चौतारा । सिन्धुपाल्चाेकमा निर्माणाधीन १६.२६ मेगावाटको लिपिङखोला जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । हिम रिभर हाइड्रोपावर कम्पनी लिमिटेड प्रवर्द्धनक रहेको याे आयोजनाको सुरुङ, बाँध, पाइपलाइन र विद्युतगृह निर्माणकाे काम पूरा हुने चरणमा पुगेकाे हाे ।
अहिलेसम्म आयोजना ८५ प्रतिशत सिभिल संरचना निर्माण पूरा भएकाे कम्पनीका कार्यकारी निर्देशक सुदीपकुमार चौधरीले जानकारी दिए । उनका अनुसार निर्माण सुरु गरेकाे २ वर्षमा नै आयोजनाकाे यति भाैतिक प्रगति हुन पुगेकाे हाे ।
उनले अहिलेकै गतिमा निर्माण चलेमा आगामी २०८१ जेठ महिनाभित्र उत्पादन गर्न सकिने बताए । भोटेकोशीबासी र स्थानीयबासीले यसरी नै साथ दिए तोकिएको समयमा उत्पादन सुरु गर्न सम्भव हुने उनले बताए ।
३ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी लागतमा निर्माण भइरहेको आयोजनाको प्रसारण लाइनको काम पनि आगामी बैशाखभित्र सक्ने लक्ष्य लिएइएको छ । हिउँद महिनामा ३० प्रतिशत विद्युत् उत्पादन घट्न सक्ने सो आयोजनाको अनुमान छ ।
लिपिङ खोलाबाट उत्पादन भएको विद्युत् भोटेकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइनमा जोडिएर बाह्रबिसे नगरपालिका–४स्थित बेतेमा निर्माणाधीन सब स्टेसनमा पुर्याइने कम्पनीले जनाएकाे छ ।