Nepal Purbadhar

ट्रयाक खुलेकाे ३ दशकपछि मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै   


तनहुँ ।  तनहुँको मानपुर–डेडगाउँ–बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको छ । जिल्लाको घिरिङ गाउँपालिका–४ मानपुरबाट सुरुगरी नवलपुरको डेढगाउँको सिमानासम्म कालोपत्र गर्न सुरु गरिएकाे  हो ।

उक्त सडकखण्डमा हालसम्म ३ किमी सडक कालोपत्र गरिसकिएको पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।      पहिलो चरणमा तनहुँ खण्डमा कालोपत्र भइरहेको छ । उक्त सडक खण्ड यसै वर्ष कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

“अस्फाल्ट प्रविधिको सबैभन्दा राम्रो गुणस्तरको कालोपत्र गरिएको छ”, आचार्यले भने, “सडकको चौडाइ सात मिटरको हुनेछ भने सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिनेछ ।”

२०५१ मा याे सडकको ट्रयाक खुलेको थियो । २०७७ मङ्सिर ५ गतेदेखि सडक स्तरोन्नतिका काम सुरु गरिएको थियो । ३५ करोड १४ लाख ७४ हजार १ सय ९ रुपैयाँ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख ३२ हजार ३ सय १६ रुपैयाँमा कालोपत्रको ठेक्का पाएको थियो ।

२०७६ फागुन ७ गते सडक कालोपत्रको सम्झौता भएको थियो । ठेक्का भएलगत्तै नेपालमा कोरोनाको महामारीका कारण लकडाउन भएपछि निर्माण कार्य ढिलाइ भएको हो । जिल्लामा यस वर्ष पिसिसी, आरसिसी र कालोपत्र गरी २६ किमी सडक निर्माण गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।


Read Previous

इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै

Read Next

राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने