काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का पदाधिकारीहरूको ३ वर्षिय कार्यकाल पूरा हुनै लाग्दा जलविद्युत उद्यमी किरण मल्लले इपानको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका छन् । जलविद्युत आयोजनाको सिभिल संरचना निर्माण गर्ने नेपालको अग्रणी हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनीका अध्यक्ष समेत रहेका मल्ल इपानको नर्या कार्यसमिति चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा प्रतिस्पर्धामा उत्रिन लागेका हुन् ।
इपानको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षहरूले उमेद्वारी दिने चर्चा चलिरहेका बेला अहिलेको कार्यसमितिमा नरहेका मल्लले अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका हुन् । जलविद्युत क्षेत्रमा ३५ वर्ष लामो अनुभव भएका मल्लले निर्वाचनमा कडा टक्कर दिने सम्भावना देखिन्छ ।
भारतको आइआइटी रुड्कीबाट इन्जिनियरिङ गरेका मल्लले सुरुवातमा हिमालय हाइड्रोसँग जोडिएर जलविद्युत क्षेत्रमा काम गरे । उनी केही समय बुटवल पावर कम्पनी (बिपिसी) को प्रमुख कार्यकारी अधिकृत समेत भए ।
मल्लले लगानी गरेको ३ मेगावाटको मिदिम करापु जलविद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छ । उनले युनियन हाइड्रोपावर कम्पनीको अध्यक्षको जिम्मेवारीमा रही मिदिम खोला आयोजना निर्माण सम्पन्न गरेका हुन् ।
उनी अहिले निर्माणकाे चरणमा रहेकाे २३ मेगावाटको मेवा जलविद्युत आयोजनाको प्रवर्द्धक युनियन–मेवा हाइड्रोपावर कम्पनीका कार्यकारी अध्यक्ष समेत हुन् । साथै, उनकै नेतृत्वमा २८.९ मेगावाको सोलु र ६० मेगावाटको तमोर जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गर्ने चरणमा छन् ।
उनको समेत संलग्नता रहेको समूहले बझाङको कालंगा बेसिनमा ६४ मेगावाटका ३ वटा जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ । यी मध्ये ३८.६ मेगावाटकाे माथिल्लाे कालंगागाड र १५.३३ मेगावाटकाे कालंगागाड जलविद्युत आयोजना निर्माण सम्पन्न भइ प्रसारण प्रणालीमा जाेडिइसकेका छन् । १०.७ मेगावाटकाे सानिगाड जलविद्युत आयोजना प्रसारण प्रणालीमा जाेडिने चरणमा छ ।
अहिले उनले स्थापना गरेको हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनी नेपालमा जलविद्युत आयोजनाकाे सिभिल संरचना निर्माण गर्ने अग्रणी निर्माण कम्पनी पनि हाे । हाइ हिमालयले अहिलेसम्म ३० भन्दा बढी जलविद्युत आयोजनाको सिभिलतर्फको काम गरिसकेको छ । आधा दर्जन बढी आयोजना निर्माणको विभिन्न चरणमा छन् ।
उनले नेतृत्व गरेका जलविद्युत उत्पादन तथा निर्माण कम्पनीको काठमाडौंस्थित कार्यालयमा १ सय जनाभन्दा बढीले प्रत्यक्ष रोजगारीको अवसर पाएका छन् । विभिन्न आयोजनाहरूमा पनि पेराेलमा ३ सय जनाले राेजगारी पाएका छन् ।
विभिन्न आयोजना स्थलमा सहायक-कन्ट्र्रयाक्टर कम्पनीमा सहित गरी थप १५ सय जना भन्दा बढी कामदार र कर्मचारीले पनि रोजगारी पाएका छन् । उनीसँगै अहिले उनका छाेरा छाेरी पनि जलविद्युत व्यवसायमा लागेका छन् ।
मल्ल बाहेक वर्तमान कार्यसमितिका उपाध्यक्षहरू मोहन डाँगी, गणेश कार्की र आशिष गर्ग पनि अध्यक्ष पदका लागि प्रतिश्पर्धामा उत्रने चर्चा छ । २०७७ साल साउन ३ गतेको निर्वाचनबाट वर्तमान कार्यसमिति चुनिएको थियो ।
अगामी कार्यकालदेखि कार्यसमितिमा एक जना वरिष्ठ उपाध्यक्ष रहने व्यवस्था इपानको विधानमा गरिएको छ । विधानअनुसार आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा चयन हुने व्यक्ति अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्नेछ ।