Nepal Purbadhar

मालढुङ्गा–बेनी सडक: सम्झौता अवधि सकिँदा ४० प्रतिशतमात्रै काम


पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम सम्झौता अवधि नाँघीसक्दा जम्मा ४० प्रतिशत मात्र प्रगति भएको छ । सम्झौताअनुसारको काम हुन नसक्दा यो सडक हुँदै आवतजावत गर्ने दैनिक सयौँ सवारीसाधन र हजारौँ यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर आयोजनाअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किमी दूरीको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि वि. सं. २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । दुई वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भए पनि अहिलेसम्म ४० प्रतिशत मात्र काम भएको छ ।

जोमसोमस्थित कालीगण्डकी करिडोर आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार हालसम्म मालढुङ्गा–बेनी सडकको ४० प्रतिशत काम सम्पन्न भएको छ । “विसं २०८० पुससम्म म्याद थप भएको थियो सडक निर्माणका क्रममा विभिन्न बाधा अवरोध सिर्जना भएकाले ढिला भएको हो । सायद यतिबेला सडक निर्माण अन्तिम अवस्थामा पुग्थ्यो होला, ढुङ्गा, गिट्टी, बालुवा अभावले पनि ढिला भएको हो । ” उनले भने ।

निर्माण कम्पनीलाई थप स्रोतको व्यवस्था गरेर अहिले सडकमा सवारीसाधन र यात्रुले पाउँदै आएको समस्या समाधान गर्न निर्देशन दिएको आयोजना प्रमुख प्रजापतिले बताए । “हामी तत्काल अहिलेको समस्या हटाउन लाग्छौँ । खाडल हटाउनका लागि निर्माण कम्पनीलाई कुनै बजेट मिलाएर लगाउँछौँ ।” उनी भन्छन् । प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले मालढुङ्गा–बेनी सडकखण्डमा निर्माण व्यवसायीको लापरबाहीले लामो समयदेखि समस्या देखिँदै आएको बताउँदै सडक सहज बनाउन ताकेता गरिएको जानकारी दिए ।

थप स्रोत व्यवस्था गरेर पनि यात्रुलाई हिँडडुल गर्न र साना तथा ठूला सवारी साधन सञ्चालनमा सहज गराउन भनिएको पनि उनले बताएका छन् । कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन गर्न नपाएको भन्दै निर्माण कम्पनीले झण्डै एक वर्षदेखि धमाधम काम गरेको छैन । थोरै सङ्ख्यामा मजदुर राखेर काम भएको देखाउँदा समयमै सम्पन्न हुन नसकेकोे स्थानीयवासी हरेमबहादुर खत्रीले बताए ।

Facebook Comments

Read Previous

पोखराका स्मार्ट सडक बत्ती उद्घाटन

Read Next

अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुखः अर्थमन्त्री महत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar