Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा पहिरोको जोखिम   


गलेश्वर । राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी–दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैँ सास्ती हुने गरेको छ ।  सामान्य वर्षा हुँदा पनि सडकमाथिबाट पहिरो खस्ने र सडक तलको जमिन लच्किने समस्याले यी दुई सडकमा यात्रा गर्ने यात्रु र चल्ने सवारीसाधन सधैँ जोखिममा पर्ने गरेका छन् ।

१२ वर्षअघि ट्रयाक खुलेको बेनी–जोमसोम सडक स्तरोन्नतिमा भएको ढिलाइ र कच्ची भूगोलका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढीपहिराका कारण पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको हो । छयात्तर किलोमिटर दूरीको सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि लम्बिँदा पनि समस्या उत्पन्न भएको यातायात व्यवसायीको गुनासो छ ।

कालोपत्र गर्ने लक्ष्यसहित सञ्चालित आयोजनामा भएको ढिलाइले म्याग्दीको उत्तरी क्षेत्रका साथै मुस्ताङका बासिन्दा, पर्यटक र तीर्थयात्रीलाई सास्ती हुने गरेको छ । साँघुरो, जीर्ण, ग्रेड तथा घुम्ती नमिलेको सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । विभिन्न ठाउँमा पहिरो खसेर दैनिक तीन–चारपटक सडक अवरुद्ध हुन्छ । घन्टौँसम्म जाम हुँदा यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन्, ठाउँठाउँमा गाडी परिवर्तन गरेर गन्तव्यमा पुग्नुपरेको यात्रुको गुनासो छ ।

सडक विस्तारका क्रममा निस्किएको माटोको व्यवस्थापन नहुँदा कालीगण्डकीमा बाढी आएर तटीय बस्तीमा कटान गरेको छ । दानाको फगाम, गुइँठे र काभ्रेको बस्ती पहिराको जोखिममा परेको छ । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा सास्ती भएको सवारी चालक टेकबहादुर हर्मेलले बताए । “जीर्ण र पहिराको जोखिमयुक्त सडकमा गाडी चलाउन जोखिम र सास्ती छ”, उनले भने, “सामान्य अवस्था भए बेनीबाट चार घन्टा लाग्ने सडकमा वर्षामा त दुई दिनसम्म लाग्ने गर्छ ।”

म्याग्दीको गलेश्वरबाट मुस्ताङको लेतेसम्मको सडक जोखिमयुक्त भएको यातायात व्यवसायी सुमन श्रेष्ठले जानकारी दिए । “यात्रु र गाडीको चाप बढे पनि सडकको अवस्था बेहाल छ”, उनले भने । २०७४ असारमा ४ वटा प्याकेज (भाग) मा विभाजन गरिएको सडक स्तरोन्नतिका लागि विभिन्न कम्पनीले २ अर्ब ५० करोड रुपैयाँमा ठेक्का लिएका थिए ।

गत शुक्रबारदेखि बेनी–जोमसोम सडकका विभिन्न खण्डमा पहिरो गएपछि यात्रु र यातायात व्यवसायीलाई समस्या भएको छ । म्याग्दीको वैंसरीबाट मुस्ताङको लेतेसम्म सात ठाउँमा पहिरो गएकाले यातायातका साधन अवरुद्ध हुने गरेका यातायात व्यवसायीले बताएका छन् ।

यसैगरी बेनी–दरबाङ सडकखण्डको अवस्था पनि अत्यन्त दयनीय छ । सडकको ट्रयाक खुलेको १८ वर्ष बितिसक्दा पनि पहिराको समस्या समाधान हुनसकेको छैन । २०६२ मा ट्रयाक खुल्नुअघिको पहिराको समस्या रहेको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको सडकखण्ड अहिले सबैभन्दा बढी जोखिमयुक्त बनेको छ ।

पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् । सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिराले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेको यो सडकखण्डका सवारी चालक वीरबहादुर विकले बताए ।

ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको उनकाे भनाइ थियो । “वर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिँदा आवतजावत बन्द हुन्छ”, उनले भने, “फापरखेतको पहिरो बेनी–दरबाङ सडकको दीर्घरोगजस्तो भएको छ ।” उनका अनुसार पहिराबाट खसेको ढुङ्गाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन् ।

जिल्लास्थित पूर्वाधार विकास कार्यालयले कालोपत्रसहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा फापरखेतसहित तीन ठूलो पहिरो छन् । मङ्गला गाउँपालिका–२ को लाम्पाटाको पहिरो पछिल्लो पाँच वर्षयता रोकिएको छ । मालिका गाउँपालिकाको बाङ्गे पहिराले पनि बेलाबेलामा दुःख दिने गरेको स्थानीयले बताउँछन् ।

पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्नेबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए । “फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायोइन्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ”, उनले भने, “ठस्लो पहिरो भएकाले लगानी पनि बढी आवश्यक पर्छ ।”


Read Previous

राष्ट्रिय गौरवका आयोजनाः वर्षाैं बित्दापनि सम्पन्न हुँदैन काम   

Read Next

पूर्वाधार निर्माण उपकरणसहित प्रधानमन्त्री निवासअगाडि निर्माण व्यवसायीकाे धर्ना

Leave a Reply

Your email address will not be published. Required fields are marked *