Nepal Purbadhar

इयु राजदूतद्वारा मुस्ताङमा नेपालको पहिलो एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन


लो मान्थाङ, मुस्ताङ । नेपालका लागि युरोपियन युनियन (इयु) की महामहिम राजदूत भेरोनिक लोरेन्जोले च्याङग्रा पश्मिना रिसर्च एन्ड एग्रो टुरिजम फार्मको मंगलबार माथिल्लो मुस्ताङको लो मान्थाङमा उद्‌घाटन गर्नुभयो ।नेपालको पहिलो एकीकृत च्याङग्रा फार्मको रूपमा स्थापना भएको यस फार्मले व्यावसायिक च्याङग्रा खेतीको विकास गर्न र स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने विश्वास लिइएको छ ।

स्थानीय च्याङग्रा किसान र नेपाल पश्मिना उद्योग संघको संयुक्त पहलमा स्थापना भएको उक्त फार्मले आधुनिक च्याङग्रा पालनको अभ्यासलाई दिगो कृषि पर्यटनसँग एकीकृत गर्नको लागि नयाँ आयाम प्रदान गरेको छ।

एक हजार भन्दा बढी च्याङ्ग्रा पालन गर्न मिल्ने क्षमता भएको यो फार्म यस व्यवसाय सम्बन्धी ज्ञान आर्जन र आदान प्रदान गर्ने केन्द्रको रूपमा रहनुका साथै च्याङग्रा प्रजनन र पालनमा विशेषज्ञता र उत्कृष्ट अभ्यासहरूलाई बढावा दिनको लागि उपयोगी हुनेछ । उक्त अवसरमा बोल्दै महामहिम राजदूत लोरेन्जोले उच्च गुणस्तरको च्याङग्रा फाइबरको भरपर्दो स्रोत सिर्जना गरी पश्मिना मूल्य शृङ्खलालाई बलियो बनाउन यस फार्मले खेल्ने भूमिकाबारे चर्चा गरे।

राजदूत लोरेन्जोले च्याङग्रा पालनमा युवा र महिलाको महत्वलाई ध्यानमा राखी स्थानीय रोजगारीका अवसरहरू सिर्जना गर्न र ग्रामीण बसाइसराइको समस्या समाधान गर्न उनीहरूलाई यस व्यवसायमा अझ बढी प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरुङले स्थानीय सरकारले च्याङग्रा किसानका लागि अनुदान मिलाउने जस्ता कार्यक्रम आफ्नो वार्षिक योजनामा समावेश गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अन्तर्राष्ट्रिय च्याङग्रा विज्ञ डा. सरफराज वानीले दिगो अभ्यासलाई प्रवर्द्धन गर्दै व्यावसायिक च्याङग्रा खेतीमा क्रान्तिकारी परिवर्तन गर्ने सम्भाव्यताबारे चर्चा गर्दै फार्मको प्राविधिक डिजाइन प्रस्तुत गरे।

उद्घाटनपछि राजदूत लोरेन्जोले ईयू–नेपाल व्यापार तथा लगानी कार्यक्रमको प्राविधिक सहयोगमा स्थापना भएको पश्मिना फाइबर सङ्कलन केन्द्रको अवलोकन गर्नुभयो । नेपालको पश्मिना क्षेत्रको मूल्य श्रृंखला मजवुत बनाउन युरोपियन युनियनले निरन्तर सहयोग गर्दै आएको छ ।

Facebook Comments

Read Previous

कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण

Read Next

विद्युतीय दुर्घटनामा प्राधिकरण कर्मचारीकाे मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar