
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आइपिएलका कारण भारतले बिजुली नदिएको बताएको छ ।
बुधबार एक विज्ञप्ती जारी गर्दै प्राधिकरणले भारतमा आइपिएलका कारण विद्युतको माग बढ्दा नेपाल नपठाएको उल्लेख गरेको छ । प्राधिकरणले जारी गरेको विज्ञप्ती अनुसार भारतबाट पावर एक्सचेन्ज कमिटी (पीइसी) मार्फत बेलुका ६ बजेदेखि विहान ६:०० बजे सम्म १३२ केभी लाइन मार्फत अधिकतमा ३५० मेगावाट विद्युत आपुर्ति गर्ने अनुमति पाएको थियो ।
हाल मैनैया-सम्पतिया लाइनबाट विहान २ बजेदेखि ६: बजेसम्म र बेलुका ६ बजेदेखि ६ बजेसम्म गरि जम्मा ५० मेगावा मात्र विद्युत आपुर्ति भइरहेको छ । भारतमा आइपिएल खेल जारी रहदा माग बढेकोले इण्डियन इनर्जी एक्सचेन्जको दररेट पीइसीको दररेट भन्दा बढी भएकोले विहारसंग जोडिएका १३२ केभी लाइनबाट अधिकतम प्रयास गर्दा समेत विद्युत प्राप्त हुन सकेको छैन ।
भारतले दिइरहेको ६०० मेगावाट बिजुली कटौती गरेर ५० मेगावाट मात्रै दिन थालेपछि उद्योगमा १३ घण्टासम्म लोड कटौती हुन थालेको छ । जसको चौतर्फी आलोचना भएपछि प्राधिकरणले विज्ञप्ती जारी गरेर आइपिएलका कारण बिजुली आयात गर्न नसकिएको उल्लेख गरेको हो ।
नेपालका अधिकांश जलविद्युत आयोजना नदी प्रवाही छन् । सुक्खा याममा नदिनालाको बहाव कम भइ उत्पादन ३० प्रतिशतभन्दा तल झर्छ । वर्खामा सरप्लस हुने भएपनि हिउँदमा भारत आयात गरेर माग धान्नुपर्ने बाध्यता छ । हिउँदमा ६०० मेगावाटसम्म भारतबाट आयात हुन्छ ।
प्राधिकरणका अनुसार जलाशय र सौर्य ऊर्जा सहित आन्तरिक उत्पादन औसत १ हजार १७५ मेगावाट छ । हालको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट र सो समयमा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट छ । नपुग विद्युत भारतबाट आयात गरि आपूर्ति गर्ने गरिएको छ । गर्मीयाम सुरु भएसँगै भारतमा अत्याधिक बढेको विद्युत मागको कारण नेपालले चाहेजति विद्युत किन्न नपाएको प्राधिकरणका अधिकारीहरुको भनाई छ ।
