Nepal Purbadhar

तारकेश्वर र टोखा जोड्न विष्णुमतीमा पक्की पुल निर्माण सुरु   


काठमाडौं । काठमाडौंको टोखा नगरपालिका र तारकेश्वर नगरपालिका जोड्न विष्णुमती नदीमा मोटर सञ्चालन गर्न मिल्ने पुल निर्माण सुरु भएको छ । टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाको ५०–५० प्रतिशत लगानीमा टोखा नगरपालिका– ९ र तारकेश्वर नगरपालिका –११ जोड्ने विष्णुमती नदीमा पुल निर्माण सुरु भएकाे हो ।

मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक दुवै नगरपालिकाको २ करोड ६८ लाख ३५ हजार ५ सय रुपैयाँ लागत अनुमान गरिएकाे याे मोटरेबल पुलको बिहीबार टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले संयुक्त रुपमा शिलान्यास गरी निर्माणकाे थालनी गरिएकाे हाे ।

टोखा नगरपालिकाका प्रमुख अधिकारीले निर्माण गर्न लागिएको पुलले टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाबीच मित्रवत् सम्बन्ध स्थापित गर्ने बताए । तारकेश्वर नगरपालिकाका प्रमुख महर्जनले मोटरेबल पुल निर्माणसँगै तारकेश्वर र टोखाका बासिन्दालाई आवतजावतमा सहयोग पुग्ने बताए ।  उक्त मोटरेबल पुलले काठमाडौं महानगरपालिका– १६ का बासिन्दा पनि लाभान्वित हुनेछन् ।

टोखा नगरपालिका–९ का वडाअध्यक्ष रामभक्त घिमिरेले २०२२ साल पछिको सबैभन्दा पुरानो बाटोमा पुल निर्माण गर्न पाउँदा खुशी लागेको बताए ।  पुल आगामी मङ्सिरभित्र निर्माण भएर सञ्चालन भइसक्ने उनले दाबी गरे ।


Read Previous

निर्धारित समय अगावै सम्पन्न भयाे खरानीटार-दोर्खुखोला सडक

Read Next

ग्लोबल आइएमई बैंकका थप ४१ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, ५ हजार बढीकाे सहभागिता