Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

खार्पुदोभान र दोजाम कर्णाली नदीमा पुल नबन्दा सिमकाेट राष्ट्रिय सडक सञ्जालसँग जाेडिन सकेन


सिमकोट। हुम्ला  जिल्लाको खार्पुनाथ गाउँपालिका–५ खार्पुदोभान र दोजाम कर्णाली नदीमा बेलिब्रिज (पुल) नबन्दा जिल्ला सदरमुकाम सिमकोट हालसम्म राष्ट्रिय सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन सकेको छैन । कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भए पनि खार्पुनाथ गाउँपालिकास्थित दोजाम कर्णाली नदीमाथि पुल नहुँदा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको हो ।

पुलको जिम्मा लिएको ठेकेदार कम्पनीले एक वर्षदेखि निर्माण गर्न नसक्दा सिमकोटलाई सडक सञ्चालसँग जोडिएको छैन भने उक्त मार्ग भएर यात्रा गर्ने सवारीसाधन र स्थानीयलाई सास्ती हुँदै आएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुलुकको एकमात्र जिल्ला हुम्ला हो ।

हिउँदयाममा पानी कम हुँदा कर्णाली नदी पार गरेर ट्रयाक्टर, स्काभेटर, डोजर, बोलेरोलगायत सवारी जोखिम मोलेर वारपार गर्छन् भने वर्षायाममा पानीको बहाव बढ्दा बन्द हुने गरेको छ ।

दोजाम कर्णाली नदीमाथि पुल नबन्दा सडकसँग अझै जोडिन नसकेको स्थानीय पूर्ण भण्डारीले बताए । सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नलाई सम्बन्धित निकाय र ठेकेदार कम्पनीले अग्रसरता देखाउनुपर्ने उनकाे भनाइ छ । पक्की पुल निर्माण सुरु भएको एक वर्ष हुँदा पनि निर्माण कम्पनीले ढिला गरेकाले सडकसँग जोडिन नसकेको उनले बताए ।

 पुल नबनेपछि खोला तार्दै स्थानीय    

कर्णाली करिडोरअन्तर्गत सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने खार्पुदोभानमा पुल नबन्दा यस क्षेत्रका नागरिकले सामान खोला तार्ने काम गरी मनग्य आम्दानी गर्दै आएका छन् ।

खार्पुनाथ–५ मा पर्ने खार्पु र दोभान कर्णाली नदीमा बेलिब्रिज निर्माण नहुँदा करिडोरको बाटो भएर ढुवानी भएका सामान यहाँ रहेको झोलुङे्ग पुल तार्ने काम गरी यस क्षेत्रका नागरिकले मनग्य आम्दानी गर्दै आएका हुन् ।

सुर्खेत, नेपालगञ्जबाट मालवाहक ट्रकले झोलुङ्गे पुल खार्पुदोभान पारिपट्टिसम्म विभिन्न विकास निर्माण, दैनिक उपभोग्य सामग्री ल्याउने गरिन्छ । सवारी गुड्ने पक्की बेलिब्रिज नबन्दा छिप्रा, माजा, नल्ला, याङ्चु, खर्पेलगाउँलगायत आसपासका महिलाले पुलबाट ढुवानी गर्ने काम गरिरहेका छन् ।

पारिबाट ल्याइएका सामान ढुवानी गरेबापत एकजना महिलाले दैनिक १ हजार  ५ सय रुपैयाँसम्म कमाउने गरेको खार्पुनाथ–४ छिप्रागाउँका महिला बताउँछन् । उनीहरु बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म भारी बोक्ने काम गर्दछन् ।

दैनिक १ हजार ५ सय रुपैयाँसम्म कमाई हुँदा घर खर्च सहजै निस्कने गरेको बाँचु दमाईंले बताए । “घरमा नुन, तेल, बेसार, साबुनदेखि लिएर बालबालिकाको कापीकलम किन्नसमेत आजकल सहज भएको छ ,” उनले भने । आफूमात्रै नभएर गाउँका अरू महिला पनि काममा खटिएर राम्रो आम्दानी गर्ने गरेका उनले बताए ।

यो वर्ष पानी नपरेर खडेरी पर्दा यस क्षेत्रका किसानलाई के खाने भन्ने चिन्ता भएका बेला भारी बोक्ने काम पनि रोजगारीजस्तै भएको बाँचुले बताए । “हिउँदमा हिउँ नपर्दा जेठासी बाली राम्रो भएन, उवाँ, गहुँ र जौ खेतमै सुके, असारमा पानी पर्ने समय पानी नपर्दा थप समस्या निम्तिएको छ”, उनले बताए ।

खडेरीको चिन्तामा किसान   

३ वर्षयतादेखि जिल्लामा हिउँदमा हिमपात नहुँदा र वर्षामा पानी नपर्दा समस्या बनाएको खापुनाथ–५ ताक्लाका ६२ वर्षीय कन्न कामीले बताए । बर्सेनि हिउँदमा हिउँ नपर्दा, वर्षामा पानी नपर्दा खेतीपातीको भरमा जीविकोर्पाजन गर्दै आएका किसानलाई हातमुख जोड्न समस्या हुने गरेको उनकाे गुनासो छ ।

“जेठासी बाली छरेका खेतमा पानी नपर्दा खेत सुकेका छन् । अब कात्तिके बाली कसरी लगाउने भनेर चिन्ताले छोएको छ । सिँचाइ गरुँ भने खेत नजिक भएका तीन पानीका मुहानमध्ये एक मुहानबाट पानी आउँछ अरू मुहान सुकेका छन् ,”उनले भने । असारमा पानी नपरे समस्या हुने उनकाे गुनासो छ । साउन पानी पर्दा बाढी पहिरो गएर झन् क्षति बनाएर अर्को समस्या हुने उनकाे भनाइ छ ।


Read Previous

पूरा भयाे बाह्रबिसे सबस्टेसन,मध्यभाेटेकाेशी विद्युत उत्पादनका लागि तयार भएपछि चार्ज गरिने

Read Next

बिर्तामोड-शनिश्चरे सडक कालोपत्र हुँदा स्थानीयवासी खुसी   

Leave a Reply

Your email address will not be published. Required fields are marked *