Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो


बेनी । घना जङ्गलको शीरमा रहेको धुरीबाट दन्तेलहरजस्तै हिमाल देखिन्छन् । समुद्र सतहदेखि तीन हजार तीन सय १३ मिटर उचाइमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ ‘मोहरेडाँडा’ बाट देखिने हिमशृङ्खलाको यो दृष्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

दर्जन बढी हिमाललाई एउटै प्राकृतिक भ्यू प्वाइन्टबाट अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय मोहरेडाँडाको अवलोकनका लागि जाने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । वरिपरि गुराँसे जङ्गल भएकाले चैत–वैशाखको यो सिजनमा मोहरेडाँडा क्षेत्र रङ्गीविरङ्गी गुराँसका फूलले चिटिक्क सजिएको छ ।

अभियान्ता डाक्टर महाविर पुनको अगुवाइमा सन् २०११ देखि सञ्चालनमा रहेको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको मोहरेडाँडामा आन्तरिकसँगै बाह्य पर्यटकको समेत आकर्षण बढेको मोहरेडाँडामा सञ्चालित सामुदायिक लजका व्यवस्थापक नविन पुनले बताए । ‘यहाँ आउने पर्यटक लोभिएर फर्कने गर्छन, प्राकृतिक सुन्दरताको छटासँगै रमाउँदा यहाँ आउने जो कोही पनि आफूलाई गौरव ठान्ने गर्छन, पर्यटकको चापले पर्यटन सिजनमा पर्यटकको भार थेग्न मुस्किल हुन थालेको छ’ उनले भने ।

पर्यटकको सुविधाका लागि मोहरेडाँडामा रहेको सामुदायिक लजको क्षमता विस्तार गरिएको छ । पदयात्राका लागि आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्न थालेको मोहरेडाँडामा फ्रान्स, जर्मनी, अमेरिका, रसिया, अष्ट्रेलिया, दक्षिण कोरियालगायतका देशबाट समेत उल्लेख्य मात्रामा पर्यटक आउने गर्छन् । घना जङ्गल र अग्ला पहाड भएर तयार भएको यस क्षेत्रको पदयात्रालाई पर्यटकले ‘साहसिक’ पदयात्राका रुपमा लिने गर्छन् ।

पहिलो पटक मोहरेडाँडा पुग्नुभएका काठमाडौँका सुरज बज्राचार्यले प्राकृतिक भ्यू प्वाइन्टका रुपमा रहेको मोहरेडाँडाको सुन्दरताले आफू लोभिएको बताए । ‘घना गुराँसे जङ्गलको यात्रा निकै रोमाञ्चकृत हुँदोरहेछ, प्राकृतिक छटाले यहाँ आउँदा हुने सबै दुःख बिसाइदिँदो रहेछ, अन्नपूर्ण र धौलागिरि रेञ्जका दन्तेलहर हिमाललाई एकैठाउँबाट नियाल्नुको मज्जा नै छुट्टै भएको अनुभूतिभएको छ’ उनले भने ।

यस डाँडाबाट धौलागिरि, गुर्जा, चुरेन, मानापाथी, टुकुचे, निलगिरी, अन्नपूर्ण, मार्दी, मनास्लु, माछापुच्छ्रे लगायतका करिब दुई दर्जन हिमाललाई अवलोकन गर्न सकिन्छ । डाँडाबाट हिमाल र सूर्योदयको दृष्यले आफूलाई मोहित तुल्याएको पोखराबाट भ्रमणमा आउनुभएका महेश पुनले बताए ।  हिमालसँगै यहाँबाट पोखरा, फेवातालसँगै म्याग्दी, पर्वत र बागलुङका समेत भू–भागलाई अवलोकन गर्न सकिन्छ ।

हिमशृङ्खलाको अवलोकन, ग्रामीण जीवनशैली, रहनसहन र परम्परागत पशुपालन, कृषिसमेत यहाँका थप आकर्षण हुन् । यस क्षेत्रमा गरिने घुम्ती चौरीपालनसमेत पर्यटकको अवलोकनको रोजाइमा पर्नेगर्छ । बस्तीदेखि टाढा र घना जङ्गलको शीरमा रहेको मोहरेडाँडामा विद्युत्का लागि सोलार जडान गरिएको छ ।

यहाँ खानेपानीको मूल नभएकाले जङ्गलमा रहेका मूलबाट खच्चडमार्फत पानी ल्याएर प्रयोग गरिन्छ । क्षमताभन्दा बढी पर्यटक आउँदा मुख्यगरी खानेपानीको अभाव हुने गरेको लजका सञ्चालक पुन बताउँछन । मोहरेडाँडाको भ्रमणका लागि म्याग्दीको बेनीबाट नागी र राम्चे हुँदै आलडाँडा भएर मोहरे, कास्कीको नयाँपुल–उल्लेरी–वनठाँटी–कोखे हुँदै मोहरे, बेनीबाट घोरेपानी–पुनहिल हँुदै मोहरे र पर्वतको मिलनचोक–सालिजा–जलजला–हप्पाल हुँदै मोहरेमा पर्यटक पुग्ने गर्छन् । पछिल्लो समय पुनहिलदेखि मोहरे जोड्ने गुराँस पदमार्ग भएर धेरै पर्यटक मोहरेडाँडा क्षेत्रको भ्रमणमा जाने गरेका छन् । रासस


Read Previous

उद्योग बाणिज्य महासंघको पुँजी बजार फोरम सभापतिमा गुरागाईं

Read Next

कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र ल्याउने गरी काम हुँदै, लाइन नबने ३ सय मेगावाट विद्युत् खेर जाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *