सम्भव नरहेको उल्लेख गरे ।

“पेस गरिएको डिजाइनमध्ये एउटा धनुषातर्फको पास भएको छ । केही दिनअघि मात्रै कम्पनीका तर्फबाट तयार गरिएको डिजाइन मन्त्रालयमा बुझाएका छौँ । सिरहातर्फको डिजाइन पास भएको छैन । अनि कसरी यो वर्ष काम हुन्छ ?”, प्रबन्ध निर्देशक शर्माले भने। वर्षामा नदीमा बाढी आउन सक्ने भएकाले आगामी असोज/कात्तिकबाट निर्माण अगाडि बढाइने उनकाे भनाइ छ ।

यही असार मसान्तसम्म निर्माणको म्याद रहेको भन्दै प्रबन्ध निर्देशक शर्माले म्याद थप गरी सहजीकरण गर्नुपर्नेमा जोड दिए । उनले बीमा कम्पनीसँग उच्च अदालत काठमाडौँमा मुद्दा चलिरहेकाले निर्माणमा ढिलाइ भएको तर्क गरे ।

प्रबन्ध निर्देशक शर्माका अनुसार पुल भासिएपछि बीमा कम्पनीसँग १२ करोड रुपैयाँ क्षतिपूर्तिको माग गरिएको थियो । बीमा कम्पनीले रु दुई करोडमात्रै दिने भनेपछि, कम्पनीविरुद्ध उजुरी दिएका छौँ”, उनले भने, “उजुरीका आधारमा समस्या समाधान नभएपछि उच्च अदालत गएका हौँ । उच्च अदालतमा गत जेठ तेस्रो साता मुद्दा दर्ता गराएका छौँ ।” अहिले पुलमा सामान्य निर्माण भने भइरहेको उनले बताए ।

कमला नदीमा पुल नबन्दा धनुषा र सिरहाका नागरिकको जनजीवन प्रभावित हुँदै आएको सिरहा नगरपालिका–१७ का प्रविन यादवले बताए । “पुलका कारण बर्खाको समयमा आफ्नै खेतबारीमा पुग्न पनि गाह्रो हुन्छ । आवागमनमा सास्ती हुनुका साथै यस क्षेत्रको आर्थिकस्तर, व्यापार–व्यावसायमा कमी हुँदै आएको छ”, उनले भने ।

यहाँका सर्वसाधारणलाई प्रदेशको राजधानी जनकपुरधाम आवतजावत गर्न निकै सास्ती भोग्नु परिरहेको छ । बाढीले आवतजावत प्रभावित भएपछि सिरहाका नागरिक गम्भीर प्रकृतिको उपचार गराउन जनकपुरधाम वा कोशी प्रदेशको राजधानी विराटनगर पुग्न समस्या हुने गरेको यादवको भनाइ छ ।    सिरहाबाट जनकपुरधाम पुग्न हुलाकी राजमार्गबाट ३० किलोमिटर पर्दछ भने महेन्द्र राजमार्ग भएर जाँदा ९० किलोमिटर पर्दछ ।


Read Previous

अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा   

Read Next

श्री एयरलाइन्सले काठमाडौं-भरतपुर परीक्षण उडान गर्याे  

Leave a Reply

Your email address will not be published. Required fields are marked *