Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

सिंहदरबारको फोहर व्यवस्थापन यसरी गर्न सकिन्छ


फोहर उठेर सिंहदरबार परिसर सफा भइसकेको छ । परिस्थिती अनुकुल भएपछि बिर्सिने नेपालीको पुरानै बानी भएकोले यो घटनाबाट पाठ सिक्नभन्दा बिर्सिने र भोलिको दिनमा आउने यस्तै प्रकारका सम्भावित चुनौतीको सामना कसरी गर्ने भन्ने सम्बन्धमा योजना बनाउनबाट चुक्ने सम्भावना अधिक देखिन्छ । काठमाडौं महानगरपालिका र संघीय सरकारबीच असमझदारी पैदा हुँदा केही समय देशको प्रमुख स्थान प्रधानमन्त्री कार्यालय लगाएत सम्पूर्ण मन्त्रालयहरू, विभिन्न आयोगहरू, विशेष प्रकृतिका कार्यालय सहित रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता कार्यालय परिसरको फोहर व्यवस्थापन हुन सकेन ।

सिंहदरबार देश चलाउने साशक, प्रशासक कुटनितिज्ञ, विज्ञ तथा सल्लाहकार साथै विदेशी पाउनाहरू कामगर्ने वा बारम्बार गइरहनु पर्ने स्थान मात्रै नभएर देश सञ्चालनको केन्द्र विन्दु नै हो । लामो समय फोहोर नउठ्दा प्रदुषण र महामारि फैलने खतरा हुन्छ । तपाईँ हामी कल्पना गराैं त, यदि सिंहदरबार परिसरमा महामारि फैलिँदा के हुन सक्छ ? उत्तर सजिलो छ, त्यहाँ जाने र काम गर्नेहरू बिरामी हुनेछन् । महामारी आफैँमा घातक त छँदै छ, तर पनि, सिंहदरबार परिसर भित्र फैलिने महामारीको प्रभाव अत्यन्त भयानक र घातक हुन सक्दछ । सबै मन्त्रालय, विशेष आयोग र कार्यलयहरूको काम बन्द हुनेछन्, यहाँ सम्मकी, गृह मन्त्रालय जसले विपद र महामारी नियन्त्रण गर्नु पर्छ, त्यस कार्यालयको सेवा पनि प्रभावित हुन्छ । यस्तो महत्त्वपूर्ण स्थानमा महामारी फैलिनु राष्ट्रलाई कुनै विदेशी शत्रु वा आतंकवादीले वायोलोजिकल हतियार प्रहार गरे सरह हुन सक्दछ ।

सर्वोच्च अदालतको निर्णय कार्यन्वयन पश्चात फोहोर उठेको छ । आशा गरौं भविष्यमा यस प्रकारका विवाद उत्पन्न नहोला, तर पनि, महानगरले फोहोर उठाउँदा उठाउँदै ल्याण्ड फिल साइडमा अवरोध भइरहँदा त यो समस्या जीउँका तिउँ नै रह्यो र समस्याको दीर्घकालीन समाधान खे।जिन आवश्यक भइसकेको छ । सिंहदरबार परिसरभित्रको फोहोरलाई परिसरभित्रै व्यवस्थापन गर्नु पर्दछ, नाकि बाहिर लगेर फ्याँकिदिने । अन्तर्राष्ट्रिय जगतमा पनि अत्यन्त संवेदनशिल स्थानहरूको फोहोर त्यही स्थानमा व्यवस्थापन गर्ने गरिन्छ । सिंहदरबारभित्रको फोहोरलाई मुलत दुई तरिकाबाट व्यवस्थापन गर्न सकिन्छ ।

प्रथम वर्गिकरण गरेर र दोस्रो बिना वर्गिकरण गरेर । फोहर वर्गिकरण गर्दा फोहोरको स्रोतमानै वर्गिकरण गर्दा अत्यन्त सरल र सहज हुन्छ । फोहोरको वर्गिकरण नयाँ विषय होइन, यो परम्परा देखि चल्दै आएको हो । परिसर भित्रका क्यान्टिन, रुख विरुवा र फुलवारीबाट निस्कने फुल, पात पतेङ्गर, कार्यलयबाट निस्कने कागजपत्रहरू अर्गानिक फोहोरका प्रमुख स्रोत हुन् । यस्ता अर्गानिक फोहोरलाई Organic Waste composter Machine मा राखेमा १० देखि १५ दिन भित्र पूर्णरूपमा कम्पोष्ट बनाउन सकिनेछ । अन्तर्राष्ट्रिय बजारमा २५ किलो देखि २५ टन प्रतिदिन कम्पोष्ट मल बनाउन सकिने मेसिनहरू पाईन्छ । यसको सुरुवाती मूल्य करिब ४ लाख रुपैयाँ पर्छ । यो मेसिन सामान्य विज्ञान प्रयोग गरेर बनाइएको हुनाले हाम्रो आवश्यकता अनुसार यहीं बनाउन पनि सकिन्छ ।

जैविक फोहोर कम्पोस्ट गर्ने उपकरण

अर्गानिक फोहरबाट बायोइथानोल र वायोडिजेल बनाउने प्रविधिको पनि विकास भइसकेको छ । कम्पोष्ट मल बनाउँदा भन्दा वायोडिजेल वा वायोइथानोल बनाउँदा आर्थिकरूपमा धेरै फाइदा हुन्छ भने वातावरणमा असर गर्ने मिथेन ग्यासको उत्सर्ग पनि कम हुन्छ । प्लाष्टिक काँच, सिसा र धातु जन्य वस्तु पुनः प्रयोग गर्न सकिने सामाग्रीहरू केही समय भण्डार गर्दा पनि जन स्वास्थ्यमा प्रतिकुल असर नपर्ने भएकोले दैनिक रूपमानै डिस्पोज गर्न आवश्यक पर्दैन ।

सिंहदरबार भित्र निस्कने विशेष फोहोर, कार्यालयका चिठ्ठीपत्र, रिर्पोटका ड्राफ्ट कापीहरू, साथै कम्प्युटरका हार्डड्राइभ, चिप्स वा अन्य सुचना सुरक्षित राख्ने पुराना भएका उपकरणहरू । यस्ता कागतपत्र र उपकरणहरू चेक जाँच नगरी बाहिर फालिँदा महत्त्वपूर्ण सुचनाहरू चुहावट हुने सम्भावना रहन्छ । त्यसैले, यस्तो प्रकारका फोहोर परिसर भित्रै व्यवस्थापन गर्नु उचित हुन्छ । उदाहरणको लागि ह्वाइट हाउस लगाएत संयुक्त राज्य अमेरिकाका महत्त्वपूर्ण स्थानको फोहोर त्यही परिसर भित्रै सुरक्षा निकायको निगरानीमा व्यवस्थापन गर्ने गरिएको छ ।

करिब ५० हेक्टर कम्पाउण्डभित्र, सधैँ जसो निर्माण तथा मर्मतको कार्य भईरहने हुनाले ‘कन्सट्रक्सन ओएश्ट’ पनि ठुलै परिमाणमा निस्कने हुँदा यसमा प्रयोग भएका काठ फलामलाई पुनः प्रयोग गरी अन्य फोहोरलाई अरु प्रकृतिका निर्माण कार्यमा प्रयोग गर्न सकिन्छ । फोहोरको बारेमा चर्चा गर्दा बिर्सन नहुने प्लाष्टिक व्यवस्थापन हो । प्लाष्टिक व्यवस्थापन यति गार्हो र जटिल छ कि, यसलाई विश्व व्यापी जलवायु परिवर्तनको मुद्दा बरावर महत्त्व दिन थालिएको छ । अतः यसको डिस्पोज निकै जटिल र सम्वेदनशिल भएकोले सिंहदरबार परिसरलाई प्लाष्टिक मुक्त क्षेत्र राख्न सके मात्रै ८० प्रतिशत प्लाष्टिक जन्य फोहोरको व्यवस्थापन हुन्छ ।

 फाेहाेरबाट विद्युत उत्पादन गर्ने उपकरण 

बिना वर्गिकरण संङ्कलित फोहोरलाई दुई तरिकाले डिस्पोज वा व्यवस्थापन गर्न सकिनेछ । फोहरबाट बिजुली निकालेर वा फोहोरलाई निर्माण सामाग्रीमा प्रयोग गरेर । एक मेट्रिक टन फोहोरबाट करिब ५५० किलोवाट घन्टा विद्युत निकाल्न सकिन्छ । यस हिसाबले सिंहदरबार परिसर भित्रका सबै ठाउँबाट निस्कने करिब २०–२५ टन फोहरबाट दैनिक १२ हजार किलोवाट घन्टा विद्युत सजिलै उत्पादन गर्न सकिन्छ । यसमा अत्याधुनिक प्रविधिको स्टिम टर्वाइन प्रयोग गर्न सकेमा थप ५० प्रतिशतसम्म बढी विद्युत उत्पादन गर्न सकिन्छ । यसरी फोहोरबाट निकालिएको विद्युत हालको ग्राहकले खरिद गर्ने दररेट प्रतियुनिट १३ रुपैयाँ हिसाब गर्दा वार्षिक साढे ८ करोड रुपैयाँ बराबरको विद्युत बचत गर्न सकिन्छ ।

विद्युत उत्पादन गर्दा बाल्ने फोहोरको कारणले वायु प्रदुषणको प्रश्न पनि आउँछ, तर धेरै अनुसन्धानहरूबाट प्रमाणित भइसकेको छ, फोहोरलाई ल्याडफिड साइडमा डम्प गर्दा निस्कने मिथेन र ग्रिनहाउस ग्यासले वायुमण्डलमा गर्ने असर भन्दा विद्युत उत्पादन गर्दा निस्कने कार्वनडाईअक्साइड र कार्बननमोनो अक्साइडले गर्दा हुने असर कम हुन्छ । साथै, फोहोरको विद्युत र कोइलाबाट निस्कने विद्युतसँग तुलना गर्दा कोइला बाल्दा हुने प्रदुषण ३ गुणा भन्दा बढी हुने विभिन्न अनुसन्धानले देखाएको छ ।

फोहोर व्यवस्थापनको अर्को विधि सजिलो त छ, तर त्यती उपयोगी भने छैन । यो विविधमा संकलित फोहोरलाई एकै ठाउँमा राखेर मिडियम तापक्रमको वलमिलमा राखेर धुलो बनाई सडक आदि अन्य संरचनाहरू बनाउन प्रयोग गरिन्छ । यस विधि र विद्युत उत्पादन गर्दा बाँकी रहने धातु जन्य पदार्थ उही स्वरुपमा आउने भएकाले पुनः प्रयोग गर्न सकिन्छ ।

हाम्रो देशमा फोहोर व्यवस्थापन जानकार तथा विज्ञहरू सयौंको संख्यामा छन् । सिंहदरबार परिसर भित्रै रहेको सहरी विकास मन्त्रालयमा धेरै विज्ञहरू हँुदा हँुदै पनि फोहोर व्यवस्थापन एउटा ठुलो चुनौतीकोरूपमा आउनु दुखःद पक्ष हो । अब प्रविधिको सहयोगमा यो चुनौतीलाई सम्भावनामा बदल्ने समय आइसकेको छ । सिंहदरबार परिसर भित्रै हाललाई पाइलट प्रोजेक्टकोरूपमा विकास गरी भविष्यमा ठूलो आयोजनाको स्वरुपमा कार्यन्वयन गर्न सजिलो हुनेछ । अतः फोहोरलाई मोहोरमा बदल्न अब ढिलो नगरी लागौं ।

(पेशाले इन्जिनियर थापा इपि सेन्टर इन्जिनियरिङ साेलुसन प्रालिका अध्यक्ष हुन् ।)


Read Previous

विद्युत प्राधिकरणमा चुनावी सरगर्मी, कर्मचारी ट्रेड युनियनहरू प्रचार प्रसारमा

Read Next

हरित हाइड्रोजनको प्रगति ऊर्जा मन्त्री समक्ष पेश,नीति चाँडै ल्याउने बस्नेतको प्रतिबद्धता

Leave a Reply

Your email address will not be published.