Nepal Purbadhar

भोजपुर हतुवागढीको बारीगाउँमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत,६९ घर झिलिमिली


काठमाडौं । भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका–८ बारीगाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको छ । नेपाल विद्युत प्राधिकरणले वितरण प्रणालीको संरचना विस्तार गरी यो गाउँमा विद्युत पहुँच पुर्याएको हो ।

वर्षौंदेखि अन्धकारमा रहेको गाउँमा विद्युत पहुँच पुग्दा आफु र आफ्नो परिवार हर्षित भएको स्थानीय रामबहादुर राईले बताए । ‘हामी गाउँले वैकल्पिक ऊर्जाको स्रोतको उज्यालोमा निर्भर थियौं,’ उनले भने, ‘अहिले प्राधिकरणको प्रणालीको विद्युत गाउँमा पुग्दा गाउँले सबै लाभान्वित भएका छौं ।’

विद्युत प्राधिकरणको भोजपुर वितरण केन्द्रको गाउँमा विद्युत पहुँच पुर्याउन हतुवागढी घोडेटार फ्युज सेवाले वडा नं ८ को पात्लेपानी, विद्यापोखरी, रोक्ताङ हुँदै बारीगाउँसम्म ११ केभी वितरण लाइन निर्माण गरेको छ । विद्युत्को पहुँच पुगेसँगै त्यहाँका ६९ घरधुरी अहिले झिलिमिली भएका छन् ।

मट्टितेलको टुकी बालेर जीवन बिताउन बाध्य गाउँलेको गाउँमा बिजुली आउँला भन्ने सपना अहिले आएर पूरा भएको वडाध्यक्ष प्रेम थापाले बताए । “दुर्गम गाउँपालिकाका धेरै वडाका जनता अँध्यारोमा बस्न बाध्य हुनुहुन्छ, तर अहिले गाउँमा पनि बिजुली पुग्न थालेकामा यहाँका जनतामा खुसी छाएको छ ,”उनले भने ।

जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत् प्राधिकरण र ठेकेदारमार्फत विद्युतीकरणको काम भइरहेको भोजपुर वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले बताए । “जिल्लाभित्रका नौवटै स्थानीय तहमा विद्युत्को पहुँच पु¥याउन प्राधिकरणले काम गरिरहेको छ,”उनले भने ।

स्थानीय उत्पादनमा रहेको सिक्तेल खोला लघु जलविद्युत् आयोजनाबाट भोजपुर सदरमुकाम र आसपासका करिब १ हजार ४ सय घर परिवारमा मात्र विद्युत् सेवा पुगेकामा २०६७ कात्तिक महिनाबाट प्राधिकरणले भोजपुरमा वितरण केन्द्र स्थापना गरेपछि विद्युतीकरणको काम सुरु भएको थियो । भोजपुरमा हाल निजी लगानीमा निर्माण सम्पन्न भएका २ वटा जलविद्युत आयोजना सञ्चालनमा छन् ।

भोजपुरमा हाल ८५ प्रतिशत विद्युतीकरण भइसकेको छ । जिल्लाको उत्तरमा रहेको साल्पासिलिछो र दक्षिणमा रहेको आमचोक गाउँपालिका क्षेत्रमा विद्युतीकरणको काम बाँकी रहेको छ । विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार जिल्लामा अहिलेसम्म २४ हजार बढी घरधुरीमा विद्युत पहुँच पुगिसकेको छ ।

Facebook Comments

Read Previous

बाह्रबिसे सबस्टेसन निर्माणकाे अन्तिम चरणमा,सञ्चालनमा आउन २ महिना लाग्ने

Read Next

काठमाडौं महानगरका सडकमा स्मार्ट सडक बत्ती जडानको आधा काम सकियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar