काठमाडौं । दिगो भविश्यका लागि शतप्रतिशत नवीकरणीय ऊर्जाः नीति, अभ्यास र अनुभव विषय अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा सुरु भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, प्राकृतिक स्रोत केन्द्र तथा डब्लुडब्लुएफको संयुक्त आयोजनामा राजधानीको होटल याक एण्ड यतिमा सम्मेलन सुरु भएको हो ।
नवीकरणीय ऊर्जाको प्रयोग तथा जलवायु परिवर्तनबारे भइरहेका अन्तर्राष्ट्रिय अभ्यास, सिकाई र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको प्राकृतिक स्रोत केन्द्रका कार्यक्रम निर्देशक राजु पण्डितले बताए । उनका अनुसार सोमबारसम्म चल्ने सम्मेलमा विश्व तापक्रम वृद्धिदर लाई १.५ डिग्री सेल्सीयसमा नियन्त्रण गर्दै दिगो विकास लक्ष्य प्राप्ति गर्न खनिज इन्धनको प्रयोगलाई घटाउनु पर्ने हुँदा नवीकरणीय ऊर्जालाई भरपर्दाे विकल्पकोरूपमा उपयोग गर्नेबारे छलफलहरू भइरहेका छन् ।
सोमबारसम्म चल्ने सम्मेलनमा खनिज इन्धनको प्रयोगलाई क्रमसः घटाउँदै जलविद्युत, सौर्य ऊर्जा लगायतका नवीकरणीय ऊर्जाको उत्पादन र उपयोग बढाउँदा आर्थिक, वातावरणीय र मानवीय स्वास्थ्यलगायत बहुआयामिक क्षेत्रमा नेपाललाई फाइदा पुग्ने विषयमा पनि छलफल तथा अन्तरक्रिया हुँदैछन् ।
अहिले नेपालमा कूल ऊर्जा खपतको ३ प्रतिशतमात्रै नवकरणीय ऊर्जाको उपयोग भइरहेको छ । जलविद्युत ऊर्जालाई समेत समेट्दा कूल ऊर्जा खपतको ८ प्रतिशत नवीकरणीय ऊर्जा उपयोग हुँदै आएको छ । कूल खपतको करिब ६५ प्रतिशत हिस्सा अहिले पनि जैविक ऊर्जाको छ भने २७ प्रतिशत आयातित खनिज इनधन खपत भइरहेको तथ्यांकले देखाउँछ ।
विगत १० वर्षको तथ्यांकलाई हेर्ने हो भने नेपालमा खनिज इन्धनको प्रयोग डरलाग्दो रुपमा बढ्को छ । खनिज इन्धनको उच्च प्रयोगले देशको आर्थिक भार बढेको छ । गत आर्थिक वर्षमा मात्रै नेपालमा नेपाली रुपैयाँ ३.८३ खर्ब बराबरको खनिज इन्धन आयात गरिएको थियो । जुन नेपाल सरकारको गत वर्षको वार्षिक बजेटको २३ प्रतिशत रहेको छ । नवीकरणीय ऊर्जाको उत्पादन र उपयोगलाई बढोत्तरी गर्न राष्ट्रिय अभियान जरुरी छ ।
विश्व नै नवीकरणीय ऊर्जाको खपत बढाउन लागिरहेका बेला नेपालले पनि जलविद्युत र सौर्य ऊर्जा प्रयोग बढाउने नीति अगाडि सारेको छ । नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा नवीकरणीय ऊर्जाको जडित क्षमता करिब २३ सय मेगावाट पुगेको छ । प्रसारण प्रणालीमा नजोडिएको (अफग्रिड) ७७ मेगावाट विद्युत उपयोग भइरहेको छ ।
नवीकरणीय ऊर्जा उत्पादनलाई प्रवर्द्धन गर्दै सन् २०३० सम्ममा विद्युत जडित क्षमता १५ हजार मेगावाट पुर्याउने सरकारी लक्ष्य छ । जसमा १० देखि १५ प्रतिशत लघु जलविद्युत, सौर्य ऊर्जा, वायु लगायतका नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन गर्ने भनिएको छ ।
सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पण्डितले नवीकरणीय ऊर्जाको उत्पादन र उपयोग सँगसँगै खनिज इन्धन प्रतिस्थापनको योजना पनि निर्धारण गर्नुपर्ने बताए । उनले नेपालले सन् २०५० सम्ममा खनिज ऊर्जाको प्रयोगलाई नवीकरणीय ऊर्जाले शतप्रतिशत प्रतिस्थापन गर्ने लक्ष्य निर्धारण गर्नु पर्नेमा जोड दिए ।
खनिज इन्धन प्रतिस्थापन गर्दा यसबाट गरिब तथा विपन्न समुदायहरूलाई पर्नसक्ने आर्थिक र सामाजिक असरहरूको न्युनीकरण र न्यायिक सम्बोधन हुनु पर्ने पनि उनले बताए । उनले प्राकृतिक स्रोत केन्द्रले डब्लुडब्लुएफसँगको सहयार्कमा सन् २०२० देखि नै ‘१०० प्रतिशत नवीकरणीय ऊर्जाका लागि बहुसरोकार साझेदारी’ परियोजना कार्यान्वनय गरिरहेको जानकारी दिए ।
सम्मेलनलाई सम्बोधन गर्दै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी ‘शतप्रतिशत नवकरणीय ऊर्जा, नीति अभ्यास र अनुभव’ अन्तर्राष्ट्रिय सम्मेलनमार्फत् नेपालले नवीकरणीय ऊर्जा र जलवायु परिवर्तनका क्षेत्रमा गरेका प्रयासहरुलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने अवसर प्राप्त हुने बताए ।
उनले विश्वका अन्य देशहरूमा ऊर्जाका क्षेत्रमा प्रयोग गरेका नवीनतम प्रविधि र प्रयोगकाबारेमा जान्न र सिक्नको लागि यो सम्मेलन फलदायी हुने धारणा राखे । डब्लुडब्लु नेपालका राष्ट्रिय निर्देशक घनश्याम गुरुङले नवकरणीय ऊर्जा प्रयोगलाई उच्च प्राथमिकतामा राख्न सरकार, नागरिक समाज, निजी क्षेत्रले संयुक्त रुपमा काम गर्नुपर्ने बेला आएको बताए ।
उनले शतप्रतिशत नवीकरणीय ऊर्जा परियोजनाको अवधारणालाई आत्मसाथ गर्दै नेपालमा ऊर्जा क्षेत्रमा कार्यरत सरोकारवालाहरूबीच नवीनकरणीय ऊर्जाको प्रवद्र्धनका लागि संवादका कार्यक्रमहरू संचालन गर्दै बताउँदै गुरुङ ‘यस अन्तर्राष्ट्रिय सम्मेलनले पनि नवकरणीय ऊर्जाको आवश्यकता र सन्दर्भमा सरोकारवालाहरुलाई थप जागरुक बनाउने’ विश्वास व्यक्त गरे ।
सम्मेलनमा संघिय, प्रादेशिक, र स्थानीय सरकारका ऊर्जा सम्बद्ध सरोकारवाला निकायहरू, नीजि क्षेत्र, बैंक तथा वित्तिय संस्था, अन्तर्राष्ट्रिय/राष्ट्रिय गैरसरकारी संघसंस्थाहरूसँगै दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, अफ्रीका र युरोपका १६ देशहरुबाट प्रतिनिधिहरूको सहभागिता छ । सम्मेलनमा सहभागी हुने विज्ञ प्रतिनिधिरू सम्बन्धित देशका सरकारी प्रतिनिधि, नवकरणीय ऊर्जाका क्षेत्रमा कार्यरत प्राविधिक व्यक्तित्व, विश्वविद्यालयका प्राध्यापक र ऊर्जा सम्बद्ध सरोकारवालाहरू हुन् ।
विश्व तापमानलाई १.५ डिग्री सेल्सियसभन्दा बढी बढ्न नदिने लक्ष्यसहित जलवायु परिवर्तन नियन्त्रणका प्रयासहरू भइरहेका छन् । नेपालले पनि सन् २०४५ सम्ममा कार्बन उत्र्सजनलाई शून्यमा (नेट कार्बन उत्सर्जन शून्य) झार्ने लक्ष्य लिएको छ ।