
काठमाडौं । कोकाकोला, स्प्राइट, फेन्टा तथा किन्लोलगायत ब्रान्डका पेय पदार्थ तथा पानीको उत्पादन तथा बिक्री वितरण गर्ने कम्पनी बोटलर्स नेपालअन्तर्गतका दुई कम्पनीले ९ महिनामा १२ अर्ब बढिको व्यापार गरेका छन् ।
२०२५ को ९ महिनामा बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडले संयुक्त रुपमा १२ अर्ब ६ करोड ७० लाख रुपैयाँको व्यापार गरेका हुन् । यसमध्ये ४ अर्ब ९६ करोड ७० लाख रुपैयाँ बोटलर्स नेपाल तराई लिमिटेडले गरेको कारोबार हो भने बाँकी ७ अर्ब १० करोड रुपैयाँ बोटलर्स नेपाल लिमिटेडले गरेको व्यापार हो ।
२०२४ मा ७ अर्ब १० करोड रुपैयाँको कारोबार गरेको बोटलर्स नेपाल लिमिटेडले २०२२ मा १२ अर्ब ५२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो भने २०२४ मा १२ अर्ब ६४ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२४ मा भने यो कम्पनीको व्यापारमा केही गिरावट भएर ११ अर्ब ३७ करोड ८० लाख रुपैयाँको व्यापार भएको थियो ।
यता बोटलर्स नेपाल तराई लिमिटेडको व्यापार भने २०२२ मा ९ अर्ब १९ करोड ८० लाख रुपैयाँ भएको थियो । २०२३ मा भने यो कम्पनीले ९ अर्ब ४० करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो भने २०२४ मा कम्पनीको व्यापार ८ अर्ब ८० करोड ३० लाख रुपैयाँको भएको थियो ।
नेपालमा कोकाकोला, स्प्राइटलगायतका पेय पदार्थको उत्पादन तथा बिक्रीमा यी दुई कम्पनी संलग्न छन् । मुख्य कम्पनी बोटलर्स नेपाल लिमिटेडले काठमाडौं उतपत्यकाभित्रको बजारकेन्द्रित भएर काम गर्छ भने बोटलर्स नेपाल तराई लिमिटेडले उपत्यकाभन्दा बाहिरको पुरै नेपाल केन्द्रित छ । बोटलर्स नेपाल तराई लिमिटेडको ९१ प्रतिशत सेयर बोटलर्स नेपाल लिमिटेडसँग छ भने बाँकी ९ प्रतिशत सर्वसाधारणसँग रहेको छ ।
यता मुल कम्पनी बोटलर्स लिमिटेडको सेयर स्वामित्व भने ७६ प्रतिशत कोकाकोला साउथवेस्ट होल्डिङ्स लिमिटेडसँग रहेको छ । त्यस्तै, २२ प्रतिशत सेयर गोर्खा ब्रुअरीसँग रहेको छ भने बाँकी सेयर सर्वसाधारणसँग रहेको छ ।
हालका लागि बोटलर्स नेपाल तराईले ३ अर्ब ९० लाखको अल्पकालिन कर्जा सुविधाका लागि रेटिङ गराएको छ, जसमा रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीलाई ए वान रेटिङ दिएको छ भने मुल कम्पनी बोटलर्स नेपाल लिमिटेडले ३ अर्ब ३७ करोड ३० लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि रेटिङ गराउँदा ए वान रेटिङ पाएको छ ।