Nepal Purbadhar

रोल्वालिङ खोलाको इलेक्ट्रोमेकानिकलको काम बिएफएल हाइड्रो इन्डियाले गर्ने


काठमाडौं । दोलखामा निर्माणाधीन २१ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजनाको इलेक्ट्रोमेकानिकल उपकरणको आयात तथा जडानको काम भारतको बि–फोरेस प्रालि बेङ्लोर (बिएफएल हाइड्रो इन्डिया) ले गर्ने भएको छ । हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिले इपिसी (इन्जिनियरिङ, प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन) मोडलमा अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीसँग निर्माण सम्झौता गरेको यो आयोजनाको विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण आयात, जडान तथा सम्पूर्ण प्राविधिक कार्यको जिम्मा बिएफएल हाइड्रोलाई दिइएको हो ।

मुख्य निर्माण कम्पनी हाइ हिमालय र बिएफएल हाइड्रो इन्डियाबीच शुक्रबार आयोजनाको इलेक्ट्रोमेकानिकल कार्य सम्बन्धित सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा हाइ हिमालयकोतर्फबाट अध्यक्ष किरण मल्ल र बिएफइएल हाइड्रोइन्डियाकातर्फबाट ग्लोबल विजनेस प्रमुख गोविन्द नाइकले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बिएफएल हाइड्रो इन्डियाले आयोजनामा जडान हुने इलेक्ट्रोमेकानिकल उपकरणको डिजाइन, उत्पादन, आयात तथा जडानको सम्पूर्ण कार्य गर्नेछ । साथै, बिएफएल हाइड्रो इन्डियाले आयोजनाको विद्युतगृहको कार्यमा प्राविधिक सहयोग पनि उपलब्ध गराउनेछ ।
सम्झौतामा हस्ताक्षरपछि बिएफएल हाइड्रो इन्डियाका ग्लोबल विजनेस प्रमुख नाइकले निर्धारित समयभित्र आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फको सम्पूर्ण कार्य उत्कृष्ट ढंगले सम्पन्न गर्ने प्रतिबद्धता जनाए । उनले हाइ हिमालयमार्फत नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीले अगाडि बढाएको आयोजनासँग जोडिएर काम गर्न पाउँदा खुशी लागेको बताए ।

भावी दिनमा पनि नेपालका अन्य आयोजनासँग जोडिएर काम गर्दै जाने योजना रहेको उनले बताए । बिएफएल हाइड्रो इन्डिया यसअघि नेपालमा निजी लगानीका २ दर्जन जलविद्युत आयोजनामा काम गरिसकेको छ ।

हाइ हिमालयका अध्यक्ष मल्लले बिएफएल हाइड्रो इन्डियाले निर्धारित समयभित्रै गुणस्तरीय काम गर्नेमा विश्वस्त रहेको बताए । ‘बिएफएल हाइड्रो इन्डियासँग नेपालमा यसअघि पनि धेरै आयोजनामा काम गरिसकेको अनुभव रहेकाले रोल्वालिङ खोलामा पनि जोडेका हौं । आशा छ समयमै उत्कृष्ट सेवा दिनेछ ,’ उनले भने ।

प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले एक वर्षअघि आयोजनाको निर्माण इपिसी मोडलमा गर्न ६ अर्ब रुपैयाँमा हाइ हिमालयसँग ठेक्का सम्झौता गरेको थियो । विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत अगाडि बढेको जलविद्युत आयोजनाको सम्पूर्ण कार्यको ठेक्का इपिसी मोडलमा पहिलो पटक नेपाली निर्माण कम्पनीलाई दिइएको हो ।

पहिलो पटक विद्युत प्राधिकरणले अगाडि बढाएको आयोजनामा जोडिएर काम गर्न पाउनु नै गर्वको विषय भएको मल्लले बताए । ‘यसअघिसम्म विद्युत प्राधिकरणले कम्पनीमार्फत अगाडि बढाएका आयोजना विदेशी कम्पनीले नै निर्माण गरिरहेका थिए,’ उनले भने, ‘रोल्वालिङको निर्माण गर्ने जिम्मा नेपाली कम्पनीले पाएको छ । यो सबैका लागि खुशीको कुरा हो । सम्झौता अनुसार अबको ३ वर्षभित्रमा आयोजना प्रसारण प्रणालीमा जोड्ने गरी काम गरिरहेका छौं ।’

आयोजनाको हाइड्रोमेकानिकलतर्फ काम अहिले डिजाइनको चरणमा रहेको पनि मल्लले बताए । डिजाइन स्वीकृत भएपछि हाइड्रोमेकानिकल कार्यका लागि पनि ठेक्का सम्झौता गरिने उनले बताए ।

रोल्वालिङ आयोजना अहिले निर्माणको चरणमा छ । आयोजनाको सुरुङमा काम भइरहेको छ । मुख्य सुरुङ ३ सय मिटर खनिएको मल्लले जानकारी दिए । विद्युतगृहतर्फ जाने सुरुङमा पनि काम भइरहेको छ ।

रोल्वालिङ माथिल्लो तामाकोसीको प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीमार्फत अगाडि बढाइएको आयोजना हो । याे आयोजनालाई अहिले सञ्चालनमा रहेकाे ४५६ मेगावाटकाे देशकै ठूलाे माथिल्लो तामाकोसीको सहायक आयोजनाको रूपमा निर्माण गर्न लागिएकाे हाे ।

राेल्वालिङबाट विद्युत उत्पादन भई निकास हुने पानी माथिल्लाे तामाकाेसीकाे बाँधमा खसाल्ने गरी संरचना निर्माण गरिनेछ । राेल्वालिङकाे पानी थपिँदा तामाकाेसीले सुख्खा याममा पिक आवरमा थप एक घन्टा ४५६ मेगावाट विद्युत प्रसारण प्रणालीमा दिनेछ ।

विद्युतगृहबाट उत्पादित विद्युत ८.४ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरी बिगु गाउँपालिका–१ गोंगरस्थित माथिल्लो तामाकोसीकाे  २२०/३३ केभी स्वीचयार्डमा लगेर जाेडिनेछ।

आयोजनाबाट २०८४ साल मङ्सिर १ गतेभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ। आयोजनाको अध्ययान तथा डिजाइनकाे काम नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीले गरेको हो।


Read Previous

लाइसेन्स अवधिभरका लागि दिएका सुविधा बीचमै कटाउन पाइँदैन: इप्पान

Read Next

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो