काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा सकिँदा करिब ३ अर्ब रुपैयाँ राजश्व संकलन गरेकाे छ । महानगरपालिकाले साउनदेखि कात्तिक मसान्तसम्मकाे अवधिमा २ अर्ब ९२ करोड ९६ लाख नौ हजार राजस्व असुल गरेको हाे ।
याे राजश्व रकम गत आवको यही अवधिको तुलनामा १७ करोड रुपैयाँ बढी भएकाे कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए । उनका अनुसार चालू आवको ४ महिनामा सबैभन्दा धेरै घरबहाल कर ८१ करोड ९२ लाख रुपैयाँ संकलन भएकाे छ । सम्पत्ति करबापत ४१ करोड ८६ लाख असुल भएको काफ्लेले बताए ।
कामपाले गत आवको पहिलो चौमासिकमा २ अर्ब ७५ करोड ९८ लाख ६४ हजार राजस्व असुल गरेको थियाे । कामपाले चालू आवका लागि १० अर्ब ८० करोड रुपैयाँ राजस्व असुलको लक्ष्य लिएको छ ।
पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको विभागका प्रमुख काफ्लेको भनाइ छ । “गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करदाता बढेका छन् । बहाल करतर्फ पनि करदाता उल्लेख्य रूपमा बढेका छन्”, उनले भने, “पछिल्लो समय १ हजार ३ सय करदाता थपिएका छन् ।”
अहिले कामपामा ३ लाखभन्दा बढी करदाता रहेका काफ्लेले जानकारी दिए । राजस्व सङ्कलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय लामो समयदेखिको बक्यौता रकमसमेत उठ्न थालेको उनले बताए ।
कामपाले ३२ वटै वडा कार्यालयबाट राजस्व सङ्कलन गर्न थालेसँगै लामो समयदेखि असुलउपर हुन नसकेको बक्यौता रकम उठ्न थालेको काफ्लेको भनाइ छ । लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम जरिवानाको कारण तिर्न आनाकानी गरिरहेका करदाताका लागि आगामी पुस मसान्तसम्म जरिवाना रकममा छुट दिएकाले राजस्व सङ्लग्नमा थप सहज भएको छ ।
यसअघि राजस्व तिर्नका लागि वार्षिक तीन लाखसम्म सम्बन्धित वडा कार्यालय र त्यसभन्दा बढीका लागि कामपाको केन्द्रमा आउनुपर्ने व्यवस्था रहेको थियाे । हाल कामपाले सम्पत्ति, बहाल, मनोरञ्जन, व्यवसाय, विज्ञापन करलगायत नौ शीर्षकमा कर सङ्कलन गर्दै आएको छ ।