Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

कहाँ पुग्यो बहुप्रतिक्षित सिद्धबाबा सुरुङ निर्माणकाे काम ?


काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माण थालिएको १८ महिना पुग्दैछ । ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी चिनीया निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इञ्जिनियरिङ कर्पोरेशनले ठेक्का सम्झौता गरेको छ । करिब १० अर्ब रुपैयाँमा निर्माण हुने अनुमान गरिएको यो सुरुङमार्ग खरिद प्रक्रियामामा निर्माण कम्पनीहरुबीच प्रतिस्पर्धा हुँदा ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७३४ रुपैयाँमा निर्माण गर्ने गरी चिनीया कम्पनीले हात पारेको हो ।

सिद्धबाबा सुरुङमार्ग निर्माण कार्ययोजना अनुसार सन् २०२७ मार्चमा आयोजना निर्माण सम्पन्न हुनेछ । आयोजना सम्पन्न भएपछि पनि ५ वर्षसम्म निर्माण कम्पनीले सञ्चालन र मर्मत लगायत सम्पूर्ण रेखदेखको काम गर्नुपर्ने व्यवस्था गरिएको छ । कुल १ हजार १२६ मिटरको सुरुङमार्ग निर्माण गर्दा तीन वटा बाइपास सुरुङ निर्माण गर्नुपर्नेछ । ती बाइपास सुरुङको कुल लम्बाई ४३१ मिटर रहेको छ । यस आयोजनासँगै उत्तरी र दक्षिणी प्रवेशद्धारमा गरी दुई प्राविधिक भवन संरचनाहरु पनि निर्माण गरिनेछ ।

अहिलेसम्म के के काम भयो ?

सिद्धबाबा सुरुङमार्ग निर्माण योजना कार्यालयले उपलब्ध गराएको विवरणअनुसार अहिलेसम्म आयोजनाको आयोजनास्थलमा रहने साइट क्याम्प निर्माण भइसकेको याेजना इञ्जिनियर सबिता ज्ञवालीले जानकारी दिइन् । त्यस्तै, ११ केभीको विद्युतीय तार जडान गरिएको छ । वयरहाउस निर्माण, श्रमिकहरुको लागि आवाशीय भवन निर्माणको काम सम्पन्न भइसकेको छ । आयोजनामा श्रम गर्नेहरु त्यही आवाशीय भवनमा रहनेछन् ।

सुरुङ निर्माणमा अत्यावश्यक सिमेण्ट सिलोस ट्यांक र ब्याचिङ प्लाण्ट जडान गर्ने काम पनि सम्पन्न भइसकेको छ । सुरुङमार्गको दक्षिणी र उत्तरी प्रवेशद्धारमा ‘स्लोप कटिङ’ गर्ने काम अहिले पनि जारी गरेको छ । उत्तरी प्रवेशद्धारमा कंक्रिट स्लिभ कास्ट भइ सब–होराइजेण्टल स्टिल ट्युब जडान गरी सकिएको छ भने सुरुङ खन्नुभन्दा अगाडी गर्नु पर्ने सुरक्षाको पूर्व तयारी का कामहरु अहिले सुचारु रहेका छन् ।

यसबाहेक प्रक्रिया पूरा गर्नुपर्ने र कागजात मिलाउनु पर्ने काम पनि समानान्तर रुपमा भइरहेका छन् । स्वीट्जरल्याण्डको परामर्शदाता कम्पनी पीनी ग्रुपको परामर्श र सहयोगमा निर्माण कम्पनीले गरेको विस्तृत डिजाइन र ड्रइङ जाँच र प्रमाणीकरण गर्ने काम भइरहेको छ । अहिलेसम्म उत्तरी र दक्षिणी प्रवेशद्धारको स्लोप स्थिरीकरण (स्टेबलाइजेशन) र क्यानोपी को विस्तृत डिजाइन र ड्रइङ सडक विभागबाट स्वीकृत भइसकेको छ ।

यसैगरी स्वीस परामर्शदाताबाट सुरुङको डिजाइन ड्रइङ को सहमति प्राप्त हुने क्रममा रहेको छ । यसबाहेक डिजाइन र ड्रइङ आयोजना कार्यालयले तोकेको वा आवश्यकता अनुसार भए नभएके विषयमा पनि जाँच गर्ने क्रममा रहेको छ ।

आयोजना कार्यालयले सडक सीमाभित्रका आवश्यक रुखहरु कटान गर्न स्वीकृतीका लागि वन विभागसँग समन्वय गर्ने काम गरिरहेको छ । सुरुङ निर्माणको लागि आवश्यक पर्ने विष्फोटक पदार्थ ल्याउनको लागि भारत र चीन दुवै देशबाट प्रयास भइरहेको जानकारी दिएको छ । निर्माणको काममा स्थानीयसँग समन्वय गर्ने र निर्माणलाई सूचारु गर्ने काम भइरहको सिद्धबाबा सुरुङमार्ग निर्माण योजनाकी इञ्जिनियर तथा सूचना अधिकारी सबिता ज्ञवालीकाे भनाइ छ ।

‘अहिले विशेषगरी सुरुङ निर्माण पूर्वकाे तयारीका काम भइरहेका छन्, त्यसकाे अर्थ भाैतिक काम हुदै नभएका भने हाेइनन्’ उनले भनिन् । प्रक्रिया पूरा गर्नुपर्ने काम र सुरुङ निर्माण पूर्व जडान गर्नुपर्ने मेसिनलाइ जडान गर्ने काम भइरहेका छन् । त्यसैगरी गत साउन ९ गते सुरूङ मार्गको मुख्य प्रवेशद्वार ‘टनेल पोर्टल’ पहिरो खसेर पुरेको थियाे । त्यसलाइ हटाउने काम पनि भइरहेकाे छ । अहिले बर्खा भएर पनि पहिराे जानसक्ने सम्भावनाकाे कारण कामले गति लिएकाे छैन्, अब विस्तारै काममा तीब्रता लिने इञ्जिनियर ज्ञवालीकाे भनाइ छ ।

आयोजना जानकारी

आयोजनाको नामः सिद्धबाबा सुरुङमार्ग निर्माण योजना

सुरुङमार्गको लम्बाई : १ हजार १२६ मिटर

निर्माण कम्पनी: चाइना स्टेट कन्स्ट्रक्शन इञ्जिनियरिङ कर्पोरेशन

ठेक्का सम्झौताः ९ मार्च २०२२

काम थालनी: २३ मार्च २०२२

आयोजना सम्पन्न गर्नुपर्ने मिति: २२ मार्च २०२७

आयोजना ठेक्का सम्झौता रकम: ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७३४ रुपैयाँ

सम्पन्न भएपछि निर्माण कम्पनीले सञ्चालन र मर्मत गर्नुपर्ने अवधी : ५ वर्ष

योजनामा कुनै कमजोरी भएमा निर्माण कम्पनीले जिम्मा लिने अवधी:  १० वर्ष

आयोजना स्तरोन्नति गर्ने सडकको लम्बाई : २ हजार ३९८ मिटर

बाइपास सुरुङ: ३ वटा

बाइपास सुरुङको कुल लम्बाई: ४३१ मिटर (पहिलो १५५ मिटर, दोस्रो १४५ मिटर र तेस्रो १३१ मिटर)

रक सेडको लम्बाई: ७८० मिटर

सुरुङमार्ग किन आवश्यक पर्यो ?

सिद्धबाबा सुरुङ निर्माण गर्नुपर्ने मुख्य कारण पहिरो र त्यसबाट हुने जनधनको क्षति हो । यस क्षेत्रमा गएको पहिरोबाट सयौँजनाको मृत्यु भइसकेको सडक विभागका अधिकारीहरूको भनाइ छ । पहिरोबाट ठूलो मात्रामा भौतिक सम्पत्तिको पनि नाश भएको छ । त्यसलाई नियन्त्रण गर्न रोकथामबाट पार नलागेपछि सुरुङ निर्माण गरेर समस्या समाधान गर्ने योजनाअनुसार प्रक्रिया अघि बढाएको हो । सडकलाई अन्यत्र सार्ने विकल्प नभएपछि पनि सुरुङ निर्माण गरेर समाधान गर्न खोजिएको छ ।

यसअघि सुरुङमार्गको पूर्वसम्भाव्यता (प्रारम्भिक रेखांकन) गर्ने काम स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसन (एसडिसी) ले गरिसकेको छ । नेपाल सरकारको अनुरोधमा स्विस अध्ययन टोलीले २०७७ मा सुरुङको प्रारम्भिक रेखांकन गरेर सडक विभागलाई बुझाएको थियो । भूगर्भशास्त्रीहरूका अनुसार बुटवल–तानसेन सडकखण्डमा पर्ने पहाड कमजोर माटो र ढुंगा मिसिएर बनेको छ । त्यसैले, पानी परेपछि माटो बग्छ र त्यससँगै ढुंगा झर्ने गर्छ ।

निर्माण सकेको पाँच वर्षसम्म ठेकेदारको जिम्मामा

इपिसी (इञ्जिनियरिङ, प्रोक्योरमेण्ट र कन्स्ट्रक्शन) मोडलमा निर्माण गर्न लागिएको आयोजनाको डिजाइन, खरिद र निर्माणको काम ठेकेदार कम्पनीले गर्छ । निर्माण सकेको पाँच वर्षसम्म सञ्चालन र मर्मतको जिम्मा निर्माण कम्पनीले लिनुपर्नेछ । यस आयोजनालाई पहिलो पटक १ मंसिर ०७६ मा अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सुनिश्चितता गरेको थियो । त्यही वर्ष ठेक्का लगाउने भनिएको भए पनि झन्डै १८ महिनापछि आर्थिक वर्ष २०७७÷७८ जेठमा ठेक्का प्रक्रिया अघि बढेको थियो ।

सिद्धबाबा सुरुङ आयोजनाको पहिलोपटक ४५ दिनको म्याद राखेर सडक विभागले ९ जेठ २०७८ मा बोलपत्र आह्वान गरेको थियो । तर, बोलपत्रको म्याद दुईपटक थप गर्दा ठेक्का प्रक्रियामा समय बढेर ८५ दिन पुगेको थियो । यसबीचमा दुईपटक म्याद थपिएको थियो । पछिल्लोपटक ३२ साउन २०७८ ठेक्कामा भाग लिन सकिने अन्तिम समयसीमा तोकिएको थियो ।

सिद्धबाबा सुरुङ आयोजना निर्माणको प्रतिस्पर्धामा नेपाल, चीन र भारतका नौ वटा ज्वाइन्ट भेन्चर (संयुक्त उपक्रम) ले भाग लिएका थिए  । सुरुङ निर्माण ठेक्कामा चीनका मात्र ६ वटा कम्पनीले भाग लिएका थिए । त्यस्तै, चिनियाँ र नेपाल कम्पनीको ज्वाइन्ट भेन्चरमा दुईवटा प्रस्ताव थिए भने नेपाली र भारतीय कम्पनीको एउटा प्रस्ताव परेको थियो ।

खरिद प्रक्रियामा प्राविधिक रूपमा सक्षम देखिएका चार कम्पनीमध्ये चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी छनोट गरिएको थियो । यसले सबैभन्दा न्यून ७ अर्ब ३४ करोड २१ लाख चार हजार रुपैयाँ प्रस्ताव गरेको थियो ।

प्राविधिक रूपमा सक्षम अन्य तीन प्रतिस्पर्र्धी कम्पनीमा कोभेक–सिआरइजिसी जेभी, चीनकै सिसिइसिसी र १४ सियुआन चाइना जेभी र फस्ट हाइवे इन्जिनियरिङ थिए । यी कम्पनीहरूले क्रमशः ७ अर्ब ७९ करोड ९७ लाख, ९ अर्ब ८० करोड १६ लाख र ११ अर्ब ७३ करोड ६५ लाख रुपैयाँको आर्थिक प्रस्ताव गरेका थिए । यो आयोजना आर्थिक वर्ष ०७३/७४ को बजेटमा नै अध्ययनका लागि अघि बढाउने घोषणा गरिएको थियो ।


Read Previous

१४.२ केजी बढी क्षमताका ग्यास सिलिन्डर बिक्री गर्ने उद्योगलाई कारबारी गर्ने निगमको चेतावनी

Read Next

अरुण-३ जलविद्युत आयोजना निर्माणमा भएकाे अवरोध हटाउन सरकारलाइ इप्पानकाे ध्यानाकर्षण

Leave a Reply

Your email address will not be published.