
काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को सात महिनामा सरकारी बजेट खर्च ३७ दशमलव २२ प्रतिशत बराबर देखिएको छ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार माघ मसान्तसम्म सरकारले ६ खर्ब ६७ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबर बजेट खर्च गरेको हो। यो अवधिमा चालू खर्च वार्षिक विनियोजनको ४४ दशमलव ९२ प्रतिशत बराबर छ। चालू आर्थिक वर्षका लागि चालूगत शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड विनियोजन भएकोमा माघ मसान्तसम्म पाँच खर्ब ३१ अर्ब ५० करोड रुपैयाँ बराबर खर्च भएको देखिएको हो।
पुँजीगततर्फ चालू आर्थिक वर्षका लागि तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबर विनियोजन भएकोमा सात महिना अवधिमा वार्षिक विनियोजनको १७ दशमलव ४३ प्रतिशत अर्थात् ६६ अर्ब २९ करोड रुपैयाँ ८४ लाख बराबर मात्रै खर्च भएको छ।
त्यस्तै, वित्तीय व्यवस्थापन शीर्षकमा चालू आर्थिक वर्षका लागि दुई खर्ब ३० अर्ब रुपैयाँ बराबर बजेट छुट्याइएकोमा वार्षिक विनियोजनको ३० दशमलव ३४ प्रतिशत बराबर खर्च भएको छ। जुन ६९ अर्ब ८५ करोड ८० लाख रुपैयाँ बराबर रहेको छ । वित्तीय व्यवस्थापनतर्फको बजेट सरकारी ऋणको साँवा र ब्याज तिर्नका लागि प्रयोग हुन्छ।
यस अर्थमा चालू आवको सात महिनामा सरकारी ऋणको साँवा ब्याज भुक्तानीमा भएको खर्च भन्दा पुँजीगत खर्च कम देखिएको छ। सात महिना अवधिमा सरकारको राजस्व संकलन ३८ प्रतिशत बराबर छ। चालू आवका लागि कूल १४ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँ बराबर राजस्व असुली गर्ने सरकारको लक्ष्य छ। तर माघ महिनासम्म पाँच खर्ब ५४ अर्ब २३ करोड ६१ लाख रुपैयाँ बराबर मात्रै राजस्व उठेको छ।
चालू आवका लागि सरकारले ५५ अर्ब ४५ करोड ८३ लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेकोमा माघ मसान्तसम्ममा लक्ष्यको आठ दशमलव ६६ प्रतिशत अर्थात् चार अर्ब ८० करोड २० लाख बराबर रुपैयाँ अनुदान आएको छ।
 
								 नेपाल पूर्वाधार
                        नेपाल पूर्वाधार         
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    








