Nepal Purbadhar

चेपेखोलाबाट विद्युत उत्पादन सुरु, ८.६ मेगावाट विद्युत प्रसारण प्रणालीमा थप


काठमाडौं । लमजुङमा निर्माण सम्पन्न ८.६ मेगावाटको चेपेखोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । आशुतोष इनर्जी कम्पनीले निर्माण गरेको आयोजनाले मंगलबारबाट विद्युत उत्पादन सुरु गरेको हो ।

आयोजनाले अहिले परीक्षण उत्पादन गरिरहेको प्रवद्र्धक कम्पनीका अध्यक्ष मोहनबिक्रम कार्कीले बताए । उनका अनुसार अबको २ सातासम्म परीक्षण उत्पादन गरेपछि व्यापारिक उत्पादन सुरु गरिनेछ ।

‘नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले परीक्षण गरेपछि आयोजनाको विद्युत प्रणालीमा थपेका छौं,’ उनले नेपाल पूर्वाधारसँग भने,‘अहिले आयोजनाले पूर्ण क्षमतामा नै विद्युत उत्पादन गरिरहेको छ । उत्पादित विद्युत विद्युतगृहदेखि २१ किलोमिटर दुरीको १३२ केभी कीर्तिपुर सबस्टेसनमा लगेर जोडेका छौं।’

आयोजनाको संरचना निर्माण थालेको करिब १८ महिनामा सम्पन्न भई विद्युत उत्पादन सुरु गर्न सफल भएको कार्कीले जानकारी दिए । यो आयोजना सम्पन्न हुँदा प्रतिमेगावाट १७ करोड ३८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिए पनि यो भन्दा कम लागतमा नै पूरा भएको उनले बताए ।

 

यो आयोजनाको सफल निर्माणपछि अन्य आयोजनामा थप लगानीका लागि प्रोत्साहन मिलेको कार्कीले बताए । कूल लागतको ७५ प्रतिशत बैंकको ऋण तथा २५ प्रतिशत स्वपुँजी लगानीमा आयोजना सम्पन्न भएको हो । आयोजनामा एनएमबी बैंकको एकल लगानी छ । बैंकले १ अर्ब १२ करोड रुपैयाँ आयोजनामा ऋण लगानी गरेको छ ।

इलामस्थित सुपर माई जलविद्युत आयोजनामा लगानी गर्ने समूहले नै यो आयोजनामा पनि लगानी गरेको छ । याे समूहले सुपर माई ए र सुपर माई क्यासकेड आयोजना पनि निर्धारित समय र लागतभन्दा अगाडि सम्पन्न गरेकाे थियाे । तर, अहिले यी दुवै आयोजना ङादी ग्रुप पावर कम्पनीले खरिद खरिसकेकाे छ ।

यो आयोजना २०७८ चैतमा सम्पन्न गर्ने तालिका रहेकोमा कोभिड–१९ महामारी तथा प्रसारण लाइनको समस्याका कारण तोकिएको अवधिभित्र सम्पन्न हुन सकेको थिएन । आयोजनाले वार्षिक ५१.५७ गिगावाट घन्टा विद्युत प्रसारण प्रणालीमा योगदान गर्नेछ ।


Read Previous

निजी क्षेत्र प्रोत्साहित हुने गरी काम गर्छु : महानिर्देशक चटौत

Read Next

मनास्लु हिमाल चढ्ने आकर्षण, आरोहण अनुमति लिनको संख्या साढे ४ सय नाघ्यो