भरतपुर । चितवनको भरतपुर महानगरपालिका–२९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । महानगरपालिकाको रु ७१ लाखको लागतमा निर्माण भएको योजनाको सोमबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन् । सिँचाइ सुविधा पुगेपछि गाउँ हराभरा भएको महानगरपालिकाकी प्रमुख दाहालले बताइन् । महानगरपालिकाले सिँचाइलाई प्राथमिकतामा राख्दै काम गर्दैआएको उनको भनाइ छ । ‘कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ । सबै क्षेत्रमा सिँचाई सुविधा पुर्याउन महानगरपालिका लागिपरेको छ,’ दाहालले भनिन् ।
महानगरपालिकाले भूमिगत सिँचाइलाई पनि प्राथमिकता दिइरहेको छ । पाँच वर्षको अवधिमा विभिन्न अयोजनामार्फत समन्वय गरेर सात हजार बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिएको बताइएको छ । सिँचाइ योजनामार्फत जुगेडी, लामा गाउँ, सिमलडाँडा, नेवार गाउँ, चेपाङ टोलदेखि चौतारासम्मका नागरिक लाभान्वित भएको जानकारी उक्त आयोजनाका इन्जिनियर विजयराज न्यौपानेले दिए । मुख्य पाइप लाईन विस्तारमा ४३ लाख रुपैयाँ, ट्याङ्की निर्माणमा २० लाख रुपैयाँ र शाखा पाइपलाईन विस्तारमा आठ लाख रुपैयाँ खर्च भएको छ । आयोजनाको काम २०७८ सालदेखि सुरु भएको हो ।
सिँचाइ सुविधा पुगेपछि व्यवसायीकरुपमा कृषि कर्म थालिएको भार्लाङका चित्रबहादुर गुरुङले बताए । उनी आफै पनि व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेका छन् । विगतमा जेततेन दुई कठ्ठामा मात्र धान रोप्दै आएका गुरुङले अहिले नौँ कठ्ठामा रोपेका छन् । “सिँचाईको अभाव थियो । यहाँ कोदो, मकै, गहत, मास मात्र उब्जनी हुन्थ्यो,’ ट्याङ्की निर्माण गर्न जग्गासमेत दिएका गुरुङले हराभरा भएको खेत देखाउँदै भने “अहिले मकै भाँचेर धान रोपेको छु । धान काटेपछि तरकारी खेती गर्ने योजना छ ।”
सिँचाइ कुलो नहुँदा हिँउदे खेती लगाउन नपाएर पुरै जमिन बाँझो राख्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय भार्लाङ टोल विकास संस्थाका अध्यक्ष मिलन श्रेष्ठले बताए । । पानी अभावका कारण धान नरोप्ने किशानहरुले धान खेती बढाएका छन् । तरकारी खेतीको समेत विस्तारका योजनाहरु पनि अगाडि आएका छन् । भरतपुर महानगरपालिकाको सहयोगमा करिब तीन किलोमिटर दुरीमा रहेको भार्लाङ खोलाबाट बस्तीमा सिँचाइका लागि पानी ल्याइएको छ । खोलाको पानी ट्याङ्कीमा संकलन हुन्छ । ट्याङकीको क्षमता डेढ लाख लिटरको छ । त्यहाँबाट पाईमार्फत किसानको खेत खेतमा पानी पुर्याइएको छ ।