Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

उपल्लो र माथिल्लो खिम्तीको विद्युत जिरी सबस्टेसनमा जोडिने


काठमाडौं । विद्युत प्रवाह हुने १३२ केभी गर्जाङ-न्यू खिम्ती प्रसारण लाइन पूरा हुन थप समय लाग्ने भएपछि रामेछापमा निर्माण सम्पन्न १९ मेगावाटका २ जलविद्युत आयोजनाको विद्युत जिरी सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने भएको छ । नेपाल विद्युत प्राधिकरणले स्थानीय अवरोधका कारण प्रसारण लाइनको काममा ढिलाइ भएपछि १२ मेगावाटको माथिल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्ती-२ को विद्युत जिरी सबस्टेसनमा जोड्ने विकल्प दिएको हो ।

प्रसारण लाइनको समस्याका कारण यी दुई जलविद्युत आयोजना विगत १३ महिनादेखि राष्ट्रिय प्रणालीमा जोडिन सकेका छैनन् । स्थानीय अवरोधले तोकिएको तालिकाभित्र प्रसारण लाइन तयार नभएपछि अहिलेलाई आयोजनाको विद्युत गर्जाङ सबस्टेसनदेखि ३३ केभी लाइनमार्फत जिरी सबस्टेसनमा लगेर जोड्ने विकल्प आयोजनाको प्रवर्द्धक हिमालयन ऊर्जा विकास कम्पनीलाई विकल्प दिइएको हो ।

यी आयोजनाको विद्युत बैशाखभित्र प्रसारण प्रणालीमा जोड्ने तयारी भइरहेको छ । जिरी सबस्टेसनबाट चरिकोटस्थित मकैबारी सबस्टेसन हुँदै सिंगटी सबस्टेसनमार्फत २ आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्ने व्यवस्था मिलाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यी आयोजनाको विद्युत सिंगटीसम्म पुर्याउन १३२/३३ केभी सिंगटी सबस्टेसनमा ३० एमभिए क्षमताको छुट्टै पावर ट्रान्सफर्मर जडान गरी सञ्चालनमा ल्याइसकिएको छ ।

१३२/३३ केभी गर्जाङ सबस्टेसनमा जडान भएको ३० एमभिए क्षमताको पावर ट्रान्सफर्मर चार्ज भएपछि उपल्लो र माथिल्लो खिम्तीको विद्युत प्रसारण प्रणालीमा आउनेछ । अहिलेलाई वैकल्पिक प्रसारण लाइनमार्फत दुई आयोजनाको १९ मेगावाटमध्ये १० मेगावाट विद्युत प्रणालीमा आउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘तत्कालका लागि वैकल्पिक प्रसारण लाइनमार्फत १० मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा ल्याउन सकिन्छ,’ उनले भने, ‘दुवै आयोजना पूर्ण क्षमतामा चल्ने समयमा गर्जाङ-न्यू खिम्ती प्रसारण लाइन पूरा भइसक्छ र सबै विद्युत प्रणालीमा आउँछ ।’ उनले प्रसारण लाइन अभावमा विद्युत जोड्न नसक्नु पीडादायी भएकाले असारभित्र प्रसारण लाइन पूरा गर्नु पर्ने बाध्यता रहेको बताए ।

यता आयोजनाको प्रवर्द्धक कम्पनीका अध्यक्ष हरि पाण्डेले निर्माण सम्पन्न गरेको १ वर्षभन्दा बढी समयसम्म आयोजना सञ्चालन गर्न नपाउँदा करिब ६४ करोड रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नु परेको बताए । उनका अनुसार आयोजना सम्पन्न हुने बितिक्कै सञ्चालन गर्न नपाएका कारण बैंकको ब्याजदरले आयोजनाको २८ कराेड बराबर लागत बढाएकाे छ ।

‘कोरोना (कोभिड–१९) महामारीकाबीच पनि आयोजना सम्पन्न गरेर सञ्चालन गर्ने चरणसम्म पुर्याएका थियौं,’ उनले भने, ‘१३ महिनासम्म कुर्दा पनि प्रसारण सम्झौताअनुसारको प्रसारण लाइन तयार नभएपछि अहिलेलाई बैकल्पिक लाइनमा प्रवाह गर्ने तयारी गरेका छौं । अब बैशाखभित्र दुवै आयोजना सञ्चालनमा ल्याउन सकिन्छ कि भन्ने लागेको छ । त्यसैका लागि प्रयास भइरहेकाे छ ।’ आयोजना सम्पन्न गर्न ३ अर्ब १४ करोड रुपैयाँ खर्च भएको थियो ।


Read Previous

अर्थमन्त्री र सिएनआई प्रतिनिधि भेट

Read Next

गर्जाङ-न्यू खिम्ती प्रसारण लाइन निर्माणमा अवरोधै अवरोध

Leave a Reply

Your email address will not be published.