Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

बाबियाचौर-काफलचौर-सल्यान-भर्जुला सडककाे स्तरोन्नति सुरु


म्याग्दी ।  म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुला सडककाे स्तराेन्नतिकाे काम सुरु भएकाे छ । ट्र्याक खुलेकाे १३ वर्षपछि बल्ल याे सडककाे  स्तरोन्नतिकाे काम सुरु भएकाे हाे ।

यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नं १ र २ का बस्ती जोडिन्छ । २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर मार्ग खुलेको  लामाे समयपछि स्तरोन्नति हुन थालेको सल्यानका बासिन्दा राजकुमार अधिकारीले बताए ।

“चन्दा र तत्कालीन गाविस–जिविसको बजेट परिचालन गरेर मार्गमात्र खोलिएको सडक साँघुरो, ग्रेड र घुम्ती नमिलेका कारण दुर्घटनाको जोखिम थियो”, उनले भने, “सडक स्तरोन्नति भएपछि यात्रा अवधि छोटिने, सुरक्षित र सहजरूपमा आवतजावत गर्न सकिनुका साथै गाडी र ढुवानी भाडा घट्ने अपेक्षा गरेका छौँ ।”

सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्ष २०८०/०८१ मा गण्डकी प्रदेश सरकारले ६० लाख रुपैयाँ र मङ्गला गाउँपालिकाले ४० लाख रुपैयाा विनियोजन गरेका छन् । गत पुस ५ गते ७१ लाख ४० हजार पाँच सय ७६ रुपैयाँमा ठेक्का सम्झौता गरेको जयदुप्चे निर्माण सेवाले सडक निर्माणलाई तीव्रता दिएको मङ्गला गाउँपालिकाका सबइन्जिनियर तथा पूर्वाधार शाखा प्रमुख रुपेन्द्र अधिकारीले बताए ।

“काफलचौर–सल्यान खण्डको अप्ठ्यारो सडक विस्तार, ग्रेड र घुम्ती सुधार गरी नाली, पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ”, उनले भने, “छ मिटर चौडाइका दरले दुई सय ५० मिटर लम्बाइमा सडक ढलान गर्ने तयारी भएको छ ।” ढलानका लागि शुक्रबारदेखि सो सडकमा सवारीसाधन आवत-जावत बन्द गरिएको छ ।

आगामी असार १० गतेसम्मको ठेक्का अवधि भए पनि लक्ष्यभन्दा ३ महिना अगाडि नै फागुन महिनाभित्र सम्पन्न गर्ने तयारीसहित उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको दुप्चेश्वर निर्माण सेवाका सुपरभाइजर श्यामहरि पण्डितले बताए । यस सडक काफलचौर, सल्यान, भरजुला, थाइवाङ, भाइवाङ र हिदीका करिब एक हजार घरधुरीले प्रयोग गर्छन् । सडकको प्रवेशविन्दुमा पर्ने काफलचौर क्षेत्रमा गत वर्ष रु ५० लाख बजेटमा उपभोक्ता समितिमार्फत एक सय ७८ मिटर ढलान भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताए ।

सडकको भरजुला–थाइवाङ खण्डमा गण्डकी प्रदेश सरकारअन्तर्गतको पूूर्वाधार विकास कार्यालयमार्फत ३० लाख रुपैयाँ बजेटबाट ढलानसहितको स्तरोन्नतिको लागि ठेक्का प्रक्रिया अघि बढेको छ । गाउँपालिकाले ठेक्का लगाउँदा बचेको ९ लाख रुपैयाँ बजेट काफलचौर–सल्यान खण्डको स्तरोन्नतिका लागि विनियोजन गरेको छ । यो मङ्गला गाउँपालिकाको केन्द्रबाट बस्ती जोड्ने प्राथमिकताप्राप्त आयोजना भएको वडाध्यक्ष खाती क्षेत्रीले बताए ।


Read Previous

ठूलोखोला जलविद्युत आयोजनाको ठाडाे र तेर्साे सुरुङ जाेडियाे,७७ प्रतिशत निर्माण पूरा

Read Next

पासाङल्हामु मार्गमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिने   

Leave a Reply

Your email address will not be published. Required fields are marked *