Nepal Purbadhar

इप्पानको ऊर्जा विकासमा सहजीकरण गर्न माग, ओलीले भने, ‘समाधान गर्न प्रयास गर्छु’


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ऊर्जा विकासमा सहजीकरण गर्न अनुरोध गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओलीलाई भेटेर इप्पानले ऊर्जामा धेरै समस्याहरु रहेको उल्लेख गर्दै ती समस्याहरुको सहजीकरण गर्न आग्रह गरेका छन् । इप्पान अध्यक्ष गणेश कार्कीले पूर्व प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई ज्ञापनपत्र बुझाउँदै ती समस्याहरुको समाधानका लागि सहजीकरण गर्न आग्रह गरे ।

ज्ञापनपत्रमा विद्युत ऐन तत्काल पारित गर्न, संसदबाट ऊर्जा विकास मैत्री कानुन बनाउन, ऊर्जा क्षेत्रमा बैकहरुको लगानी १० बर्षमा २५ प्रतिशत पुर्याउन र सम्पूर्ण आयोजनाहरुको विद्युत खरिद सम्झौता तत्काल गरिदिने व्यवस्था गर्न आग्रह गरिएको छ । निजी क्षेत्रलाई विद्युत व्यापारको वातावरण निर्माण गर्न, वन क्षेत्रको उपयोग र रुख कटानमा सहजीकरण गर्न, विद्युत खपत वृद्धिका लागि आवश्यक पूर्वाधारको व्यवस्था गर्न तथा विष्फोटक पदार्थको अभावलाई तत्काल सहजीकरण गर्न पनि ज्ञापनपत्रमा आग्रह गरिएको छ ।

यसैगरी ज्ञापनपत्रमा २०८० साल जेठ ३२ र असार १ गते आएको बाढीले सञ्चालनमा रहेका १३३ मेगावाटका १३ आयोजना र निर्माणाधीन २७७ मेगावाटका १७ आयोजनाहरुमा बाढीको कारण गम्भीर क्षति भएको बताउँदै यसको पुर्ननिर्माणका लागि पुर्नकर्जा उपलब्ध गराउन, व्यापारिक विद्युत उत्पादनको समय दुई बर्ष थप गर्न, रोयल्टी मिनाहा गर्न, क्षतिग्रस्त आयोजनाको अनुमतिपत्रको अवधि ५० बर्ष कायमका लागि वातावरण निर्माण गर्न आग्रह गरिएको छ । यसैगरी सर्भेयरको प्रतिवेदनको आधारमा विमाबाट ५० प्रतिशत पेश्की दिनका लागि निर्देशन दिने, आयोजना पुनः निर्माणका लागि लिने कर्जा २० बर्षसम्म पुर्नतालिका गर्ने वातावरण निर्माण गर्न पनि ज्ञापनपत्रमा आग्रह गरिएको थियो ।

ज्ञापनपत्र बुझ्दै पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले ऊर्जामा संलग्न भएका निजी क्षेत्रका सबै समस्याहरुको समाधानका लागि आफूले पहल गर्ने बताए । विष्फोटक पदार्थ लगायतका जलविद्युतका समस्या समाधानबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुरा गर्ने पनि सो कार्यक्रममा उनले बताएका थिए ।


Read Previous

पञ्चेश्वरको डिपीआर तीन महिनाभित्रै तयार पार्ने सहमति

Read Next

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar