काठमाडौं । अर्थ मन्त्री प्रकाशसरण महतले निजी क्षेत्रका लागि आन्तरिक तथा अन्तरदेशीय विद्युत व्यापार गर्ने ढोका खुल्ला गर्न सरकार सकारात्मक रहेको बताएका छन् । ऊर्जा सम्मेलन २०२३ को अन्तिम दिन बुधबार बोल्दै मन्त्री महतले निजी क्षेत्रको लगानीका कारण आज उत्पादनमा आत्मनिर्भर बन्न अवस्थामा पुगेकाले अब व्यापारका लागि पनि ढोखा खोल्ने प्रतिबद्धता जनाए ।
‘निजी क्षेत्र जलविद्युत उत्पादनमा प्रवेश गर्दा ५ मेगावाटसम्मका आयोजनामा लगानी गर्न सक्ने अवस्था थियो,’ उनले भने, ‘आज सय मेगावाटमाथिका आयोजना बनाउन सक्ने सामार्थ्य भएको छ । उत्पादनमा सफल भइसकेकाले अब व्यापारका लागि पनि अनुमति दिन सरकार तयार छ ।’
उनले नेपालको विद्युत भारतसँगै बंगलादेशको बजारसम्म पुर्याउने योजनामा काम भइरहेको हुँदा सरकार, अर्थमन्त्रालय, ऊर्जा मन्त्रालय विद्युत निर्यातको संयन्त्र बनाइरहेको बताए । जलविद्युत उत्पादनमा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताउँदै अर्थमन्त्री महतले यो क्षेत्रमा राम्रो सम्भावना देखेर नै ठूलो लगानी आएको बताए । उनले ठूला आयोजना निर्माणमा स्वदेशी लगानीकर्ताको लगानी पर्याप्त नहुने हुँदा विदेशी लगानीकर्ताको लगानी ल्याउन सहजिकरण गर्न सरकार तयार रहेको बताए ।
एसियाली विकास बैंक र विश्व बैंक २ वटा ठूला जलाशय जलविद्युत आयोजनामा लगानी गर्न सकारात्मक देखिएको पनि उनले बताए । मन्त्री महतले आन्तरिक विद्युत खपत बढाउन विद्युतीय सवारी साधन तथा विद्युतीय चुलोको प्रवद्र्धन गर्ने नीति सरकारले लिएको बताए ।
‘उत्पादन बढ्दै गएकाले अब हरेक घरको भान्छा र यातायात क्षेत्रलाई हरित ऊर्जामय बनाउनु पर्ने समय आएको छ । मन्त्रालयको प्राथमिकतामा यातायात क्षेत्र र ग्यासलाई हरित ऊर्जामा रुपान्तरण गर्ने योजना छ’, उनले भने ।
उनले घरायसी ग्राहकको भान्छाको ग्यास र पेट्रोलियम ऊर्जा हरित ऊर्जाले प्रतिस्थापन गर्दा नै आन्तरिक खपत बढ्न गई व्यापार घाटा पनि कम हुने उनको भनाइ छ । उनले अहिले निजी क्षेत्रले जलविद्युत उत्पादनमा भोग्दै आएको समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
अहिलेको मुख्य समस्या खास गरी प्रसारण लाइनको पूर्वाधर निर्माणमा रहेको बताउँदै महतले यी प्रकारका समस्या समाधानमा मन्त्रालय गम्भिर रहेको बताए । ‘आन्तरिक र प्रस्तावित अन्तरदेशीय उच्च क्षमताका प्रसारण लाइन आयोजना निर्माणलाई गति दिन प्रदेश र स्थानीय तहसँग समन्वय गरेर जान मन्त्रालय तयार छ । जसले गर्दा प्रसारण लाइन निर्माणलाई फास्ट ट्र्याकमा निर्माण गर्न सहज हुनेछ’ उनले भने ।
नेपालको अर्थतन्त्र माथि उकास्नका लागि पनि सरकारले सधैं निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्ने उनले बताए ।