Nepal Purbadhar

विद्युत् प्रयोग बढाएर अर्थतन्त्रमा सुधार गर्न सकिने


काठमाडाैं । प्रदेश नं १ का खानेपानी, सिँचाइ, तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले मुलुकको अर्थतन्त्र सुधारका लागि विद्युत् अधिकतम प्रयोग गर्नुपर्ने बताएका छन् । खाना पकाउनदेखि सवारीसाधनमा समेत विद्युत् प्रयोग बढाउनसके अर्थतन्त्रमा गुणात्मक सुधार आउन सक्नेमा उनले जाेड दिए ।

प्रेस चौतारी नेपाल ताप्लेजुङ शाखाले सदरमुकाम फुङ्लिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री मेन्याङ्बोले विद्युतीय उपकरणको प्रयोग र चार्जिङ स्टेशन विस्तार गर्ने विषय आफ्नो प्राथमिकतामा परेको स्पष्ट पारे ।

विद्युतीय सवारीसाधन र विद्युतीय चुल्होको प्रयोग बढाउनसके पेट्रोलियम पदार्थका लागि ठूलो रकम खर्च गर्न नपर्नेमा जोड दिँदै उनले आफ्नै देशमा हुने विद्युत् खपतले अर्थतन्त्रमा सुधार आउनाका साथै यसले वातावरण स्वच्छ राख्नसमेत मद्दत पुग्ने उनकाे भनाइ थियो ।

विद्युतीय सवारीसाधनको प्रयोग बढाउनका लागि प्रदेशभरका जिल्लामा चार्जिङ स्टेशन विस्तार गर्ने योजनामा आफू रहेको र यस्तै स्वच्छ तथा गुणस्तरीय खानेपानीे उपलब्ध गराउन पनि आफूले ध्यान दिएको मन्त्री मेन्याङ्बोले बताए । कुनकुन क्षेत्रमा खानेपानीको अभाव र मुहान उपलब्ध छ भन्ने तथ्याङ्क लिएर सोहीअनुसार प्रदेश सरकारले योजना बनाउने पनि उनले जोड दिए ।

मन्त्री भएपछि पहिलो पटक गृह जिल्लाका पत्रकारसँग कुराकानी गर्ने क्रममा मन्त्री मेन्याङ्बोले प्रदेशको नामकरणलगायत विषय टुङ्ग्याउन पनि हालको सरकार र सदन प्रयासरत रहेको जानकारी दिए ।


Read Previous

अब सडकमा खनेका खाल्डाखुल्डी १० दिनभित्र पुरिसक्ने

Read Next

उपत्यकामा प्रतिघण्टा ५० किमिभन्दा बढी गतिमा सवारी साधन चलाउन नपाइने