Nepal Purbadhar

हिमालयन हाइड्रो एक्स्पो २०२४ः ६० प्रतिशत बढी स्टल बुकिङ


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिसँगको सहकार्यमा आगामी बैशाख १२ देखि १४ गतेसम्म आयोजना गर्ने हिमालयन हाइड्रो एक्स्पोका लागि ६० प्रतिशतभन्दा बढी स्टलहरु बुकिङ भएका छन् । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारा दिएर राजधानीको भृकुटीमण्डमा आयोजना गर्न लागिएको एक्स्पोका लागि आधाभन्दा बढी स्टलहरू बुकिङ भइसकेका हुन् ।

हाइड्रो एक्स्पो २०२४ को घोषणा लगत्तै बुकिङ खुल्ला गरिएकाले धेरै स्टल बुक भइसकेको इपानका महासचिव बलराम खतिवडाले बताए । उनका अनुसार १०० भन्दा बढी स्टलमध्ये धेरैको बुकिङ भइसकेको छ ।

भृकुटीमण्डपको हल ‘ए’, हल ‘बी’ का अधिकांश स्टल बुक भइसकेका छन् । ब्लक ‘ए’ र ब्लक ‘बी’ का स्टलको बुकिङ पनि धमाधम भइरहेको खतिवडाले बताए ।

उनले बाँकी स्टलहरूका लागि पनि प्रस्ताव आइरहेको बताए । ‘धेरैले स्टल बुक गरेका छन् । केहीले बुकिङका लागि होल्ड गरेका छन्,’ उनले भने,‘उपलब्ध स्टलहरूका लागि पनि प्रस्ताव आइरहेको छ ।’

उनले एक्स्पोमा जलविद्युत निर्माणका लागि चाहिने सिमेन्ट, डण्डी उत्पादक,परामर्शदाता, बैंक, इलेक्ट्रो तथा हाइड्रोमेकानिकल उपकरण उत्पादन गर्ने कम्पनी, प्रसारण तथा वितरण प्रणालीका उपकरण एवं ट्रान्सफर्मर उत्पादक कम्पनीलगायतले स्टल राख्दैछन् ।

नेपालमा आएर जलविद्युत सम्बन्धि काम गरिरहेका विदेशी कम्पनीले पनि एक्स्पोमा स्टल राख्न लागेको उनले जानकारी दिए । यसपटक ग्रीन हाइड्रोजनको पनि स्टल एक्स्पोमा राखिने उनले बताए ।

‘काठमाडौं विश्व विद्यालयले ग्रीन हाइड्रोजन उत्पादन गरी नेपालमै पहिलोपटक हाइड्रोजन इन्धनबाट चल्ने गाडी सफलतापूर्वक चलाइसकेको छ । विश्व विद्यालयले चलाएको हाइड्रोजन गाडी पनि प्रदर्शनीमा राख्ने कुरा भइरहेको छ,’उनले भने ।

बैशाख १२ गतेदेखि सुरु हुने हाइड्रो एक्स्पो १४ गते सकिनेछ । हाइड्रो एक्स्पोको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गराउन इपानले निमन्त्रणा गरिसकेको छ ।

जलविद्युतका लगानीकर्ता, उत्पादक, इन्जिनियर लगायत यस क्षेत्रमा चासो राख्ने सबैका लागि जानकारीको केन्द्र बन्ने एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । एक्स्पोबाट वित्तीय व्यवस्थापन, निर्माण उपकरण तथा प्रविधिको आदान प्रदान हुने इपानको अपेक्षा छ ।

यस अघि सन् २०१८, २०१९ र २०२२ मा एक्स्पोको ३ वटा संस्करण सफलतापुर्वक आयोजना भइसकेका छन् ।


Read Previous

पेट्रोलियम उत्खननमा उपयाेग हुने उपकरण दैलेख पुर्‍याइयाे

Read Next

म्याग्दीको विकट गुर्जा गाउँ जोड्ने सडककाे निर्माण सुरु