काठमाडाैं । सरकारले सार्वजनिक गरेकाे आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ फागुनसम्ममा १७ हजार ४ सय ८० किलोमिटर कालोपत्रे, ७,९५६ किलोमिटर ग्रावेल र ८,६६४ किलोमिटर कच्ची सडक गरी हालसम्म संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार १ सय किलोमिटर पुगेको छ। कुल सडकमध्ये कालोपत्रे ५१.३ प्रतिशत, ग्रावेल २३.३ प्रतिशत र कच्ची सडक २५.४ प्रतिशत रहेको छ। २०७९ असारसम्म सडकको कुल लम्बाइ ३३ हजार ९ सय ९६ किलोमिटर रहेको थियो।
चालु आर्थिक वर्षको फागुनसम्म थप १०४ किलोमिटर नयाँ सडक निर्माण भएको छ। यस अवधिमा ३१६ किलोमिटर सडक खण्डास्मित (ग्रावेल) स्तरमा र २४८ किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति भएको छ। साथै,८२५४ किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको छ भने २७८ किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको छ। यस अवधिमा ७५ पुलको निर्माण सम्पन्न भएको छ।
आर्थिक वर्ष २०७८/७९ मा २८० किलोमिटर नयाँ सडक निर्माण भएको थियो। यस अवधिमा ३३५ किलोमिटर खण्डास्मित स्तरमा स्तरोन्नति र ६१८ किलोमिटर कालोपत्रे स्तरमा सडक स्तरोन्नति भएको थियो। साथै, ७,८०० किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको थियो भने २५० किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको थियो। सो अवधिमा २८२ पुलको निर्माण सम्पन्न भएको थियो।
त्यस्तै, पूर्व पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिबास-निजगढ खण्डमा २०७९ असारसम्म ५२.५ किलोमिटर ट्रयाक बेड र ५ रेल्वे पुल निर्माण भएकोमा २०७९ फागुनसम्म ५४.५ किलोमिटर ट्रयाक बेड तथा ७ पुलको निर्माण कार्य सम्पन्न भएको छ।