Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत    तनहुँकाे व्यासमा सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता    म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण    लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

कमजोर पूर्वाधार नीति र अस्थिर प्राथमिकता


नेपालमा भौतिक पूर्वाधार क्षेत्रलाई समेटिएको नीति नै छैन । संघीयता कार्यान्वयन हुनुअघिदेखि स्थानीय विकास नीति थियो । त्यो पनि अहिले अद्यावधिक छैन । केही कानुन र निर्देशिका छन् । त्यसैलाई आधार बनाएर काम गर्ने गरिएको छ । यसकारण भौतिक पूर्वाधार क्षेत्रलाई समेट्ने नीति नै आउन आवश्यक छ । राष्ट्रिय यातायात नीति, २०५८ छ । त्यसले केही विषयमा बोलेको छ ।

त्यो नीति आएको लामो समय बितिसकेको र कतिपय सन्दर्भ पनि परिवर्तन भएको हुँदा नीतिगत रुपमा धेरै स्पष्टता भएको अवस्था छैन । नीति नभए पनि आवधिक योजना र अन्य दीर्घकालीन लक्ष्य तोकिएका छन् । त्यसकै आधारमा कति सडक, कति सवारीसाधन, कति रेलमार्ग निर्माण गर्ने भन्ने विषय तोकिने गरेका छन् ।

अन्य क्षेत्रलाई हेर्दा खानेपानी नीति छ, जलस्रोत नीति छ, सहरी नीति छ तर राजमार्गसम्बन्धी नीति छैन । सडकको मापदण्ड भने निर्धारण गरिएको छ । संघीयताको कार्यान्वयनपछि कार्य विभाजनसमेत प्रस्ट रुपमा हुन सकेको छैन । संविधानमै कुन मापदण्डको सडक कसले हेर्ने भन्ने तोकिएको छ । त्यसलाई समेत अझै व्यावहारिक रुपमा अवलम्बन गरिएको छैन ।

पूर्वाधार क्षेत्रमा देखिएको सबैभन्दा ठूलो चुनौती भनेको योजना तयारी सही तरिकाबाट नहुनु हो । योजना निर्माणमा सबैभन्दा कम समय दिने गरेका छौं । राम्रोसँग योजना बनाउने र तयार गर्ने हो भने योजना कार्यान्वयन गर्न पनि सहज हुन्छ । एउटा महत्त्वपूर्ण आयोजनाको सबै चरण पूरा गरेर योजना बनाउन २ देखि ३ वर्षसम्म लाग्छ । तर, हाम्रो समस्या भनेको तदर्थ रुपमा योजना तयार गर्ने गरिएको छ । अनि यसैको पछि राजनीतिक नेतृत्वदेखि, कर्मचारीतन्त्र र आमनागरिकसम्म लाग्ने गरेका छन् ।

नेपालका मानिसको ‘फ्लो’ हुने भनेको पूर्व–पश्चिम नभएर उत्तर–दक्षिण हो । मेचीको मानिस महाकाली मुस्किलले जाला । तर, ताप्लेजुङको मानिस झापा वा विराटनगर झरिरहेको हुन्छ । त्यस्तै, दार्चुलाको मानिस महेन्द्रनगर झर्छ । यसकारण हाम्रो प्राथमिकतामा पनि उत्तर–दक्षिण सडक करिडोरमा हुनुपर्ने देखिन्छ । जति हुनुपर्ने थियो, त्यति छैन् ।

बरु पूर्व–पश्चिम जोड्ने राजमार्गमा बढी लगानी र प्राथमिकता देखिन्छ । महेन्द्र राजमार्गपछि हुलाकी, मध्यपहाडी, मदन भण्डारीदेखि अहिले उच्च हिमाली पनि आएको छ । जबकि कुन राजमार्गलाई बढी प्राथमिकता दिने भन्ने स्पष्टता छैन । अर्कोतर्फ चीन जोड्ने सडक थोरै छन् । अरनिको र केरुङ जाने सडक मात्र छन् । त्यसबाहेक सरकारले प्राथमिकता दिएका तीन उत्तर–दक्षिण करिडोर, कर्णाली, कालीगण्डकी र कोसी करिडोर हुन् ।

यीमध्ये कोसी करिडोरले किमाथांका जोड्ने, कालीगण्डकी करिडोरले कारोला नाका जोड्ने र कर्णाली करिडोरले नेपालगञ्जदेखि हिल्सासम्म जोड्ने गरी योजनाकृत गरिएका छन् । तर, ती करिडोरको अवस्था सन्तोषजनक छैन, कुनै पनि सम्पन्न भएका छैनन् । केही खण्डमा ट्र्याक खुलाउन बाँकी छ । कालीगण्डकी करिडोरको गैंडाकोटदेखि नै राम्राे प्रगति छ । चीनको कोरोलापाससम्म जाने यस सडक केही वर्षमा सम्पन्न होला । केही ठाउँमा कालोपत्रे भएको होला, कहीँ नहोला । तर, कोसी र कर्णाली करिडोरमा भने अपेक्षित प्रगति छैन ।

मुख्य ती करिडोरलाई सम्पन्न गर्नुपर्यो । एकल होस् वा डबल लेन, जति भए पनि सम्पन्न गर्नुपर्यो । ती करिडोरले अन्तरदेशीय आउजाउलाई सहज बनाउँछन् । त्यसपछि ती सडकमार्फत अन्य सहायक सडक बनाउन सकिन्छ । तर, लहडको भरमा नयाँ सडक हाल्ने हतारो गरिएको छ । कोसी करिडोर पूरा भएको छैन । तमोर करिडोर भनेर नयाँ सडकको थालनी भइसकेको छ । विशेषगरी राजनीतिक नेतृत्वले नयाँ समानान्तर सडक हाल्ने गरेका छन् । त्यसमा कर्मचारीतन्त्रको उच्च नेतृत्वको पनि कमजोरी छ । उही प्रकृतिका सडक थपिँदै गएका छन् ।

उदाहरणका लागि दोलखामा लामाबगर हुँदै चीन जोड्ने, पश्चिममा ताक्लाकोट हुँदै चीन जोड्ने र मनाङमा लार्के हुँदै चीन जोड्ने भनेर नयाँ सडक थालनी भइसकेको छ । चीन जोड्ने जति पनि जिल्ला छन्, ती जिल्लाका जनप्रतिनिधिले आफ्नो जिल्लाबाट जोडिने सडक नै सबैभन्दा महत्त्वपूर्ण र उच्च प्राथमिकता पाउनुपर्ने बताउने गरेका छन् । परापूर्वकालदेखि हिँडेको र यो सडक नभइनहुने भनेर दाबी गर्ने गरेका छन् ।

वास्तवमा कोसी, कालीगण्डकी र कर्णाली करिडोर सम्पन्न गर्ने अनि त्यसबाहेक बाह्रबिसे नाका र केरुङ जोड्ने सडक स्थायी रुपमा सञ्चालन हुने अवस्था सिर्जना भएपछि मात्र आवश्यकताका आधारमा अन्यबारे सोच्नुपर्ने हो । त्यसपछि सेती लोकमार्ग हुँदै ताक्लाकोट, टिंकर जानेलगायतका सडकबारे पनि सोच्न सकिन्छ ।

मन्त्री फेरिनेबित्तिकै नयाँ सडक थपिने गरेको छ । त्यसलाई प्रशासनिक नेतृत्वले पनि रोक्न वा तर्कपूर्ण बनाउन सकिरहेको छैन । यसको कारण हाम्रो सीमित स्रोत–साधन पनि प्रभावकारी उपयोग हुन सकेको छैन । एउटा आयोजना अघि बढेपछि त्यो सम्पन्न नहुँदै बीचमा अन्य आयोजना थपिने रोगको रुपमा विस्तार भइरहेको छ ।

अर्कोतर्फ अहिले ४ लेन र ६ लेनमा सडक विस्तार गर्ने प्रवृत्ति बढेको छ । तर, कुनै पनि सडकमा गुड्ने गाडीको संख्याले लेन थप्नुपर्ने आवश्यकता देखिँदैन । त्यसरी लेन थप्दा अर्को १० देखि १५ वर्षसम्म त्यो सडक ‘अन्डर युटिलाइज्ड’ हुँदै छ । यो एउटा फेसनको रुपमा आएको छ । महेन्द्र राजमार्ग बल्ल ४ लेन बनाउने विषय तार्किक देखिएला । त्यो पनि कतिपय ठाउँमा आवश्यक देखिँदैन । देशको गौरव, एसियाली मापदण्ड र पहिलेदेखि भएकाले त्यसलाई ४ लेनमा विस्तार गर्नु तार्किक होला ।

नारायणघाट-बुटवल सडकमै पनि अझै ४ लेन पूर्ण सदुपयोग हुने अवस्था छैन । तर, त्यसो गर्दा पश्चिमको संवेदनशीलतालाई हेर्नुपर्याे, पूर्वतिर मात्र ४ लेन बनाउने भन्ने होला । त्यस्तै, महेन्द्रनगर र नेपागञ्जको उत्तर-दक्षिण सडक पनि ४ लेनको बनाइएको छ । त्यति मात्र होइन, जटहीदेखि जनकपुर आउने सडक, जहाँ दैनिक सय सवारी साधन गुड्छन् । त्यसमा तत्कालीन मन्त्रीले ६ लेनमा विस्तार गर्ने बनाइदिए । जबकि विस्तार गर्नुपर्ने सडक भित्तामोडदेखि जनकपुर जोड्ने थियो ।

यसकारण पहिलो त हाम्रो योजनै हतारमा बन्छन् । योजना बनाउनमा समय र स्रोत छुट्याउने गरिएको छैन । दोस्रो, स्रोत सीमित छ । त्यो पनि प्रभावमा प्रयोग हुने गरेको छ । राजनीतिक नेतृत्वले दबाव र प्रभावमा पारेर स्रोतको योजनाकृत विनियोजनलाई प्रभावित गरी आफ्नो स्वार्थअनुकूल हुने गरी विनियोजन गर्ने गरिएको छ । कार्यान्वयन पक्षका कमजोरी पनि धेरै छन् । त्यसमा राजनीतिक नेतृत्व मात्र नभएर प्रशासनिक नेतृत्व पनि जिम्मेवार छ ।

कतिपय अवस्थामा ऐन, कानुनलाई देखाएर कार्यान्वयनमा कमजोरी भएको वा नसकिएको भन्ने गरिन्छ । तर, ऐन–नियम सजिला छन् । सार्वजनिक खरिद ऐनमा केही कमजोरी होलान् तर कार्यान्वयन नै गर्न नसक्ने अवस्थाको छैन । काम गर्न सकिने र प्रस्टै छ । प्रायः भौतिक पूर्वाधारमन्त्रीले खरिद ऐन विकासमैत्री नभएको भनेर सार्वजनिक रुपमा बोल्ने गरेका छन् । तर, के विषयमा मैत्री हुन नसकेको भन्ने विषय अस्पष्ट छ । केही कमी-कमजोरी होलान्, सुधार गर्नुपर्ने विषय होलान् तर, कार्यान्वयन गर्न नसकिने अवस्था होइन । खरिद ऐनको कारणले नभई अन्य व्यवस्थापकीय पक्षमा कमजोरी छ ।

प्रतिफल दिने सडक आयोजना

प्रतिफल नदिने र जथाभावी स्रोत र योजनाविहीन आयोजनाको मात्र हालीमुहाली छ भन्ने अर्थ मात्र लगाउनु पनि गलत हुन्छ । केही प्रतिफल दिने आयोजना पनि छन् । कुनै आयोजना आज आवश्यक नदेखिए पनि भविष्यमा अत्यावश्यक बन्ने खाले छन् । कुनै रणनीतिक हिसाबले महत्त्वपूर्ण बन्ने आयोजना छन् । मध्यपहाडी राजमार्गमा अहिले थोरै सवारी मात्र गुड्ने भए पनि भविष्यमा महत्त्वपूर्ण हुनेछ । तत्कालै त्यसको प्रतिफल खोज्ने हो भने काम छैन भन्ने निष्कर्षमा पुगिन्छ । तर, दीर्घकालीन आवश्यकतामा हेर्ने हो भने अत्यावश्यक देखिन्छ ।

प्रत्यक्षभन्दा अप्रत्यक्ष फाइदा पनि छन् । भविष्यमा ट्राफिकमा वृद्धि हुन्छ । बसाइँसराइ रोकिनेछ । सहरी विकासले साना सहर निर्माण गरिरहेको छ । त्यो भविष्यमा हबको रुपमा विकास हुनेछ । जलविद्युत्को काम गर्नलाई सजिलो भइरहेको छ । सामाजिक र राजनीतिक, पर्यटन, कृषिलगायत विषयमा पनि महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ । सरोकार राख्नुपर्ने विषय के भने अहिले नै योजना भएर निर्माण थालिइसकेका मुख्य आयोजनालाई पहिला सम्पन्न हुन दिने र त्यसपछि मात्र अन्य योजनामा लागौं भन्ने हो । भएको सीमित स्रोतलाई छरेर सबै आयोजना एकै पटक बनाउने भन्नेतर्फ लाग्यौं भने हामी कहीँ पनि पुग्दैनौं ।

अर्को विषय, पुलमा पनि त्यस्तै जथाभावी भइरहेको छ । छोटो दूरीमा पुल हालिएका छन् । सामान्य सडकमा पुल नहाल्नुपर्ने ठाउँमा हालिएका छन् । त्यसले स्रोतमा गम्भीर दुरुपयोग भइरहेको देखाउँछ । त्रिशूलीमा २–३ किलोमिटरको फरकमा पुल हालिएको छ । एउटा पुल बनाउन ४ करोड लाग्यो भने पनि त्यति छोटो दूरीमा पुल हाल्नुले बजेट दुरुपयोग गराएको छ । कालीगण्डकीमा त्यस्तैगरी अत्यधिक पुल हालिएका छन् । सुनकोसी र कर्णालीमा पनि अधिक पुल हालिएका छन् ।

नेताहरुको जुँगाको लडाइँका कारण पनि धेरै पुल थपिएका छन् । तराईमा समेत पुलको संख्या अत्यधिक छ । गौरदेखि रौतहट पुग्ने ४० किलोमिटर सडकमा १/१ अर्ब रुपैयाँका ४ वटा पुल छन् । तर, गौर नजिकैको पुल निर्माण थालिएको १५ वर्ष पुग्न लाग्यो । अझै पूरा भएको छैन । त्यो दूरीमा २ वटा पुल निर्माण गरेर अन्यको सडक बनाउन सकिने थियो । तर, अर्ब रुपैयाँका पुल बनाएर स्रोतको सही सदुपयोग भएको छैन । यसमा धेरथोर हामी सबै जिम्मेवार छौं ।

आयोजनामा स्रोत छरिँदाका कठिनाइ

प्राथमिकता निर्धारण हुने, स्रोत सुनिश्चित हुने हो भने परियोजना समयमा सम्पन्न हुने थिए । थोरै काम भएपछि निर्माण व्यवसायीले पनि धेरै काम ओगट्न पाउने थिएनन् । गरेको कामको भुक्तानी समयमा पठाउन सकिने थियो । गुणस्तरीय काम हुने सम्भावना धेरै हुन्थ्यो । अर्कोतर्फ जनशक्तिको सदुपयोग, क्षमता वृद्धि र निगरानी गर्ने विषय पनि राम्रो हुन्थ्यो । अहिले एकैचोटि धेरै काम गर्न खोज्दा धेरै विषय बिग्रिएका छन् । परियोजनामा प्राथमिकता पनि छन् ।

भएको प्राथमिकतालाई भत्काइदिएको छ । त्यसले पनि अवस्थालाई बिगारिदिएको छ । अहिले गरेको कामको भुक्तानी दिन नसकिने अवस्था आएको छ । मुख्य समस्या भनेको हाम्रो योजना निर्माण र तयारीमै हो । यस काममा योजना आयोगको कुनै भूमिका देखिँदैन । क्षेत्रगत भारको आधारमा आयोजना स्वीकृतिको हिसाब गर्नेबाहेक परियोजना पहिचान गर्ने वा फरक मन्त्रालयका आयोजनाबीच समन्वय गर्ने विषयमा कुनै भूमिका छैन ।

प्रतिफललाई हेरेर पूर्वाधार निर्माण गर्ने कहिले ?

धेरै कमजोरीका बाबजुद पनि सामान्यतया ठूला परियोजनाको लाभ लागतलाई हेरेर र विश्लेषण गरेरै आयोजनालाई अघि बढाइएको हुन्छ । तर, पूर्वाधारका केही आयोजनामा लाभ र लागत नहेरी गर्नुपर्ने हुन्छ । विशेषगरी सडक स्तरोन्नति गर्ने वा २ लेनबाट ४ लेनको बनाउने काममा लाभ लागत हेरिनुपर्छ । सडकले समाज र राजनीतिलाई जोड्ने काम गर्छ । उदाहरणका लागि मनाङ, डोल्पा, हुम्ला सदरमुकाममा सडक पु¥याउँदा लाभ केही पनि हुँदैन । तर, त्यहाँ पहुँच नपुर्याई बस्ने भन्ने हुँदैन । सरकारको नीति भनेको सबै जिल्ला सदरमुकाममा १२ महिना निरन्तर सवारीसाधन चल्ने बनाउने हो ।

यसकारण यस्ता विषय वा परियोजनामा लाभ लागत हेरेर हुँदैन । समाज र आमनागरिकलाई राज्य भएको अनुभूति दिन पनि यस्ता काम गर्नुपर्छ । पछिल्लो समय सरकारले नै तराईमा दुई घन्टा हिडेपछि गाडी भेट्ने र पहाडमा चार घन्टा हिँडेपछि सवारी साधन भेट्ने भनिएको छ । अहिले हरेक पालिका केन्द्रसम्म कालोपत्रे सडक पुर्याउने कार्यक्रम पनि छ । यसकारण सबैमा लाभ लागत मात्र हेरिँदैन । त्यस्ता ठाउँमा सडक पुग्यो भने त्यहाँको वाासिन्दाले स्वास्थ्योपचार गर्न सहज हुन्छ । सुत्केरीले सजिलै अस्पताल पुगेर उपचार पाउन सक्छन्, विद्यार्थीलाई राम्रो विद्यालयसम्म पुग्न सजिलो हुन्छ। यसकारण यस्ता कामले प्रत्यक्षभन्दा पनि अप्रत्यक्ष लाभ धेरै हुन्छ ।

सडक पहुँच पुर्याउने विषय महत्त्वपूर्ण छ । तर, पहुँच पुगेपछि त्यसलाई अझ स्तरोन्नति गर्ने विषय झनै महत्त्वपूर्ण हुन्छ । कुन मापदण्डको बनाउनेदेखि कति सवारी साधनले त्यो सडक प्रयोग गर्छन् भन्नेसम्मका विषय यसमा अटाउँछन् । यस चरणमा भने लाभ लागतको विश्लेषण गरिनुपर्छ । विश्लेषणपछि मात्र थप लगानी गर्ने/नगर्ने निर्णय गरिनुपर्छ ।

केही दातृ निकायले निर्माण गरेका सडकमा अस्वाभाविक रूपमा लाभ लागत देखाएर पनि आयोजना बनाइएको छ । जति ट्राफिक छ, त्योभन्दा धेरै देखाएर वा अन्य लाभ हुने र कागजी रुपमा आयोजनालाई आकर्षक देखाउने गरिएको छ । यसले हामी दातृ निकायबाट पनि निर्देशित रहेको देखाउँछ । यसबाहेक कुनै मन्त्री, प्रधानमन्त्री भएकै आधारमा त्यस जिल्लामा आयोजना हाल्ने गरिएको छ । यो विकृतिलाई रोक्नुपर्छ ।

सडकसँगै रेलमार्ग निर्माण र सञ्चालन पनि जोडिएर आउँछ । काठमाडौं उपत्यकामा मेट्रो सञ्चालन गर्ने र जयनगर–जनकपुर हुँदै बर्दिबास जोड्ने अनि त्यहाँबाट निजगढ हुँदै वीरगञ्जसम्म निर्माण गरेर सञ्चालन गर्न सकिएला । तर, एकैचोटि रेलका धेरै योजना सम्भाव्य छैनन् । लगानी जुटाउन पनि उत्तिकै कठिन देखिन्छ । चीन र भारत जोड्ने रेल आवश्यक भए पनि तत्काल चीन जोड्ने रेल आर्थिक रुपमा सम्भाव्य देखिँदैन ।

यसकारण रेलमा जोड गर्नेभन्दा पनि गुणस्तरयुक्त सडकमा जोड दिनुपर्नेछ । सडक करिडोरको संख्यामा वृद्धि गर्नेभन्दा पनि देशको आवश्यकतामा ध्यान दिनुपर्यो । राष्ट्रिय यातायात नीतिलाई पुनरवलोकन गर्नुपर्यो । यसबाहेक मुआब्जा प्राप्तिको विषयमा पुनरवलोकन नगरेसम्म केही काम गर्न नसक्ने अवस्था छ । जग्गा विकास कर लगाइनुपर्छ ।

(भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव कार्कीसँगको कुराकानीमा आधारित । उनकाे याे लेख उनकाे याे लेख गाउँबेशी नेटवर्क प्रालिले प्रकाशन गरेको पूर्वाधार समृद्धि म्यागेजिनबाट साभार गरिएको हो )


Read Previous

पहिराले मध्यपहाडी लोकमार्ग ठप्प

Read Next

फोन गर्न अग्लो डाँडामा पुग्नुपर्दैन

Leave a Reply

Your email address will not be published.