
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा ९ अर्बको नाफा गरेको छ । गत आव २०८१/०८२ मा ९ अर्ब ७ करोड रुपैयाँको मात्रै नाफा भएको प्राधिकरणले जाएको छ ।
आइतबार प्राधिकरणको ४० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गत आवमा प्राधिकरणले कर अघि ९ अर्ब ६ करोड ७० लाख रुपैयाँको नाफा गरेको जानकारी दिइएको हो । यसअघि २०८०/०८१ मा प्राधिकरणको नाफा १० अर्ब ५३ करोड रुपैयाँ रहेको थियो ।

विद्युत बिक्री तथा अन्य स्रोतबाट प्राप्त कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने सञ्चालन खर्च ब्याज खर्चलगायत सम्पुर्ण खर्चहरुसहित कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।
साथै, गत आर्थिक वर्षमा प्राधिकरणको प्रणालीमा कुल ४३४ मेगावाट विद्युत थप भएको छ भने सहायक कम्पनीहरुको १५३.५ मेगावाट थप भएको छ ।
त्यस्तै, सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीबाट १११ मेगावाट र साञ्जेन जलविद्युत कम्पनीबाट ४२.५ मेगावाट विद्युत थप भएको प्राधिकरणले जनाएको छ ।
१०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको परिक्षण कार्य पनि अन्तिम चरणमा रहेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, देशको विद्युत प्रणालीमा कुल २५३ सर्किट किलोमिटर लाइन थप भएर कुल लम्बाई ६७६० सर्किट किलोमिटर पुगेको पनि प्राधिरकरणले जनाएको छ । यसबाहेक २०३४ वटा सर्किट किलोमिटर प्रसारण लाइनहरू निर्माणाधीन अवस्थामा रहेका छन् भने प्रसारण सबस्टेसन क्षमता गत आवमा १०७३ एमभिए थप भई कुल १४ हजार १२३ एमभीए पुगेको पनि प्राधिकरणले जनाएको छ । यससँगै ६३३८.५० एमभीए का सबस्टेसनहरु पनि निर्माणाधिन अवस्थामा रहेको जानकारी समेत प्राधिकरणले दिएको छ ।