Nepal Purbadhar

सर्वेक्षणमा सहभागीमध्ये ८४.६ प्रतिशत उपभोक्ताको मूल्य वृद्धि हुने अपेक्षा : राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को दोश्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ ।

कुल २ हजार १० जना उत्तरदाताहरुसँग गरिएको सर्वेक्षणमा आधारित नतिजामा ८४.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् ।

त्यसैगरी, ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । अबको तीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा घटेको छ ।

खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा बढेको छ ।

गैर–खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा केही घटेको छ ।

खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध तथा घ्यू; पेय पद्घार्थ तथा सूर्ती र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूह, गैर–खाद्य तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको एक वर्षमा मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूका हिस्सा असोज, २०७९ को तुलनामा घटेको छ ।

तीन महिनापछि र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति २०७९ असोजको तुलनामा समान रहेको छ भने तीन महिना पछिको औसत र एक वर्ष पछिको औसत अपेक्षित मुद्रास्फीति घटेको छ ।

तीन महिना र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२ प्रतिशत रहेको छ । यो सर्वेक्षण २०७९ पौष २४ देखि पौष ३० सम्म ६० बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तरवार्तामार्फत सम्पन्न गरिएको थियो ।


Read Previous

नयाँ गन्तव्य बन्दै धौलागिरि चक्रिय पदमार्ग

Read Next

खानेपानीको समस्या समाधान गर्न दीर्घकालीन योजना आवश्यक