Nepal Purbadhar

विनियाेजित बजेट सकिएपछि महाकाली करिडोर सडक योजनाकाे काम प्रभावित   


महेन्द्रनगर ।  नेपाल–भारत र चीनसित नाका जोड्ने योजनासहित निर्माणाधीन महाकाली करिडोरको काम बजेट अभावले सुस्त भएको छ । बजेट अपुग हुँदा कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने करिडोर अन्तर्गत साना र ठूला गरी २० खण्डमा ठेक्का लगाइएकाे सडक याेजनाकाे काम प्रभावित हुन पुगेकाे हाे ।

बजेट अभावका कारण काम सकिएकाे केही खण्डकाे पनि रकम भुक्तानी गर्न नसकेको  महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीले गत माघको अन्तिम सातादेखि बजेट अभावले काम प्रभावित भएको बताए ।

चालू आर्थिक वर्षमा सरकारले विनियोजन गरेको २९ करोड ६५ लाख रुपैयाँ बजेट गत माघमै सकिएको प्रमुख जोशीले जानकारी दिए । “गतवर्ष ४० करोड रुपैयाँ बजेट हुँदा पनि त्यो सकिने बित्तिकै तत्काल माथिबाट बजेट थप भएको थियो,” उनले भने, “चालु आर्थिक वर्षमा बजेट कम थियो, त्यसमाथि पनि बजेट माग गर्दा आएको छैन् ।”

उनले योजनाका लागि अर्थ मन्त्रालयमा बजेट माग गरिएको बताए । माघ महिनायता निर्माण कम्पनीहरुले काम गरेबापतको १६ करोड रुपैयाँ रकम भुक्तानी बाँकी रहेको प्रमुख जोशीले बताए ।

उनले माथिबाट बजेट आउने सुनिश्चितता नभएको बताए । ३ सय १३ किलोमिटर लम्बाइ रहेको महाकाली करिडोर अन्तर्गत दार्चुलाको तुसारपानीदेखि तिङ्करसम्मको ७९ किलोमिटर खण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ ।

त्यसैगरी, २४५ किलोमिटर करिडोरको ट्रयाक खुलिसकेको प्रमुख जोशीले बताए । “ट्र्याक खुलाउने, सडक स्तरोन्नती गर्ने र कालोपत्रे गर्ने कामहरु एकसाथ अघि बढेको छ,” उनले भने, “कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा पर्ने ११ किलोमिटर ट्र्याक मात्रै खुलेको छ । त्यहाँ सडक चौडा गर्ने अरु संरचना निर्माण बाँकी छ ।”

करिडोर योजना अन्तर्गत डडेल्धुरामा ५८ किलोमिटर, बैतडीमा एक सय ४४ र दार्चुलामा सेनाले निर्माण गरिरहेको बाहेक एक सय २१ किलोमिटर सडक पर्छ । २०६५/६६ सालमा दार्चुला–तिङ्कर सडक योजनाबाट सुरु भएको करिडोरलाई त्रिदेशीय नाकाका रुपमा विकास गर्ने अवधारणासहित २०७७/७८ सालमा कञ्चनपुरसम्म जोडिएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले करिडोरको काम बजेट अभावले प्रभावित हुनु दुखद् भएको बताए । “त्रिदेशीय नाकाका रुपमा अघि बढेको योजनालाई थप सहयोग गर्न महाकाली नदीमा चार लेनको पुल बनिसक्यो,” मल्लले भने, “रणनीतिक रुपले महत्व बोकेको करिडोरको बजेट अभावको विषयमा सरकारको ध्यान जानुपर्छ ।”

उनले पुलसँगै दोधारा चादँनी सुख्खा बन्दरगाहको काम पनि तत्काल अघि बढ्नुपर्ने बताए ।


Read Previous

अर्बाैं खर्च भइसकेका आयोजनाको इआइए प्रतिवेदन खारेजीप्रति सराेकारवालाकाे चिन्ता

Read Next

मोबाइल इभी चार्जिङ स्टेसन भविश्यमा उत्कृष्ट प्रविधि बन्न सक्छ: कुलमान