काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलका ५ प्रस्ताव (एजेण्डा) समावेश भएका छन् । मन्त्रालयका उच्च अधिकारीका अनुसार सबैभन्दा उच्च प्राथमिकतामा टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने विषयमा समझदारी गर्ने विषयमा दुवै देशका अधिकारीबीच ‘नोट्स’ आदानप्रदान भइसकेको छ ।
त्यस्तै, दोस्रोमा ट्र्याक मात्र खोलिएको ९५ किलोमिटर लामो सिमकोट–हिल्ला सडकखण्डलाई कालोपत्रे गर्नको लागि सम्भाव्यता अध्ययन गर्ने विषयमा पनि दुवै देशका अधिकारीबीच कुराकानी भएर टुंगिएको छ । ‘यी दुई प्रस्तावमा भने समझदारी हुने लगभग निश्चितजस्तै छ’ मन्त्रालय स्रोतले भन्यो ।
भ्रमणको क्रममा नेपालले राख्ने प्रस्तावको तेस्रो नम्बरमा धुलिखेल–तातोपानी सडकलाई स्तरोन्नति तथा मर्मत रहेको छ । चौथोमा खाँदबारी–किमाथांका सडक निर्माण र पाँचौमा खुटिया–दिपायल–चैनपुर–ताक्लाकोट सकड निर्माणको प्रस्ताव गरिएको छ ।
मन्त्रालयका अधिकारीहरुका अनुसार प्रस्ताव गरिएका सबै विषयमा छलफल र नतिजा आउने सम्भावना छैन् । तेस्रोदेखि पाँचौ नम्बरको प्रस्तावमा दुवै देशका अधिकारीबीच पर्याप्त छलफल समेत भएको छैन । ‘यसकारण पनि उत्साहजनक नतिजा आउने आशा छैन’ मन्त्रालयका एक अधिकारीले भने ।
प्रधानमन्त्रीस्तरीय भ्रमणमा सहभागी हुन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र सचिव केशवकुमार शर्मासहितका अधिकारी चीन जादैछन् । मन्त्री ६ असोजमा र सचिवसहितको टोली असोज ७ गते चीन प्रस्थान गर्ने कार्यक्रम छ । प्रस्ताव गरिएका आयोजनाको विभागीय मन्त्री भ्रमण दलमा रहनुले पनि कुनै न कुनै योजनामा समझदारी हुने निश्चित रहेको अधिकारीहरुको भनाइ छ ।
टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनको लागि समझदारी हुने विषय भने नयाँ होइन । यसअघि नै २०७६ असोज (२५ र २६ गते) मा चिनीय राष्ट्रपति सी जिङपिङको दुई दिने नेपाल भ्रमणको बेला नै सम्भाव्यता अध्ययन गर्ने समझदारी भएको थियो । त्यसलाई दोहो¥याउने गरी पुनः समझदारी हुनु चाखलाग्दो छ ।
कस्ता छन समझदारी हुन लागेका आयोजना ?
क) टोखा छहर सुरुङमार्ग
नेपाल र चीनबीचको व्यापारिक दृष्टिकोणले महत्वपूर्ण र रणनीतिक रुपमा हेरिएको काठमाडौंदेखि चीन जोड्ने केरुङसम्मको सडकमार्गलाई द्रुततर बनाउनको लागि यो सुरुङमार्ग निर्माणको अवधारणा ल्याइएको हो । चिनीया राष्ट्रपतिको भ्रमणताका रेलमार्ग निर्माण हुन समय लाग्ने र तत्कालको लागि काठमाडौंदेखि केरुङसम्म दुई वटा सुरुङ निर्माण गरी ११ मिटर चौडाइको ‘डेडिकेटेड’ दुई लेनको सडक बनाउने योजना थियो ।
त्यसरी सुरुङ निर्माण भएपछि काठमाडौंबाट रसुवागढी नाका २ घण्टामा पुग्न सकिने आंकलन थियो । दुई वटा सुरुङमध्ये पहिलो टोखा– छहरे र दोस्रो बेत्रावती–रसुवागढी जोड्ने सडक खण्डमा रहने भनिएको थियो । तर, पछि बेत्रावती–रसुवागढी जोड्ने सडकमा रहने सुरुङ भने सम्भाव्य नभएको कारण रोकिएको थियो । टोखा– छहरे सुरुङमार्गलाई भने अघि बढाउने गरी विषय अघि बढाइयो । काठमाडौंको त्रिपुरेश्वरदेखि नुवाकोटको विदूरसम्म करिब ५० किलोमिटर रहेको र सुरुङ बनाउदा त्यो लम्बाई घटेर ३० किलोमिटरमा आउने अनुमान गरिएको छ ।
यसको लागि २०७६ पुसमा चिनीया प्राविधिक टोली स्थलगत र पूर्वसम्भाव्यता अध्ययन गर्न आएको थियो । ९ सदस्यीय टोली पुसको पहिलो साता नेपाल आएरु माघ महिनामा अध्ययन पूरा गरी फर्किएको थियो । त्यसलगत्तै चीनमा कोरोना महामारी शुरु भयो । चैतसम्ममा अध्ययन प्रतिवेदन बुझाउने भनिएकोमा चैतदेखि नेपालमा समेत लकडाउन शुरु भयो । त्यसपछि त्यो विषय त्यत्तिकै थाती रहेको थियो । प्राविधिक टोलीमा राजमार्ग इन्जिनियर, सुरुङ इन्जिनियर, ट्राफिक सेफ्टी इन्जिनियर, भूगर्भविद्लगायतका सदस्य थिए ।
सुरुङको लम्बाइ निश्चित हुन बाँकी
तत्कालिन समयमा नेपाली पक्षले यो सुरुङमार्गको लम्बाइ ७ किलोमिटर बनाउन प्रस्ताव गरेको थियो । तर, चिनियाँ टोलीले भने ४ किलोमिटर लम्बाइको सुरुङ उपयुक्त हुने प्रस्ताव गर्यो । अहिलेसम्म पनि यसको लम्बाइ स्पष्ट भइसकेको छैन । यो सुरुङले काठमाडौं–नुवाकोट जोड्नेछ । त्यसपछि नुवाकोटका विभिन्न ठाउँ हुँदै गल्छी रसुवागडी सडकअन्तर्गत गंगटेमा जोडिनेछ । गंगटे नुवाकोटको सदरमुकाम विदुरभन्दा केही अगाडि पर्छ । सुरुङ बनेपछि काठमाडौं–गल्छी हुँदै रसुवागढी पुग्ने सडकको समय र लम्बाइ झन्डै आधाले घट्नेछ ।
सुरुङमार्गबाट हुने फाइदा
अहिले बालाजु–त्रिशूली–विदुर जोड्ने सडकको लम्बाइ ६० किलोमिटर छ । बाटो एकदमै अप्ठ्यारो भएकाले ३ घन्टा लाग्छ । नागढुंगा हुँदै गल्छीतिरबाट जाँदा पनि ३ घन्टाभन्दा बढी समय लाग्छ । तर, टोखा–छहरे सुरुङ निर्माण भए १ घन्टामै बिदुर पुगिन्छ । त्यस्तै, सडकको लम्बाइ पनि १२ किलोमिटर छोटिनेछ । त्यस्तै काठमाडौंबाट रसुवागढी नाका पुग्न ६ घन्टा लाग्छ । सुरुङ बनाइए दुई घन्टामै पुग्न सकिन्छ । थानसिंङदेखि त्रिशूलीसम्मको समथर उपत्यकामा बस्ती विकास गर्न सकिनेछ । कतिपय काठमाडौंबाट हटाउनुपर्ने उद्योगलाई स्थानान्तरण गर्न सहज हुनेछ ।
सडक विभागका अधिकारीहरूका अनुसार व्यापारिक तथा भौगोलिक दृष्टिकोणबाट पनि तातोपानीभन्दा रसुवागढी बढी सहज छ । यसका लागि सुरुङले ठूलो सहयोग पु¥याउनेछ । त्यस्तै, गुर्जुभञ्ज्याङमा रहेका साँघुरा घुम्ती र उकालो–ओरालो सडक छलिनेछ । त्यस्ता घुम्ती र उकाला सडकमा हलुका सवारीसाधन र सुरुङबाट हभी सवारीसाधन ओहोर–दोहोर गर्दा सडक अहिलेको जस्तो बिग्रिनेछैनन् ।
ख) सिमकोट–हिल्ला सडकखण्डलाई कालोपत्रे गर्नको लागि सम्भाव्यता अध्ययन
कुल १ सय ९४ किलोमिटरको कर्णाली करिडोरमा पर्ने यस सडक खण्डको ट्र्याक खोल्ने कामको थालनी आर्थिक वर्ष २०६५/६६ देखि नै थालिएको हो । तर, अझै पनि २० किलोमिटर जति ट्रयाक नै खोल्न बाँकी छ । हिल्सा सिमकोट सडक खण्डको लम्बाई ९५ किलोमिटर छ । यो खण्ड सडक विभागअन्तर्गत रहेको छ ।
हिल्सा सिमिकोट सडक आयोजनाअन्तर्गत सल्लीसल्लादेखि सिमिकोट हुँदै हिल्सा (नेपाल–चीन सीमानाका) पुग्ने सडकखण्डको ट्रयाक खोल्ने काम भइरहेको छ । तर, त्यो खण्डमा पर्ने ४ वटा भिरमा विस्फोटक पदार्थ विस्फोट गरेर मात्र ट्रयाक खोल्न सकिने अवस्था छ । ती भिर पोक्चेगौडा, लालीको भिर, सुनाखडा र छारे भिर हुन् । यीमध्ये पनि छारे र सुनाखडा भिर छिचोल्न कठिन भएकाले धेरै विस्फोटक पदार्थ आवश्यक पर्ने देखिएको छ ।