काठमाडौं । उपप्रधानमन्त्री एवं उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै आयोजनाप्रति जिम्मेवार बनाउनु पर्ने धारणा व्यक्त गरेका छन् ।
निर्माण उद्योगको पछिल्लो समस्या र समाधानका उपायबारे जानकारी गराउन पुगेको नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्री लिङ्देनले उक्त धारणा व्यक्त गरेका हुन् ।
सबै निर्माण व्यवसायीले काम पाउनु पर्छ भन्ने मान्यता राख्दै उनले क्रसर उद्योग बन्दकाे कारण निर्माण उद्योगमा देखिएको समस्या चाँडै समाधान हुने जानकारी गराए । महासंघका अध्यक्ष रवि सिंहले क्रसर उद्योग संचालनमा देखिएको समस्याले निर्माण कार्य ठप्प रहेको बताए ।
निरन्तरको मूल्यवृद्धिका कारण थलिएको निर्माण उद्योगलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भए बमोजिम २० प्रतिशत मोबिलाइजेशन पेश्की व्यवसायीले पाउनु पर्ने अध्यक्ष सिंहले माग गरे । व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा सप्लाई चेनमै गम्भीर समस्या देखिएकोप्रति अध्यक्ष सिंहले उपप्रधानमन्त्री लिङ्देनको ध्यानाकर्षण गराए ।
निर्माणाधीन आयोजनाहरू सम्पन्न भएपछि मात्र नयाँ आयोजनाको ठेक्का लगाउन र ५ प्याकेजको व्यवस्थालाई अझ व्यवस्थित बनाउन अध्यक्ष सिंहले आग्रह गरे । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.) ले व्यवसायीहरूले भुक्तानी पाएमा त्यसको फाइदा राज्यलाई नै हुने तर्क राखे । महासंघका महासचिव रोशन दाहालले रकमान्तर गरेर भएपनि भुक्तानीको समस्या समाधान गर्नुपर्ने उल्लेख गरे ।
महासंघ प्रतिनिधिमण्डलमा महासंघ अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.), महासचिव रोशन दाहाल, महासंघ कार्य समिति सदस्यहरू दानबहादुर खड्का, उज्जवल गौतम, यज्ञबहादुर खत्री, सुशील कुमार श्रेष्ठ र कार्यालय प्रमुख प्रेमसिंह ऐर रहेका थिए ।