Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने


काठमाडौं ।  नेपाल निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको छ । मकवानपुरकाे हेटाैंडामा शुक्रबारबाट सुरु हुने साधारणासभाकाे तयारी पूरा भएकाे हाे ।

हेटौडामा बिहीबार आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै महासंघका अध्यक्ष रवि सिंहले शनिबारसम्म चल्ने साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । मकवानपुर निर्माण व्यवसायी संघको सह—आयोजनामा हुन लागेको साधारण सभाको उद्घाटन सत्रको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

उद्घाटन सत्रमा उपप्रधानमन्त्री एवं भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, शहरी विकास मन्त्री धनबहादुर बुढा, वागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमकट्टेल लगायत विशिष्ट अतिथिको रुपमा सहभागी हुनेछन् ।

साधारण सभामा देशभरबाट करीब ११ सय प्रतिनिधि र ५ सय पर्यवेक्षक सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । उद्घाटन सत्रमा प्रधानमन्त्रीले निर्माण क्षेत्रमा केन्द्रीत रही विज्ञहरूको लेख रचना एवं महासंघका गतिविधि समेटिएको ‘निर्माण विशेषाङ्क’ स्मारिकाको विमोचन गर्ने कार्यक्रम तय गरिएको छ । निर्माण उद्योगको विकास विस्तारमा महत्वपूर्ण योगदान दिने अग्रज निर्माण व्यवसायीहरूलाई साधारण सभाको उद्घाटन सत्रमा सम्मान गरिने महासंघले जनाएको छ ।

साधारण सभा सम्पन्न गर्नका लागि महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मूल आयोजक समिति र यस मातहत विभिन्न उपसमितिहरू गठन गरिएका छन् । साधारण सभास्थलमा निर्माण कम्पनीसँग सम्बन्धित् २४ वटा स्टलहरू पनि राखिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । २५ औं साधारण सभा मुलुकका समस्त निर्माण व्यवसायीहरूको सीप, दक्षता, क्षमता र गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण सावित हुने विश्वास महासंघले लिएको छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन आउनु सकारात्मक भएको प्रतिक्रिया दिए । तर म्याद थपले मात्र निर्माण उद्योगमा देखिएको समस्या समाधान नहुने भन्दै उनले निर्माण उद्योग मैत्री ऐन कानून आजको आवश्यकता भएको बताए ।

सरकारले अब व्यवसायीहरूलाई बाँकी रहेको भुक्तानी दिई अर्थतन्त्र चलायमान बनाउनुपर्ने अध्यक्षको सिंहको भनाइ थियो । महासंघका सल्लाहकार समेत रहनु भएका पूर्व अध्यक्ष जयराम लामिछानेले निर्माण उद्योगको समस्यालाई राज्य, संचार जगत कसैले बुझ्न नसकेको बताए । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) ले म्याद थप हुँदा व्यवसायीलाई नै घाटा हुने भन्दै म्याद थपलाई उपहारको नबुझ्न सञ्चार जगत समक्ष आग्रह गरे ।

निर्माण उद्योगमा देखिएको चुनौतिका बारेमा घनिभूत छलफल गर्दै निर्माण उद्योगको विकास विस्तारका लागि साधारण सभाले गरेका महत्वपूर्ण निर्णयहरू लिपिवद्ध गर्दै घोषणा पत्र जारी गरिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । महासंघका प्रवक्ता समेत रहनु भएका नीतिगत उपमहासचिव शिवहरि घिमिरेले उद्योगको पनि ‘उद्योग’ को रुपमा निर्माण उद्योग सबल भएमात्र राष्ट्रको वास्तविक विकास हुने बताए ।


Read Previous

‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा 

Read Next

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

Leave a Reply

Your email address will not be published.