
काठमाडौं । काठमाडौंको कमलादीस्थित स्काई वाक टावर आयोजनाले थप साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने भएको छ ।
स्काई वाक टावर सञ्चालन गरिरहेको कम्पनी वोन्डर्स नेपाल प्रालिले उक्त आयोजनाका लागि वन तथा वातावरण मन्त्रालयमा पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पेश गरेको हो ।
प्रतिवेदनकाअनुसार साहसिक पर्यटन विकासका लागि स्रकाई वाकका साथै ६० मिटरको बन्जि जम्प, २०० मिटरको जिप लाई स्काई बार, स्काई साइकल, ४० मिटरको रिभर्स बन्जि, मेगा ट्रोल, १५० मिटरको ह्यामक राईड, ह्याङ्गिङ रुम, एज वाक, स्नो रुम, रिभल्भिङ रेष्टुरेन्ट, सेल्फी पोइन्टलागयत निर्माण गर्न लागिएको हो ।
वन्डर्स नेपाल प्रालिले केही समयअघि यो स्काई वाक टावर निर्माण गरेको थियो । कुल ७५ मिटर अग्लो रहेको यो टावर देशकै अग्लो पूर्वाधारमध्येको एक पनि रहेको छ । हाल भने यसलाई थप विस्तार गर्नका लागि थप साहसिक खेलहरु जोड्न लागिएको प्रतिवेदनमा उल्लेख छ ।
हाल ६ हजार ६७९.१६ वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो टावरको थप आयोजनाका लागि कुनै पनि जग्गा थप नगरिने आयोजनाको प्रतिवेदनमा उल्लेख गरिएको छ । थप पूर्वाधार निर्णमाका लागि दैखिक रुपमा १३ जना ६ महिनासम्म यहाँ कार्यरत भई रोजगारी सिर्जना हुने तथा सञ्चालनको चरणमा दैनिक ३० जना संलग्न हुने प्रतिवेदनमा उल्लेख छ ।
हाल रहेको स्काई वाक ८२ करोड लगानीमा निर्माण भएको हो । थप क्षमताबृद्धिका लागि ७ करोड लगानी गरि कुल लगानी ९० करोड हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । यो लगानी फिर्ता हुने समय भने ८.२५ वर्ष रहने आयोजनाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।