
काठमाडौं । सार्वजनिक यातायात अवरुद्ध भएको अवस्थामा यात्रुहरूलाई गन्तव्यसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले नेपाल प्रहरीले दुईवटा निःशुल्क बस सञ्चालनमा ल्याएको छ।
प्रहरी प्रवक्ता रमेश थापाका अनुसार आइतबारदेखि यी बसहरू राजधानीका दुई फरक मार्गमा चलाइने छन्। यात्रुहरूले भाडा तिर्नु नपर्ने भएकाले यसले दैनिक हिँडडुलमा निर्भर नागरिकलाई राहत दिने अपेक्षा गरिएको छ।
प्रथम मार्ग:
नक्सालबाट सुरु भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल हुँदै पुनः नक्साल फर्किनेछ।
दोस्रो मार्ग:
नक्सालबाट रातोपुल, चाबहिल, गौशाला, त्रिभुवन विमानस्थल, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक पुगेर फर्कने क्रममा चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि नक्सालमा आउनेछ।
यातायात व्यवसायीहरूले राइड सेयरिङसम्बन्धी सरकारी नियमावलीविरुद्ध आन्दोलन गर्दै केही मागसहित सार्वजनिक सवारी नचलाउने निर्णय गरेका छन्। आन्दोलनका कारण विशेष गरी टाढाको यात्रा गर्नुपर्नेहरू समस्यामा परेका छन्। छोटो दुरीमा भने निजी सवारी र राइड सेयरिङ एपमार्फत यात्रुहरू आवतजावत गरिरहेका छन्।