काठमाडौं । सौर्य ऊर्जा प्रविधिबाट उत्पादन भएको विद्युतको जडित क्षमता साढे ४३ मेगावाट पुगेको छ । व्यापारिक विद्युत उत्पादन गर्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रले लगानी गरी निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएका सौर्य विद्युत आयोजनाबाट यति विद्युत उत्पादन भइरहेको हो ।
यो तथ्यांकमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एइपिसी) को आर्थिक अनुदान सहयोगमा दुर्गम क्षेत्रको विद्युतीकरणका लागि जडान भएको सौर्य ऊर्जा प्रणालीको विद्युत समावेश छैन । विभिन्न जिल्लामा निर्माण भएका मिनि ग्रिड सौर्य विद्युत आयोजनाको विद्युत पनि समावेश छैन ।
अहिलेसम्ममा व्यापारिक विद्युत उत्पादन गर्ने उद्देश्यले निर्माण पूरा भएका १० वटा सौर्य विद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा आएको प्राधिकरण विद्युत व्यापार विभागले जनाएको छ । विभागका अनुसार प्रणालीमा जोडिएका सौर्य विद्युत आयोजना रुफटपको ४ सय किलोवाटदेखि १० मेगावाटसम्मका छन् ।
प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरी निर्माण सम्पन्न भएका १० मेगावाटको मिथिला, ८.५ मेगावाटको बुटवल, ५ मेगावाटको बेलचौतारा, ४ मेगावाटको चन्द्रनिगाहपुर, १ मेगावाटको ढल्केबर, ३ मेगावाटको ढल्केबर–२ सौर्य विद्युत आयोजनाले व्यापारिक उत्पादन गरिरहेका छन् । प्राधिकरणले निर्माण गरेको १० मेगावाट सौर्य विद्य्ुत पनि प्रसारण प्रणालीमा जोडिएको छ । ४ सय किलोवाट विद्युत भक्तपुरको बालकोटस्थित रुफटप सोलारको हो ।
मिथिला सौर्य विद्युत आयोजना इको पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरेको हो । धनुषामा निर्माण सम्पन्न भएको यो सौर्य विद्युत आयोजनाले २०७७ चैतदेखि व्यापारिक उत्पादन सुरु गरेको हो । मिथिलाकै प्रवर्द्धक कम्पनीले धनुषमै १० मेगावाटको मिथिला–२ सौर्य विद्युत आयोजना पनि निर्माण गर्दैछ ।
बुटवल सौर्य विद्युत आयोजना रिडी हाइड्रो पावर कम्पनीले निर्माण गरेको हो । जलविद्युतमा लगानी गर्दै आएको कम्पनीले निर्माण गरेको यो नै पहिलो सौर्य विद्युत आयोजना हो । बुटवल आयोजनाले २०७७ कात्तिकदेखि व्यापारिक विद्युत उत्पादन गरिरहेको छ ।
५ मेगावाटको बेलचौतारा सौर्य विद्युत आयोजना पनि प्राधिकरणको प्रसारण प्रणालीमा आइसकेको छ । सोलार फार्म प्रालिले तनहुँमा निर्माण गरेको यो सौर्य विद्युत आयोजनाले गत कात्तिक १ गतेबाट व्यापारिक उत्पादन सुरु गरी प्राधिकरणलाई विद्युत बिक्री गरिरहेको छ ।
यस्तै, अपि पावर कम्पनीले ४ मेगावाटको चन्द्रनिगाहपुर र १ मेगावाटको ढल्केबर सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गरी प्रणालीमा जोडेको छ । जलविद्युतमा अरबौं रुपैयाँ लगानी गरेको अपिले सौर्य विद्युत आयोजनामा पनि लगानी गरेको हो । अपिको लगानी रहेको १ मेगावाटको अर्को सौर्य विद्युत आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेको छ ।
सगरमाथा इनर्जी एन्ड कन्ष्ट्रक्सन प्रालिले ३ मेगावाटको ढल्केबर सौर्य विद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको हो । यो सौर्य विद्युत आयोजनाले २०७८ फागुन २१ गतेदेखि व्यापारिक विद्युत उत्पादन गरिरहेको छ ।
यसैगरी, विष्णुप्रियाको १ मेगावाट, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको ६ सय ८० किलोवाट र रुफटप सोलारको ४ सय किलोवाट विद्युत पनि प्राधिकरणले खरिद गर्दै आएको छ । विद्युत प्राधिकरणले नुवाकाेटमा निर्माण गरिरहेको २५ मेगावाटको सौर्य विद्युत आयोजनाको १० मेगावाट विद्युत प्रणालीमा जोडिएको छ ।
लागतका हिसाबले जलविद्युतभन्दा सस्तो र कम समयमा निर्माण सम्पन्न गर्न सकिने हुँदा सौर्य ऊर्जामा लगानी आकर्षण बढिरहेको छ । विद्युत विकास विभागको तथ्यांकअनुसार १ सय १८ मेगावाटका १९ जलविद्युत आयोजना उत्पादन अनुमतिपत्र लिई निर्माणको विभिन्न चरणमा छन् । १ हजार ५८ मेगावाटका ३० सौर्य विद्युत आयोजना अहिले अध्ययनको चरणमा छन् ।
यी आयोजनाका प्रवर्द्धक कम्पनीले विभागबाट अनुमतिपत्र लिई अध्ययन गरिरहेका छन् । ३४.५९ मेगावाटका ६ आयोजनाका प्रवर्द्धक कम्पनीले अध्ययन पूरा गरी उत्पादन अनुमतिपत्र लिन विभागमा आवेदन दिएका छन् । अरु ३९ कम्पनीले ६ सय ९ मेगावाटका आयोजना अघि बढाउन अध्ययन अनुमतिपत्रका लागि आवेदन दर्ता गराएको विभागले जनाएको छ ।
विद्युत प्राधिकरणले अहिलेसम्ममा २१ सौर्य विद्युत आयोजनासँग पिपिए गरेको छ । पिपिए भएका आयोजनाको विद्युत खरिद–बिक्री दर प्रतियुनिट ७.३० रुपैयाँ छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७४ माघ २५ मा स्वीकृत गरेको ‘ग्रिड कनेक्टेड वैकल्पिक ऊर्जा विकाससम्बन्धि कार्यविधि, २०७४ मा यो पिपिए दर उल्लेख थियो । मन्त्रालयले निर्धारण गरेको यो पिपिए दर विद्युत प्राधिकरणको २०७५ असार २६ को सञ्चालक समिति बैठकले कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
विद्युत प्राधिकरणले प्रविधिका हिसाबले सौर्यको विद्युत उत्पादन लागत कम हुँदै गएको तथा जनतालाई सहुलियत दरमा विद्युत उपलब्ध गराउन, विद्युत खरिदलाई प्रतिस्पर्धि एवं पारदर्शी बनाउन भन्दै अबको पिपिए प्रतिस्पर्धाबाट गर्ने निर्णय गरिसकेको छ । प्राधिकरणले अब पिपिए गर्दा विद्युत आयोजनाहरूको उत्पादन समिश्रणको अवधारणअनुसार राष्ट्रिय ग्रिडमा कूल जडित क्षमताको १० प्रतिशतको सीमाभित्र रहेर ‘आधार दर’ तोकी उक्त दर बढाउन नमिल्ने गरी प्रतिस्पर्धाका आधारमा मात्रै पिपिएका लागि आह्वान गर्नेछ ।