काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र (डाँडापारि) मा अवस्थित महाभारत गाउँपालिकाको तीनखुट्टे–देवीटार सडक खण्डको निर्माण डेढ वर्षदेखि अलपत्र अवस्थामा छ । ठेकेदारले सम्झाैता अनुसार काम नगर्दा ८.७ किलाेमिटर सडककाे कालाेपत्र गर्ने कार्य अलपत्र अवस्थामा पुगेकाे हाे ।
कालोपत्र गर्ने कार्य सम्झौता अवधि सकिएको १७ महिनासम्म सम्पन्न हुन नसक्दा स्थानीयले सदरमुकाम धुलिखेल आवतजावतमा निकै कठिनाइ भोग्नुपरेको छ । निर्माण व्यवसायीको लापरवाही तथा ढिलासुस्तीका कारण वर्षात्को समयमा ४ महिनासम्म उक्त सडक अवरुद्ध बनेको स्थानीयले बताएका छन् ।
२०७९ असार मसान्तसम्म अवधि रहेको उक्त सडकखण्ड निर्माणको ठेक्का लिएको श्रेष्ठ सक्षम जेभी कम्पनीलाई पटक–पटक मौखिक र लिखितरूपमा ताकेता गर्दा बेवास्ता गरेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय तथा पूर्वाधार विकास कार्यालयलाई पनि जानकारी गराइएको थियो ।
उक्त मङ्गलटर–चारकिल्ला–तीनखुट्टे–बनखु सडक आयोजनाको २०७७ असोज २० गते बागमती प्रदेशका तत्कालीन मन्त्री रामेश्वर फुँयालले तीनखुट्टेमा शुभारम्भ गरेका थिए । सडक अभावमा विकट मानिएको महाभारत गाउँपालिकाको तीनखुट्टे–देवीटार सडकखण्ड स्तरोन्नतिसहित कालोपत्रका लागि ४९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । म्याद सकिँदासम्म उक्त आयोजनाको ५० प्रतिशत निर्माण भएको छ ।
उक्त सडकखण्डमा सडक स्तरोन्नतिअन्तर्गत नाली निर्माण, रिटेनिङ वाल, ग्याविङ्ग वाल, कजवे, कल्भर्टलगायतका संरचनासँगै ३० एमएमको कालोपत्र गरिने योजना बनाइएको थियो । “पक्की सडक निर्माण भएपछि महाभारत क्षेत्रको विकास र समृद्धिमा थप मद्दत पुग्ने अपेक्षा गरेका थियौँ”, अध्यक्ष जिम्बाले भने ।